समस्याग्रस्त स्वास्थ्य सेवा

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले यतिबेला विश्वभर नयाँ विश्वास पैदा गरेको छ । धमाधम खोप लगाउन थालिएको छ । नेपालमा पनि कोरोनाविरुद्ध खोप अभियान सुरु भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई लगाइएको छ । केही समयमै दोस्रो चरणको अभियान सुरु गर्ने तरखरमा सरकार छ ।

अहिले अनुदानमा प्राप्त खोप लगाइएको छ । आम नागरिकलाई लगाउन पुग्ने परिमाण एकै पटक उपलब्ध हुन नसक्ने भएकाले प्राथमिकताका आधारमा दिन थालिएको छ । विभिन्न चरणमा गरेर सबैलाई दिइनेछ । कोरोना भाइरस रोगको जोखिम, संक्रमितहरूमा भएको मृत्यु तथा सिकिस्त हुने दरको आधारमा खोप पाउने लक्षित समूहको प्राथमिकीकरण गरेको हो । पहिलो प्राथमिकतामा अग्रपंक्तिमा खटिनेहरूलाई प्राथमिकतामा राखिएको थियो भने दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका महिला तथा पुरुषलाई राखिएको छ । साथै ४० वर्षदेखि ५४ वर्ष उमेर समूहका दीर्घरोगी भएका व्यक्तिहरूलाई दोस्रो प्राथमिकतामा राखिएको छ । तेस्रो प्राथमिकतामा खोपको मात्रा उपलब्ध भएसँगै १८ वर्ष उमेर समूहमाथिका सबैलाई निःशुल्क खोप सेवा प्रदान गरिनेछ । १८ वर्षमुनीका बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भइरहेकाले उक्त उमेर समूहलाई हाल यो खोप उपलब्ध नभएको जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरि यो संक्रमण हुन सक्ने भएकाले खोप लगाउने जनाएको छ । विभिन्न चरणहरूको सफल परीक्षणपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएको हो ।

कोरोनाले लामो समयदेखि विश्वसमुदायलाई आक्रान्त बनायो । नेपालजस्तो कमजोर स्वास्थ्य संरचना र प्रणाली भएको मुलुकमा यसको असर पर्नु स्वाभाविक थियो । जुन हामीले भोगिरहेका छौं । तर यो महामारीले हामीलाई हाम्रो स्वास्थ्यप्रतिको असंवेदनशीलता पनि देखाइदियो । संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवम् गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ । तर सोअनुसार व्यवस्थापन भएको छैन । आधारभूत स्वास्थ्य सेवाको पहुँचबाटै नागरिक वञ्चित छन् । त्यसमाथि कोरोनाजस्ता ठूला महामारीको समयमा हुने जोखिम अत्यधिक हुने गर्दछ । यसकारण पनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुका साथै कोभिड–१९ को प्रभावलाई समाधान गर्नु आजको आवश्यकता हो । तर मुलुक संघीय व्यवस्थामार्फत नयाँ मार्गमा हिँडिरहँदासम्म पनि स्वास्थ्य क्षेत्र अपेक्षाकृत रूपमा विकसित हुन सकेको छैन । आवश्यक स्वास्थ्य संरचनाहरूको अभाव छ । स्वास्थ्य संस्था जनशक्ति अभावको समस्याले प्रताडित छन् ।

प्रकाशित मितिः   २८ माघ २०७७, बुधबार ०९:४२