सोह्र दिने अभियान कति सार्थक ?
धार्मिक ग्रन्ध वेदमा भनिएको छ, ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ भगवान्को बास पनि हुन्छ ।’ वास्तवमा महिला श्रृष्टिकर्ता हुन् । मानिसलाई संसार देखाउने जननी हुन्, माता हुन्, श्रृष्टि निर्माता हुन्, आमा हुन् । यति धेरै नामबाट सम्बोधित हुने महिलाहरूलाई आफ्नै घरबाट, विद्यालयबाट, आफ्नै समाज वस्तीबाट, काम गर्ने कार्यालयबाट लगायतका अन्य सार्वजनिक स्थानबाट समेत असुरक्षित अवस्था सिर्जना भएको पाइन्छ । महिलालाई आफ्नो नातेदार, सहकर्मी साथीहरू, मान्यजन, शिक्षक, प्रहरी प्रशासनबाट पनि सशंकित हुनुपर्ने स्थिति आइरहेको छ ।
त्यो भनेको समाज निर्माणमा कलंक हो । महिला हिंसाको मुख्य कारण हाम्रो सामाजिक संरचना र त्यसले निर्माण गरेको विशेष मनोविज्ञानमा अन्तरनिहीत छ भन्दा फरक पर्दैन । सामन्ति सामाजिक संरचनामा आधारित पितृसत्तात्मक सोचले महिलाहरूलाई एउटा वस्तु जस्तो ठान्ने प्रवृति हावी छ । उनीहरूलाई दोस्रो दर्जाको नागरिक ठानिन्छ । महिलाहरूको जीवनका प्रत्येक मोडहरू पुरुषको नियन्त्रण हुन्छ । महिलाहरूको स्वतन्त्र अस्तित्व छैन । महिलाहरूमाथि विभिन्न वहानामा शृंखलाबद्ध रूपमा हिंसाका घटना दिन प्रतिदिन भइरहेका छन् । महिलाहरूलाई दयामायाको पात्रका रूपमा सम्झे पनि हुने, श्रृंगारको रूपमा बुझे पनि हुने, वस्तुको रूपमा प्रयोग गरे पनि हुने विदेशमा लगेर बचे पनि हुने ? स्वदेशमा आय आर्जनको माध्यम बनाएर डर, त्रास धम्की दिएर यौन व्यवसायमा लगाए पनि हुने ? त्यतिमात्र होइन आमाको गर्भबाटै भ्रुणहत्या गर्दा पनि हुने, बच्चा जन्माउने मेसिन जस्तो बनाए पनि हुने । खेताला, गोठाला, भरिया, धोवी, भोट बैंक बनाए पनि हुने व्यवहारले गर्दा महिलाहरूको समुन्नत विकास नभएको भन्दा फारक नपर्ला ।
किनभने हाम्रो नेपाली समाज विभिन्न स्थानमा विभिन्न थरीका वा प्रकारका धर्मसंस्कृति, भेषभुषा, रिती, रिवाज, कुरीति कु–संस्कार, अन्धविश्वासका आधारमा सञ्चालित छ । महिलाहरूलाई आजको एक्काइशौं शताब्दीमा पनि छाउपडी जस्तो कुप्रथा, बोक्सीको आरोपमा विभिन्न यातना दिने, दाइजोको निहुँमा जिउँदै जलाइने, अंगभंग हुने गरी कुटपिट गर्ने, छोरा, नजन्माएको भनेर दोस्रो विवाह गर्ने गरिएको छ । छोरीलाई सन्तान नमान्ने, स्वर्ग जाने बाटो बन्द हुन्छ भनेर छोराको प्रतिक्षामा धेरै बच्चा जन्माउन बाध्य पारिने जस्तो धेरै किसिमका जोखिम मोल्न बाध्य पारिने, सामाजिक संस्कार र संस्कृतिका क्षेत्रमा महिलाहरूले परम्परा धान्नुपर्ने लगायतका हरेक प्रकारका प्रचलनले महिलाहरूमाथि हिंसा भइनै रहेका हुन्छन् । शोषण, दमनले गर्दा स्वतस्फूर्त तरिकाले आफ्नो जीवन जीउन नपाएका महिलाहरूका बारेमा कति कुराको वर्णन गर्नु र ? महिलालाई समान श्रृष्टीको फूल फूल्दा वा महिनावारी हुँदा छाउगोठ बस्नुपर्ने, उमेर नपुग्दै बाबुआमाको इच्छामा विवाह गरिदिने, कन्यादान गर्ने किनभने दान गरेको वस्तुलाई फिर्ता ल्याउनु हुँदैन । महिलालाई दान दिए पनि हुने । यिनी त भए महिलाहरूलाई हेर्ने बुझ्ने प्रयोग गर्ने धर्म संस्कार र संस्कृतिका नाममा गरिने व्यवहारका केही अंशहरू ।
