सुर्खेतमा अहिलेसम्मकै ठूलो जहाज अवतरण
८० सीट क्षमताको काठमाडौं–सुर्खेत परीक्षण उडान सफल
सुर्खेत विमानस्थलमा अहिलेसम्मकै ठूलो क्षमताको जहाज अवतरण गरेको छ । सोमवार निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले ८० सीटे जहाज काठमाडौं–सुर्खेत परीक्षण उडान गरेको हो । प्राविधिक टोलीले क्यूआर–८०० जहाजद्वारा गरिएको परीक्षण सफल भएको जनाएका छन् । सहजसँग जहाज अवतरण गरेर फर्किए पनि नियमित कति जनासम्म यात्रु बोक्न सकिन्छ भन्नेबारे थप अध्ययन गरिने उनीहरूले बताएका छन् ।
सुर्खेत विमानस्थलमा ठूलो क्षमताका जहाजका लागि रनवे अपुग हुने भनिरहेका बेला श्री एयरलाइन्सले सफल परीक्षण उडान गरेको हो । अहिलेको रनवेमा ८० सीट क्षमतासम्मको जहाज टेकअफ गर्न समस्या नहुने प्राविधिक टोलीले जनाएको छ । सोमवार बिहान १० बजेर ३५ मिनेटमा उक्त जहाज धावनमार्गमा अवतरण गरेको थियो । सुर्खेतको आकाशमा दुई वटा परीक्षण गरिसकेपछि बिहान ११ बजेर ४० मिनेटमा जहाज काठमाडौं फर्किएको हो ।
परीक्षण उडान गरेको श्री एयरलाइन्सले नियमित उडानको टुङ्गो भने केही दिनमा लाग्ने बताइएको छ । एयरलाइन्सका वरिष्ठ क्याप्टेन भरतसिंह थापाले उक्त क्षमताको जहाज आउनका लागि रनवेमा कुनै समस्या नभएको बताए । उनी भन्छन्, ‘रनवेको कारण समस्या छैन । नियमित उडान भर्न सकिन्छ । तर नियमित उडानका लागि यात्रु भने हुनुपर्छ ।’ नेपालगन्ज नगइ सुर्खेतबाटै काठमाडौं जानेको संख्या बढ्यो भने नियमित उडान भर्न सकिने उनले बताए । उनले मौसम प्रतिकूल भएका बेलाबाहेक सुर्खेत–काठमाडौं उडानमा समस्या नहुने जनाए । क्याप्टेन थापाले नियमित उडानको लागि केही दिनभित्र अनुमति लिने तयारी थालिएको जानकारी दिए । ‘सकेसम्म चाँडै नै टुङ्गो लाग्नेछ,’ उनले भने, ‘यसका लागि १५ देखि २१ दिनसम्म लाग्नसक्छ ।’
अहिले सुर्खेत–काठमाडौं नियमित उडान बुद्ध एयरले गर्दै आएको छ । बुद्धले ४७ सीटे जहाजमार्फत हवाइ सेवा दिइरहेको हो । उक्त एयरलाइन्सले सात हजार पाँच सयदेखि १० हजार दुई सयसम्म भाडादर निर्धारण गरेको छ । एयरलाइन्स कम्पनीहरूबीच प्रतिस्पर्धा नहुँदा कर्णालीका यात्रु महङ्गो भाडा तिरेर यात्रा गर्न बाध्य छन् । यहाँका नागरिक भाडादर महङ्गो भएकै कारण नेपालगन्ज भएर काठमाडौं जाने गर्छन् । श्री एयरलाइन्सको नियमित उडान भए भाडादर खट्ने र संघीय राजधानीसँग सहज हवाई सम्पर्क हुने नागरिकको अपेक्षा छ ।
सुर्खेत विमानस्थल प्रमुख उमेशकुमार पन्थीले ठूलो जहाजको परीक्षण उडान सफल देखिए पनि अन्य प्राविधिक पक्षहरू हेर्न बाँकी रहेको बताए । उनले भने, ‘हेर्दा उडान सफल भएको देखिन्छ । आउँदा खाली आएकाले अब कति लोडसम्म बोक्न सक्छ भन्ने परीक्षण गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै उडानको टुङ्गो लाग्छ ।’ उनले सोमवार श्री एयरलाइन्सले अहिलेसम्मकै ठूलो क्षमताको जहाजको परीक्षण गरेको बताए ।
नियमित उडानमा आंशका
श्री एयरलाइन्सले उडान परीक्षण गरे पनि कति क्षमतासम्म लोड बोक्न सक्ने र यात्रु कतिसम्म हुुने भन्नेमै अन्योल छ । परीक्षण उडानकै आधारमा नियमित उडान हुनेमा भने शंका गरिएको छ । विमानस्थल प्रमुख पन्थीका अनुसार सुर्खेतमा पहिलो पटक ८० सीटे क्षमताको जहाजको उडान परीक्षण गरिएको हो । तर योभन्दा केही कम क्षमताका ठूला जहाज उक्त विमानस्थलमा यसअघि पनि ल्याण्ड भने गरिएको थियो । त्यसबेला विमानस्थलको धावनमार्ग अहिलेको जति पनि थिएन ।
