जुम्लामा विद्युत संकट

अनियमित विद्युतले स्वास्थ्य सेवा प्रभावित, उपभोक्ता टुकीको भरमा

अनियमित विद्युतले स्वास्थ्य सेवा प्रभावित, उपभोक्ता टुकीको भरमा

जुम्लाको खलंगामा विद्युत नियमित नहुँदा उद्योग व्यवसाय र उपभोक्ता मर्कामा परेका छन् । सदरमुकाममा एक मेगावाट विद्युतको आवश्यकता छ, तर कर्णाली प्राविधिक शिक्षालयमा रहेको विद्युत गृहबाट दुई सय २० किलोवाट मात्रै विद्युत उत्पादन हुन्छ । विद्युत अभावले उपभोक्ता टुकी बाल्न बाध्य छन् । जिल्ला सदरमुकाम खलंगाबासीले लामो समयदेखि विद्युतको समस्या झेल्दै आएका हुन् । विद्युत अनियमित तथा अभाव हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका सेवासमेत प्रभावित भएका छन् । विद्युत अभावमा तीन सय शैयाको उक्त अस्पतालको सेवा अवरोध हुने गरेको हो ।

विद्युत नियमित नहुँदा सेवा नै प्रभावित भएको अस्पतालका निमित्त निर्देशक डा. प्रविण गिरीले बताए । उनका अनुसार प्रतिष्ठानमा हाल सीटीस्क्यान, भेन्टिलेटर, आईसीयू, ल्याब, अक्सिजन उत्पादन प्लान्टलगायतका उपकरणहरू डिजेल प्लान्टबाट सञ्चालनमा छन् । आवश्यकता अनुसारको विद्युत आपूर्ति नहुँदा अस्पतालले एकातिर महत्वपूर्ण मेसिनहरू प्रयोगमा ल्याउन सकिएको छैन भने अर्कोतिर डिजेल खर्चका कारण बिरामीको उपचार शुल्क समेत बढ्ने गरेको छ ।

‘प्रतिष्ठानले वार्षिक ४० लाख बराबरको डिजेलमै खर्च गरिरहेको छ । जसले गर्दा बिरामीको उपचार शुल्क महङ्गो पर्न गएको छ,’ डा. गिरी भन्छन् । विद्युत अभावले खलंगा आसपासमा विद्यालयका शैक्षिक गतिविधिसमेत प्रभावित भएका छन् । चुलिँदो विद्युत संकटले विद्यार्थीको पढाइ प्रभावित हुने गरेको हो । ‘सबै विद्यार्थीको घरमा सोलारको पहुँच हुँदैन । जसले गर्दा उनीहरू गृहकार्य नगरेरै विद्यालय पुग्छन्,’ शिक्षक मनिन्द्र बोहोराले भने, ‘विद्यालयका ल्यापटप र कम्प्युटर कक्षासमेत प्रभावित भएका छन् ।’

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार सदरमुकाममा हाल एक मेगावाट विद्युत आवश्यक छ, तर यहाँको विद्युत गृहबाट दुई सय २० किलोवाट मात्रै उत्पादन हुन्छ । विद्युत अपुग भएपछि डिजेल प्लान्टबाट भए पनि बिजुली आपूर्ति गरिँदै आएको उनले बताए । अहिले नेपाल टेलिकमको प्राङ्गणमा जेनेरेटर चलाएरै बिहान बेलुका विद्युत वितरण गरिँदै आएको छ । खलंगामा दैनिक ६ घण्टा लोडसेडिङ्ग हुने गरेको छ ।

प्रकाशित मितिः   २७ माघ २०७७, मंगलवार १०:२४