अर्को कुरा त्यस्ता कुसंस्कार, कुरीति, रुढिवादी अन्धविश्वासले महिलालाई हिंसा भयो भनेर पनि महिला हिंसा अन्त्य हुनुपर्दछ । लैंगिक हिंसा अन्त्य हुनु पर्दछ भनेर महिला अधिकारका नाममा पनि आवाज उठाइएको छ । महिला हिंसा सम्बन्धी विश्वमा कस्ता–कस्ता किन र कहिले हिंसा भए । यस्ता हिंसा नहोसे भनेर अन्तर्राष्ट्रियस्तरमा केही अभियानहरू नभएका पनि होइनन् । ती अभियानले केही परिवर्तन ल्याए पनि धेरै गर्न अझैं बाँकी छ । आजभन्दा झण्डै ५६ वर्ष पहिले ल्याटिन अमेरिकाको डोमिनिकन गणराज्यमा मिरावल परिवारका तीन छोरीहरू पेट्रिया, मिर्नमा र मारिया तीन दिदीबहिनीहरू थिए । उनीहरू तत्कालीन त्रिजुलो तानाशाही निरंकुश सरकार विरोधी सशक्त राजनैतिक कार्यकर्ता थिए । सन् १९६० मा निरंकुश सरकार विरोधी सशक्त कार्यक्रम घोषणा गरेका थिए । जसअनुसार कार्यक्रमको आयोजना गरेका थिए र त्यस कार्यक्रममा तीनै जना दिदीबहिनीले सरकारको विरुद्धमा कार्यक्रमलाई सम्बोधन गरे । कार्यक्रमबाट तीन दिदीबहिनीहरूलाई निरंकुश तानाशाही सरकारले गिरफ्तार गरेर राज्यद्रोहको आरोपमा जेल हाल्यो । जेलमा ११ महिनासम्म राखेर सन् १९६० को नोभेम्बर २५ का दिन निर्ममतापूर्वक सामूहिक हत्या गरिएको थियो । उक्त सामूहिक हत्याको विरोधमा क्रान्तिकारी तीन दिदीबहिनीहरूका अनुयायीहरूले आन्दोलनलाई अझ सशक्त बनाएका थिए । अन्तमा त्रिजुलो सरकारको सत्ताच्यूत भएको थियो र तानाशाहीबाट देश मुक्त भइ स्वतन्त्र गणराज्यको स्थापना भएको थियो ।
त्यसपछि डोमेनिकन जनताले त्यो हत्यालाई लिंगको आधारमा महिला विरुद्ध गरिएको राजनैतिक हिंसाको रूपमा लिइ नोभेम्बर २५ लाई महिला हिंसा निर्मूल गर्ने अभियानको रूपमा कार्यक्रम गर्ने निर्णय अनुसार कार्यक्रम गर्दै तीन दिदीबहिनीको सम्झना गरिरहेका थिए । यसको प्रभाव विश्वका अन्य देशहरूमा पनि फैलिएको थियो र ऐक्यवद्धता स्वरूप अन्य देशहरूले पनि नोभेम्बर २५ का दिन महिला विरुद्ध हुने हिंसा अन्त्य गर्ने कार्यक्रम गर्न थालेका थिए । नोभेम्बर २५ लाई महिला विरुद्ध हुने हिंसा अन्त्य गर्ने अभियानका रूपमा डोमेनिकन सरकारसहित अन्य ७४ देशहरूले संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव लगेका थिए । सन् १९९९ डिसेम्बर १७ का दिन संयुक्त राष्ट्रसंघको महासभाले यो प्रस्तावलाई सर्वसम्मत् पारित गरेको थियो । त्यसपछि सन् २००० को नोभेम्बर २५ देखि संयुक्त राष्ट्रसङ्घीय प्रणालीहरूले यो कार्यक्रमलाई महिला माथि हुने हिंसा विरुद्ध व्यापक जनचेतना जगाउने, समस्याहरूको बारेमा सत्यतथ्य पहिल्याउने र तिनको समाधानका लागि राज्यहरूलाई कानुनी आधारमा सहयोग गर्दै आएको छ ।
महिला अधिकार नै मानव अधिकार हो भनि वकालत गर्दै संयुक्त राष्ट्रसङ्घीय प्रणालीले त्यसको कार्यान्वयनमा समेत जोड दिँदै आएको छ । नेपालमा महिला माथि हुने हिंसा विरुद्धको अभियान सन् १९९७ को नोभेम्बर २५ देखि विभिन्न संरचनामूलक कार्यक्रम गरी मनाउँदै आएको हो । यो अभियानले महिला विरुद्ध हुने हिंसालाई राष्ट्रियस्तरको बहसमा ल्याउन महŒवपूर्ण भूमिका खेलेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिक वा मानव अधिकार दिवसका दिनसम्म विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरेर अभियान सञ्चालन गरिएको हुनाले यो कार्यक्रम १६ दिने अभियानका रूपमा परिचित छ । लैंगिक हिंसा अन्त्य गर्ने अभियान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बहस भइरहेका छन् । यो लंैगिक हिंसा विरुद्धको १६ दिन अन्तर्राष्ट्रिय अभियान सुरु गर्नका निमित्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नारा समेत तय गरिएको हुन्छ । यस वर्ष ‘घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि हिंसारहित समाज’ भन्ने नाराका साथ यो अभियान मनाइँदैछ ।