यसअघि अन्य एयरलाइन्सहरूले पनि ठूलो क्षमताका परीक्षण उडान तथा कतिले उडानको अनुमति नै पनि लिएका थिए । नियमित यात्रु नपाउने समस्याका कारण एयरलाइन्सहरूले नियमित उडान गर्न नसकेका हुन् । अहिले पनि श्री एयरलाइन्सले नियमित उडान गर्नेमा नागरिकहरूले आशंका गरेका छन् ।
कतिपय नागरिकहरू भने सुर्खेत प्रदेश राजधानीसमेत भएकाले यात्रुको अभाव नहुने र नियमित उडान हुनेमा विश्वस्त छन् । राजनीतिज्ञ एवम् सुर्खेतको इतिहासबारे जानकार मुकुन्दश्याम गिरी श्री एयरलाइन्सले नियमित उडान गर्नेमा आफूलाई विश्वास लागेको बताउँछन् । ‘पक्कै पनि उडान गर्ने योजनासहित नै परीक्षण भएको होला । त्यसैले उडान नियमित हुनेमा मलाई शंका छैन । अहिलेको भाडादर भने कम हुनुपर्छ,’ उनले भने । एयरलाइन्सहरूबीच प्रतिस्पर्धा गराउने वातावरण तयार भए यात्रुहरूलाई पनि सहज हुने गिरीले बताए । उनका अनुसार वि.सं. २०२८ सालमा भोकमरी हुँदा चार पंखाको हरकुलक्स ठूलो जहाजमा मकै लिएर विमानस्थल परिसरमा झार्ने गरिन्थ्यो । वि.सं. २०३८ सालमा नै राजाको सवारी हुँदा पनि ४२ सीटे जहाज आएर अवतरण गरेको उनले सुनाए ।
विमानस्थल विस्तारमा अन्योल
सुर्खेत विमानस्थल विस्तारमा अन्योल भएको छ । विमानस्थल विस्तारमा स्थानीय नागरिक र नगरपालिका अनिच्छुक देखिएपछि अन्योल भएको हो । विस्तार गरिँदा मात्र विमानस्थल दिगो नहुने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले उक्त कार्य रोक्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् । अहिले सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार दुई सय ५५ मिटर रहेको छ । तीन सय मिटर बढाएर एक हजार पाँच सय ५५ मिटर बनाइने गरी काम अघि बढाइएको थियो । तर, स्थानीय नागरिकले दीर्घकालीन नहुने र बस्ती मात्रै मासिने गुनासो गरेपछि विस्तारको प्रक्रिया रोकिएको छ ।
ठूला जहाज ल्याउनकै लागि रनवे नपुगेको भन्दै यसअघि सुर्खेत विमानस्थल चार पटकसम्म विस्तार भइसकेको छ । विमानस्थलको विकासका लागि जग्गा अधिग्रहण गरेर विस्तार गरिए पनि ठूलो क्षमताका जहाज भने आएनन् । यसपालि फेरि विमानस्थल विस्तारका लागि ३० विगाहा जग्गा अधिग्रहणको काम अघि बढाएको थियो । स्थानीयको विरोधपछि अहिले यो काम रोकिएको हो । वीरेन्द्रनगर नगरपालिका स्वयम् विमानस्थल विस्तारको पक्षमा देखिएको छैन । नगरपालिकाले यही स्थानमा विमानस्थल विस्तारभन्दा वैकल्पिक स्थानको खोजी गर्न अनुरोध गरेको छ ।
प्रभावित क्षेत्रको नागरिक सरोकार समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई ज्ञापन–पत्र बुझाएको छ । समितिका संयोजक टीकाराम आचार्यले नगरपालिकादेखि प्रदेश र संघीय सरकारलाई पनि ध्यानाकर्षण गरिएको बताए । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी विमानस्थल विस्तारमा अहिले अन्योल नै रहेको बताउँछन् । ‘नागरिक सरोकार समिति विकल्प खोज्नका लागि संघीय सरकारसँग गएको भन्ने छ,’ उनले भने, ‘नगरकार्यपालिकाले पनि विस्तार नगर्न निर्णय गरिसकेपछि के गर्ने भन्ने बारेमा थप कुनै छलफल भएको छैन ।’
साझा बिसौनी ।