हत्यामा संग्लन एक जना पक्राउ

दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दैलेखको महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । २०७१ मंसिर २१ गतेको फैसलाअनुसार शाहीलाई दुई वर्ष कैद सजाय तोकिएको छ । एक वर्ष सात महिना एक दिन कैद भुक्तान गरिसकेपछि फरार भएका उनलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको कार्यालयले जनाएको छ । केही समय कैद भुक्तानीपछि बन्दी प्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि शाही थुनामुक्त भइ फरार थिए । २०६१ साल साउन २७ गते पत्रकार डेकन्द्र थापाको हत्या भएको थियो । सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्ष माओवादीले उनको हत्या गरेका हुन् । थापाको शव दैलेखको नौमूले गाउँपालिकामा पर्ने साविकको द्वारी गाविस–१ मा भेटिएको थियो । माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते नौ जनाविरूद्ध किटानी जाहेरी दिएकी थिइन् ।

प्रकाशित मितिः   २७ माघ २०७७, मंगलवार १०:२०