उपचार नपाएर छटपटाउँदै नागरिक, सरकारले हेर्ला ?

सुर्खेतका नरबहादुर राेकाय र हुम्लाकी  टिउकी नेपालको स्वास्थ्यमा देखिएको समस्या फरक हो तर दुवैले बेहोरिरहेको पीडा भने उस्तै छ । यी दुवैले भोगिरहेको अर्को समान पीडा हो, आर्थिक अभावका कारण उपचार नपाउनु । सरकारले काँग्रेस नेतृ सुजाता कोइरालाको उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको चर्चा सर्वत्र भइरहँदा रकम अभावकै कारण उपचार नपाएर छट्पटाइरहेका अाम नागरिकको उपचारमा सरकारले सहयोग गर्ला ? कान्तिपुर दैनिकमा आज प्रकाशित यि दुइ समाचारले सरकारमा हुनेहरुको मन छुन सक्ला ?

उपचार नपाएर छटपटी
प्रकाश अधिकारी, सुर्खेत

p

यो ह्दयविदारक तस्बिर हो, वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रको अस्थायी शिविरमा जीवन बिताइरहेका नरबहादुर रोकाको । उनको बायाँ खुट्टा काटिएको छ । दायाँ पनि सुक्दै गएको छ । नरबहादुर ओछ्यानबाट उठ्न सक्दैनन्, दिसापिसाब त्यहीँ गराउनुपर्छ । पत्नी सीता र छोरा प्रकाशले उनको स्याहार गर्दै आएका छन् । त्रिपालको कष्टकर बसाइ । मजदुरी नगरे छाक टर्दैन । त्यसमाथि थलिएका पतिको स्याहार गर्नुपर्दा सीतालाई कम्ती सकस छैन ।

बाढीपीडित रोका परिवारसँग पैसाका नाउँमा एक रुपैयाँ छैन । वीरेन्द्रनगर ११ स्थित उनीहरूको ११ धुर जग्गा र घर ०७१ साउन २८ र २९ गते इत्राम खोलामा आएको बाढीले बगायो । त्यसयता परिवार विस्थापित जीवन बिताउन बाध्य छ । सरकारले बाढी विस्थापितलाई पुनस्स्थापनाका लागि दिएको ५० हजार रुपैयाँ नरबहादुरले पनि पाए । त्यही पैसा लिएर निको हुने आसमा उपचार गर्न निस्किए । अस्पताल पुगेको केही दिनमै त्यो रकम पनि सकियो । अन्त्यमा, खर्च नपुगेर अस्पतालबाटै फर्काइए ।

सरकारले पहुँचवालालाई औषधोपचारका नाममा राज्यकोषबाट लाखौं बाँडिरहेको छ । तर ५१ वर्षीय नरबहादुर उपचार नपाएर छट्पटिइरहेका छन् । ‘म पनि नागरिक हुँ । बाढीले सारा बगायो । सरकारले एउटा घडेरी आउन पैसा दिएन । अहिले यतिसारो बिमारले थलिएको छु, सरकारले के हेथ्र्यो र रु’ उनले भने । ६ वर्षअघि भारत, मुम्बईमा काम गर्थे नरबहादुर । त्यही बेला फलामे गेट ढलेर बायाँ खुट्टाको बुढी औंला थिचियो । त्यतिबेला उनले टिटी रोगविरुद्ध सुई लगाएनन् । ‘पोहोरसाल त्यही ठाउँमा घाउ एक्कासी बल्झियो । प्यारालाइसिस भयो । ४५ दिन कोहलपुर ९मेडिकल कलेज० मा उपचार गराएँ । प्यारालाइसिस पनि निको भयो,’ उनले बेलिविस्तार लगाए, ‘तर, वैशाखबाट झन् ठूलो विपत्ति आइलाग्यो ।’

गत वैशाखमा उनी मजदुरी गर्न मुम्बई पुगेका थिए । बुढीऔंलामा बल्झेको घाउ निको नहुने भएपछि भदौमा त्यहाँको साइन हस्पिटलमा उनको खुट्टा नै काटियो ।

मुम्बईमा काम गर्ने नेपालीको सहयोगमा नरबहादुरको उपचार गरिएको थियो । ‘एउटा खुट्टा नभए पनि बैसाखी टेकेर हिँड्नुहोला, निको भयो भनेर खुसी भयौं,’ सीताले पीडा पोखिन्, ‘घर आइसकेपछि अर्को भाग नचल्ने भो ।’ अहिले नरबहादुरको शरीरको दायाँ भाग चल्दैन ।

