यी हुन् प्रदेश ६ लाई आत्मनिर्भर बनाउने पाँच ‘ज’

map-of-6-no-stअघिल्लो वर्ष माओवादी केन्द्रको प्रदेश नम्बर ६ को बैठकले समृद्ध ‘कर्णाली प्रदेश’ को खाका बनायो । आर्थिक मापनमा देशका अन्य प्रदेशभन्दा निकै कमजोर मानिएको यो प्रदेशलाई सक्षम र आत्मनिर्भर बनाउने मुख्य आधार जलविद्युत र पर्यटन भएको माओवादीको निश्कर्ष छ । माओवादीले यो प्रदेश अन्तर्गतको कर्णालीमा पर्यटन र जलविद्युतमा लगानी गर्दै समग्र प्रदेशलाई नै आर्थिक रूपमा समृद्ध बनाउने प्रदेश घोषणा–पत्र जारी ग¥यो । यही घोषणा–पत्रका आधारमा अन्य दलहरूसँग समन्वय भइरहेको माओवादीको दाबी छ ।

एक महिना अघिमात्र वीरेन्द्रनगरमा सम्पन्न एमाले प्रदेश नम्बर ६ को बैठकले पनि प्रदेश ६ को समृद्धिको योजना सार्वजनिक गर्यो । एमालेको उक्त योजनामा पनि जलविद्युत र पर्यटनमा लगानी गर्नुपर्ने उल्लेख छ । जलविद्युत र पर्यटनमा लगानी गर्दै यो प्रदेशको अर्थतन्त्रलाई नै बलियो बनाउन सकिने एमालेको योजना छ । यस्तै एमालेले यो प्रदेश अन्तर्गतको हुम्ला र डोल्पामा चीनसँग जोडिएका उत्तरी नाका खोल्नुपर्ने र यसले प्रदेश आत्मनिर्भर हुने औंल्याएको छ । उत्तरी नाका खुलेको खण्डमा प्रदेश नम्बर ६ लाई केन्द्रको सहयोग जरुरी नपर्ने एमालेको निश्कर्ष छ ।
देशका दुई ठूला दल एमाले र माओवादी केन्द्रले प्रदेश समृद्धिको खाका सार्वजनिक गरिरहँदा निजी क्षेत्रबाट पनि प्रदेश समृद्धिको बहस सुरु भएको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी भन्छन्, ‘यो प्रदेश जनताले लडेर प्राप्त गरेको हो, पूर्वाधारमा कमजोर भए पनि हामीकहाँ सम्भावनाको खानी छ । इच्छाशक्ति भयो भने हाम्रो प्रदेश देशकै नमुना बन्नेछ, जलविद्युत र पर्यटनको विकासले आर्थिक जग बलियो हुनेछ ।’ निजी क्षेत्रले यो प्रदेशलाई आत्मनिर्भर बनाउन पाँच ‘ज’ (जल, जमिन, जंगल, जडिबुटी र जनशक्ति) को सूत्रलाई कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको छ । ‘जलविद्युतको पर्याप्त सम्भावना छ, जडिबुटीको प्रशोधन गरौं’ अध्यक्ष अधिकारीले थपे, ‘मजदुरीका लागि कालापहाड जाने जनशक्तिलाई गाउँमै रोकेर विकासमा लगाऔं, खनिज उद्योगहरू सञ्चालन गरौं । हाम्रो प्रदेश आर्थिक रूपमा सक्षम बन्नेछ, रारा ताल र मानसरोवर पुग्ने पर्यटकले नै हाम्रो अर्थतन्त्र थेग्ने छन् ।’

प्रदेश ६ मा निर्माणाधिन माथिल्लो कर्णाली जलविद्युत आयोजना, भेरी–बबई डाइभर्सन र जाजरकोटको नलसिङगाड आयोजनाबाट विद्युत उत्पादन गरी निर्यात गर्न सकिनेछ । यस्तै प्रदेशमा विद्युत उत्पादन हुने अन्य थुप्रै सम्भावनाहरू छन् । यो प्रदेशको अर्थतन्त्रलाई थेग्ने अर्को महत्वपूर्ण आधार पर्यटन हो । दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्तिप्रसाद शर्मा भन्छन्, ‘रारा ताल र फोक्सुण्डो देखाएरै आम्दानी गर्नसक्छौं, कर्णाली र भेरी नदीमा जलयात्रा गर्न लाखौं पर्यटक आउनेछन् । पर्यटनले नै हाम्रो प्रदेशमा रोजगारी सिर्जना हुनेछ, हामी देशकै सक्षम प्रदेश हुनेछौं ।’ साथै उनले दैलेखमा जमिनमुनी रहेको पेट्रोलियम पदार्थ उत्खनन् गर्नुपर्ने बताए । प्रदेश नम्बर ६ खनिज पदार्थको खानी भएकाले पनि आर्थिक रूपमा आत्मनिर्भर हुने उनले दाबी गरे । कर्णालीका पाँच, भेरीका तीन तथा राप्तीका दुई जिल्ला समावेश गरिएको यो प्रदेशलाई आर्थिक रूपमा सक्षम बनाउन सकिने उनको भनाइ छ ।

कर्णाली र भेरी नदीबाट विद्युत उत्पादन गर्दै पर्यटनका लागि आवश्यक पूर्वाधार तथा सडक निर्माणको योजनालाई प्राथमिकता दिए यो प्रदेश आर्थिक रूपमा सबल बन्ने यहाँका नागरिक बताउँछन् । यस्तै कर्णाली र भेरी करिडोरको निर्माण कार्य सम्पन्न भएमा यो प्रदेशको कायापलट हुने विश्वास गरिएको छ । अर्कोतर्फ यो प्रदेशको विकासका लागि जुम्लामा जडिबुटी उद्योग, मुगुमा राराताल पर्यटन क्षेत्रको विकास, सुर्खेतमा क्षेत्रीय विमानस्थल, दैलेखमा पेट्रोलियम खानीको उत्खनन्, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण, कर्णालीमा बस्ती विकास कार्यक्रम र सडक विस्तारलाई मुख्य प्राथमिकता दिएर योजना बनाउन सके यो प्रदेश देशकै नमुना र आत्मनिर्भर हुनेछ ।

प्रकाशित मितिः   १० मंसिर २०७३, शुक्रबार ००:०९