चुप्रामा औद्योगिक क्षेत्र बनाइने
सरकारले दैलेखको चुप्रासहित अन्य प्रदेशका विभिन्न स्थानमा औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ । कर्णाली प्रदेशमा दैलेखको चुप्रा, सुदूरपश्चिम प्रदेशको कैलालीको लम्की, बाग्मती प्रदेशमा काभ्रेको पनौती, गण्डकी प्रदेशमा गोर्खाको च्याङ्ली तथा तनहुँको चिन्तुटार, लुम्बिनी प्रदेशको दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र स्थापनाको घोषणा गर्ने तयारी गरिएको हो ।
घोषणाको तयारी गरिएका औद्योगिक ग्राममा साना उद्योगलाई एकीकृत गरी व्यवस्थापन गर्ने योजना छ । यसले स्थानीय अर्थतन्त्रमा टेवा मिल्ने सरकारको दाबी छ । स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्ने उद्देश्यका साथ सरकारले औद्योगिक ग्राम निर्माणको तयारी थालेको हो । उद्योगको विकास र प्रवद्र्धनले रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । औद्योगिक क्षेत्रका लागि जग्गा व्यवस्थापनको काम स्थानीय तहले गर्नुपर्ने प्रावधान छ ।
यस्तै, सरकारले थप ६ वटा औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया अघि बढाएको छ । २०७४ मा नै ‘एक प्रदेश एक औद्योगिक क्षेत्र’ स्थापनाका लागि सरकारले १८ सय बिघाभन्दा बढी जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दर्ता गराएको थियो । सोहीअनुसार थप ६ वटा नयाँ औद्योगिक क्षेत्र स्थापनाको काम अन्तिम चरणमा पुगेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकी निर्देशक सिर्जना श्रेष्ठले बताइन् । बाग्मती प्रदेशमा चितवनको शक्तिखोरमा १७ सय ४१ बिघा र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–दैजीमा दुई सय ९४ बिघा जग्गा खरिद गरिसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले निकट भविष्यमा नै देशमा ६ वटा औद्योगिक क्षेत्रको औपचारिक आरम्भ हुने बताएको छ । हाल नेपालमा १० वटा औद्योगिक ग्राम सञ्चालनमा रहेका छन् ।
नयाँ बन्ने प्रक्रियामा रहेका औद्योगिक ग्राममा मयुरधाप औद्योगिक क्षेत्र (मकवानपुर), दुहवी औद्योगिक क्षेत्र (सुनसरी), नौबस्ता औद्योगिक क्षेत्र (बाँके), मोतीपुर औद्योगिक क्षेत्र (रूपन्देही), शक्तिखोर औद्योगिक क्षेत्र (चितवन) र दमक औद्योगिक क्षेत्र (झापा) रहेका छन् । हाल केन्द्र सरकारमार्फत बजेट विनियोजन, व्यवस्थापन र अन्य काम भइरहेका यी औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि पनि केन्द्र सरकार मातहत नै रहनेछन् । थप ६ वटा औद्योगिक क्षेत्र बनेपछि नेपालमा १६ वटा औद्योगिक ग्राम पुग्नेछन् । नयाँ बन्ने औद्योगिक ग्राममा भने हबको रूपमा ‘एक औद्योगिक क्षेत्र एक उत्पादन’ को अभियानलाई पनि तीव्रता दिइएको लिमिटेडले बताएको छ ।
प्रकाशित मितिः ३ फाल्गुन २०७७, सोमबार ०९:२४
साझा बिसौनी ।