सुकुम्बासी पहिचानमा जोड

वास्तविक सुकुम्बासीलाई मात्र लालपूर्जा दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोगले वास्तविक सुकुम्बासीहरूको पहिचान गरेर जग्गा तथा आवासको ग्यारेण्टी गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । सोमवार वीरेन्द्रनगरमा अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको आवास अधिकार कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा वास्तविक सुकुम्बासी पहिचान गरेर लालपूर्जा वितरण गरिनुपर्ने सरोकारवालाले बताएका छन् ।

अघिल्ला आयोगले पहुँचवालाहरूलाई मात्रै लालपूर्जा दिएको बताउँदै उनीहरूले यस पटक भने राम्रोसँग पहिचान गरेर काम अघि बढाउनुपर्ने औल्याएका हुन् । भूमि अधिकार मञ्च कर्णाली प्रदेशका संयोजक राजेन्द्र शर्माले आयोगमा राजनीति नियुक्ति हुने हुँदा पहुुँचवालाहरूले मात्रै लालपूर्जा आउने गरेको आरोप लगाए । सीमान्तकृत समुदाय तथा दलित, मुस्लिम, राजीलगायतपछि परेको समुदाय अझै पनि भूमिहीन भएर समस्या झेलिरहेको उनले बताए ।

यस्तै, मुस्लिम समुदायका सामाजिक अभियन्ता सजत खानले सकुम्बासी बस्तीले अहिले पनि लालपूर्जा पाउनेमा शंका व्यक्त गरे । पर्याप्त अधिकार र ऐन/कानुुन बने पनि कार्यान्वयनमा लागू नभएको गुनासो गरेका थिए । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आवास सम्बन्धी धेरै काम अहिले स्थानीय र प्रदेश सरकारले गर्ने भएकाले आफूले समन्वय गर्ने काम गरिरहेको जनाए । वीरेन्द्रनगर नगरपालिकाले हाल सुकुुम्बासीहरूको लगत संकलन गरिरहेको छ । वीरेन्द्रनगरमा मात्रै भूमिहीन तथा सुकुम्बासीको संख्या करिब १३ हजार पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मितिः   २७ माघ २०७७, मंगलवार १०:१८