कोरोना परीक्षण गर्न पाँच जिल्लामा एन्टिजेन विधि
कर्णाली प्रदेशका पाँच जिल्लामा एन्टिजेन विधिबाट कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिएको छ । सुर्खेत, दैलेख, हुम्ला, मुगु र डोल्पामा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिजेन विधिबाट परीक्षण थालिएको हो । कोरोना संक्रमणको जोखिमको अवस्था पत्ता लगाउन समुदायमा एन्टिजेन विधिबाट परीक्षण गरिएको हो ।
पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दैलेखको दुल्लू नगरपालिकामा उक्त विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो पटक मुगु, हुम्ला र डोल्पामा पनि परीक्षण सुरू गरिएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार हालसम्म चार हजार सात सय ३९ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । त्यसमध्ये एक सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै, प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार पाँच सय ३७ पुगेको छ । बिहीवार थप तीन जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म सात हजार तीन सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । कर्णालीमा कोरोना संक्रमण देखिएका ३१ जनाको मृत्यु भएको छ ।
कोभिडविरुद्धको खोपको अर्को चरण फागुन २ देखि
सरकारले फागुन २ गतेदेखि ८ गतेसम्म कोभिडविरुद्धको खोपको अर्को चरण तोकेको छ । प्राथमिकताका आधारमा अग्रपंक्तिमा खटिने समूहका व्यक्तिहरूलाई खोप दिइरहेको सरकारले यो चरणमा सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका जनप्रतिनिधिहरूलाई खोप दिन लागेकोे हो ।
यस्तै, स्वास्थ्य स्वयम्सेवक, एम्बुलेन्स तथा शववाहन चालकहरू, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरूलाई कोभिडविरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । सो अवधिमा आ–आफ्नो कार्यालयको परिचय–पत्र लिइ खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
प्रकाशित मितिः ३० माघ २०७७, शुक्रबार ०९:३८
साझा बिसौनी ।