हवाई सेवामा सुधार
कर्णाली प्रदेश पूर्वाधार विकासमा पछाडि छ । आधारभूत सुविधाबाट समेत यहाँका नागरिक वञ्चित छन् । सडक पहुँचबाटै वञ्चित हुनुपर्ने अवस्था छ । भएका सडक पनि सुविधा सम्पन्न छैनन् । जीर्ण छन् । प्रमुख राजमार्गहरू नै स्तरोन्नतिको पखाईमा छन् । त्यसमाथि हवाई यातायातको पहुँच त झन टाढाको कुरा भइहाल्यो । प्रदेशका सबै जिल्लामा हवाई सेवा छैन । हवाई सेवा पुगेका जिल्लाहरूबाट समेत नियमित उडान नहुँदा कर्णालीका नागरिक सहज हवाई सेवाबाट वञ्चित भएका छन् ।
केही जिल्लाहरूमा लामो समयदेखि निर्माणाधीन विमानस्थलसमेत समयमै निर्माण हुन नसकेर अलपत्र परेका छन् । चाडपर्वको समयमा होस् या आपतकालीन अवस्थामा कर्णालीका जनताले सहज हवाई सेवा पाउन सकेका छैनन् । प्रदेशका तीन जिल्लामा अहिलेसम्म पनि विमानस्थल छैनन् । कर्णालीजस्तो भौगोलिक रूपमा ठूलो तर विकट क्षेत्रमा हवाई सेवा सडकभन्दा बढी प्रभावकारी हुन सक्दछ । यो छिटो र छरितो सेवा पनि हो । तर यहाँ हवाई सेवा सञ्चालनका लागि बनाइएका विमानस्थलहरूको अवस्था नै नाजुक छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरकै विमानस्थल साँघुरो भएर समस्या निम्तिएको छ । यसको विकल्प खोज्न थालिएको धेरै भइसक्यो । तर भेटिएको छैन । विकल्पको रूपमा पूर्वी सुर्खेतको रामघाट र छिन्चु क्षेत्रमा बनाउने भनिएको विमानस्थलको सम्भाव्यता अध्ययनमै सीमित हुनपुग्यो । अहिले वीरेन्द्रनगर विमानस्थलकै विस्तारको चर्चा चलेको छ । सँगसँगै विरोध पनि भइरहेको छ । ठूला जहाज उडान हुनसक्ने अवस्था छैन । प्रदेशको सबैभन्दा सुगम मानिने सुर्खेतकै अवस्था यस्तो छ भने अन्य विकट जिल्लाहरूको अवस्था यसैबाट पनि अनुमान लगाउन सकिन्छ । भएकै विमानस्थलहरूले दिने सेवामा पनि नागरिकको सहज पहुँच पुग्दैन ।
केही जिल्लामा भने लामो समयदेखि विमानस्थल निर्माण कार्य नै अलपत्र छ । कालीकोटको नरहरिनाथ गाउँपालिकाको कोटवाडामा सुन्थराली विमानस्थल पनि ३५ वर्षदेखि निर्माणकै क्रममा रहेको छ । वि.सं. २०४१ सालमा निर्माणको कार्य थालनी भएको सुन्थराली विमानस्थल केही समय दश वर्षे द्वन्द्वका कारण अवरुद्ध भयो भने त्यसयता पनि सञ्चालनमा आउन सकेको छैन । डोल्पा जिल्लाको मसिनाचौर विमानस्थल लामो समयदेखि निर्माणको क्रममा नै रहेको छ । रुकुम–पश्चिममा रहेको चौरजहारी विमानस्थलले पनि हप्तामा एक पटक मात्रै उडान भर्ने गरेको छ । उता मुगु जिल्लामा रहेको ताल्चा विमानस्थलले भने जोखिम मोल्दै उडान भरिरहेको छ । साँघुरो धावनमार्गका कारण जोखिमपूर्ण छ । यो देशकै चौथो जोखिमयुक्त विमानस्थल हो ।
सबै जिल्लामा हवाई सेवाको सहज पहुँच नहुनु त छँदैछ भएका विमानस्थलहरूको सुधार र स्तरोन्नतिमा पनि ध्यान पुगेको छैन । कर्णाली प्रदेशको समग्र विकास र समृद्धिको कुरा गरिरहँदा यहाँका विमानस्थलहरूको सुधार र विकास पनि उत्तिकै जरुरी छ । यसतर्फ यहाँका स्थानीय, प्रदेश र संघीय सरकारको समेत ध्यान जान सके कर्णालीको समृद्धिमा नै योगदान पुग्नेछ । त्यसैले यहाँका स्थानीय सरकार तथा प्रदेश सरकारको पहल र संघीय सरकारसँगको समन्वयमा हवाई सेवा सुधार र विस्तार गर्न जरुरी भइसकेको छ ।
प्रकाशित मितिः २७ माघ २०७७, मंगलवार १०:२०
साझा बिसौनी ।