दिउँसो छोरा प्रकाशलाई बुबासँग राखेर काम खोज्दै बजारतिर धाउँछिन् सीता । कमाएको पैसाले चामल, तरकारी, नुन तेल लिएर टहरामा फर्कन्छिन् । ‘गाडीभाडा छैन । अस्पतालसम्म कसरी पुर्‍याउने रु,’ उनले दर्द सुनाइन्, ‘बचेको एउटा खुट्टा सुकिसक्यो । डाक्टरले यही खुट्टा पनि काट्नुपर्‍यो भन्लान् ।’ ऋणरसापटी माग्ने हैसियत नहुँदा शिविरमै राख्नुपरेको सीताले बताइन् । बाबु यस्तो अवस्थामा पुगेपछि प्रकाशले कक्षा ८ को पढाइ छाडेका छन् ।

रकम नजुट्दा उपचार कठिन
एलपी देवकोटा, जुम्ला

l

पाठेघरको मुखमा क्यान्सर भएकी हुम्ला, दार्मा १ की ३४ वर्षीया टिउकी नेपालीलाई उनका परिवारले उपचारका लागि पटकपटक हुम्ला र मुगुस्थित जिल्ला अस्पताल पुर्‍याए । सुरुमा रोग पत्ता लागेन । पति दलवीरले जुम्लास्थित कर्णाली स्वास्थ्य प्रतिष्ठान, शिक्षण अस्पताल ल्याए । यहाँ रोग पत्ता त लाग्यो तर उपचार सम्भव भएन ।

पाठेघर क्यान्सर भएको पत्ता लागेपछि आर्थिक अवस्था नाजुक भएको टिउकीको परिवार चिन्ताले पिरोलिएको छ । उनलाई भरतपुर क्यान्सर अस्पताल भर्ना गरिएको छ । हुम्लाको दार्मामा भएको एउटा घरसमेत वर्षातका कारण असारमा भत्किएपछि पति दलवीरलाई अहिले कसरी पत्नीको उपचार गर्ने पिरलोले सताएको हो ।

टिउकीको पाठेघरको मुखमा क्यान्सर भएको जुम्लास्थित शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा। नीरेश थापाले बताए । उनका अनुसार पाठेघर क्यान्सर ‘स्टेज टु बी’ अवस्थामा छ । यो अवस्थामा बिरामीले समयमै उपचार पाए निको हुने सम्भावना ७० प्रतिशत बढी हुने उनको भनाइ छ ।

टिउकीलाई ५ वर्षदेखि पाठेघरको समस्या थियो । रगत बग्ने, तल्लो पेट दुख्ने, सेतो पानी बग्नेलगायत समस्या देखिन्थे । १४ वर्षको उमेरमा विवाह गरेर १५ वर्षमै पहिलो सन्तान जन्माएकी टिउकीका ५ छोराछोरी छन् । दम्पती जुम्ला आएपछि घरमा छोराछोरीको बिचल्ली छ । दलवीर परिवारको यस्तो अवस्था देखेपछि अस्पतालले निस्शुल्क उपचार गरिदिएको थियो । थप उपचारका लागि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीले २० हजार ८ सय रुपैयाँ आर्थिक सहयोग दिएर चितवन पठाएका हुन् ।

हुम्लाबाट जुम्ला पुग्दासम्म उपचारका लागि खोजेर ल्याएको ऋण २० हजार सकिइसकेको पति दलवीरले बताए । उनले उपचारका लागि भरतपुर जान नसक्ने बताएपछि चिकित्सकहरूले आर्थिक सहयोग गरेका हुन् । असारमा आएको पहिरोले दार्मामा भएको घरसमेत बगेको थियो । राहतका लागि उनी दुई दिन पैदल हिँडेर सदरमुकाम सिमकोट पुगेका थिए । त्यो राहत रकम औषधि उपचारमा लगाउने उनको योजना थियो । तर, पत्नीलाई क्यान्सर भएको थाहा पाएपछि उनी स्तब्ध छन् । हिउँदका ६ महिना भारतको गढवालमा मजदुरी गरेर दलवीर परिवार धान्दै आएका थिए ।

कम उमेरमा धेरै बच्चा जन्माउनु, पोसिलो खानेकुरा खान नपाउनु र धूमपानलगायत बानीले पाठेघरमा एचपीभी संक्रमण भएको डा। थापाले बताए । उनका अनुसार कर्णालीका अधिकांश महिलामा पाठेघर खस्ने समस्या छ ।

प्रकाशित मितिः   १० मंसिर २०७३, शुक्रबार १०:२२