कर्जा सम्बन्धी तालिम

बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तीन दिने कर्जा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । संस्थाका विभिन्न शाखामा कार्यरत शाखा प्रमुख कर्मचारीहरूको सहभागिता रहेको उक्त तालिममा शाखा सञ्चालन, कर्जा वितरण, विश्लेषण र व्यवस्थापनका विषयमा कर्मचारीहरूको कार्यक्षमतालाई थप उर्जाशील र सिर्जनात्मक गराउनका लागि तालिम आयोजना गरिएको जनाइएको छ ।

संस्थाले क्षमता अभिवृद्धिका लागि उपलब्धीमूलक तालिमहरू आयोजना गरिदिनाले काम गर्ने उत्साह र हौसला बढ्दै गएको तालिमका सहभागीले बताएका छन् । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका नायब कार्यकारी प्रमुख पृथबहादुर थापा, संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल के.सी. मुख्य प्रशिक्षक रहेका तालिममा सहकारी संस्थाका सचिव तथा कार्यक्रम संयोजक पासाङ महतरा, मुख्य प्रबन्धक अशोक चौधरी, धनबहादुर शाही, डम्बर विश्वकर्मा र प्रबन्धक रामु सुवेदीलगायतले सहजीकरण गरेका थिए ।

संस्थाले प्रत्येक कर्मचारीहरूलाई कुशल र सफल बनाउनका लागि आवश्यक तालिमहरूको आयोजनालाई निरन्तरता दिने संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल के.सी. ले बताए ।

प्रकाशित मितिः   २७ माघ २०७७, मंगलवार १०:१९