यो अभियान हरेक वर्ष १६ दिनसम्म निरन्तर सञ्चालन गरिएको हुन्छ । गतवर्षदेखि यो वर्षसम्म कति मानवअधिकार उलंघनका घटनाहरू भए, कति संख्यामा महिला, पुरुष तथा बालबालिकाहरू कस्ता–कस्ता हिंसाबाट प्रताडित भएका छन्, कतिको लैंगिक हिंसामा परेर मृत्यु भयो भन्ने रेकर्ड प्रत्येक जिल्लाका सरकारी तथा गैससमा हुन जरुरी छ । स्वयम् महिला वा पुरुषले कतिले जानीजानी कुन–कुन स्थानमा कस्ता खालका हिंसाहरूलाई अंगालेका छन् र आगामी दिनमा त्यसो नगर्न भन्दै कति र कस्ता प्रकारका कार्यक्रमहरू सरकारी तथा गैससका क्षेत्रबाट भए भन्ने कुराको तथ्याङ्क पनि सार्वजनिक हुन जरुरी छ । कार्यक्रमको उपलब्धि पनि कति भयो अझैं नयाँ तरिका कसरी अपनाएर लैंगिक हिंसा अन्त्य हुनसक्छ भन्ने जनचासो पनि सबैलाई हुन जरुरी हुनुपर्छ । केवल लैंगिक हिंसा विरुद्धको १६ दिनसम्म सहर बजारमुखी अभियान गरेर मात्र हुँदैन । एकातिर १६ दिने लैंगिक हिंसा अन्त्य गर्ने कार्यक्रम भइनै रहने अर्कातिर श्रृंखलावद्ध तरिकाले हिंसा बढी रहने हो भने अभियानको सार्थकता नरहन सक्दछ ।
गाउँघरका महिलाहरूलाई मानव बेचविखन गर्ने तस्करीहरूले जागिर वा रोजगारीमा लगाइदिने वहानामा अवैध तरिकाले विदेश पुरयाएर बेचबिखनका घटनाहरू भइरहेका छन् । यति धेरै कार्यक्रमहरू गरिरहेता पनि कार्यक्रम लक्षित वर्गसम्म पुग्न सकेको छैन । गत साउन महिनामा विभिन्न सामाजिक सञ्जाल, टेलिभिजनमार्फत् १८–५६ वर्षसम्मका ९० जना नेपाली महिलाहरूलाई बंगालादेश पु¥याएर एकै ठाउँमा भेडाबाख्रा जस्तो गरी कोठामा थुरेर राखेको देख्दा देख्ने, सुन्ने, हेर्ने सबैलाई अत्यन्तै मर्माहत बनायो तिनी महिलाहरूलाई कुनबाटो गरे बंगलादेश पु¥याइयो र कसले त्यहाँ पु¥यायो ? कहाँ छ ? राज्य कहाँ छ ? महिलावादीका नाममा काम गर्ने अफिसहरू कहाँ छन् ? समाज कहाँ छ ? सरकार कहाँ छ ? किन वहकिन्छन् महिलाहरू ? भन्ने कुराले मलाई अहिलेसम्म सोच्न बाध्य बनाएको छ । तिनी महिलाहरूको उद्धारको लागि कसले आवाज उठायो ? महिला अधिकारका नाममा वर्षेनी अरबौं अरब रकम खर्चेर के कति उपलब्धी भयो ? कसले हेर्ने ? एक दिन मात्र प्रधानमन्त्री पुष्पकमल दहाललाई नेपाल टेलिभिजनमा प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा बंगलादेश पु¥याएका महिलाहरूको बारेमा बोलेको सुनेको थिएँ । त्यसपछि के भयो थाहा छैन । वर्षेनी हिंसा विरुद्धका कार्यक्रमहरू गर्नु र सरकारले वर्षेनी अरबौं रकम खर्चेर महिलाहिंसा र मानव अधिकारका क्षेत्रमा काम गरेको के अर्थ रह्यो ? कार्यक्रमका नाममा कार्यक्रम गर्ने, वर्षमा एक दिन प्रधानमन्त्री विभागीय मन्त्री तथा सरोकारवालाले शुभकामना दिनुलाई नै उपलब्धि ठान्ने हो भने कहिले हुने होला हिंसाको अन्त्य ? सबैले गम्भीरता पूर्वक सोच्नुपर्ने होइन र ?
(लेखक महिला लोकतान्त्रिक सञ्जाल सुर्खेतकी सदस्य हुन् ।)
साझा बिसौनी ।