प्राथमिकतामा सार्वजनिक निकायका कर्मचारी
दोस्रो चरणको खोप अभियान

कोरोना भाइरस ‐कोभिड–१९) विरुद्धको पहिलो चरणको खोप लगाउने काम सकिएपछि अब दोस्रो चरणका लागि तयारी थालिएको छ । सुरूमा स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर लगाइएको खोप अन्य पेसा व्यवसायमा आवद्धहरूलाई पनि दिइने भएको हो । यसका लागि कर्णाली प्रदेशमा पनि तयारी थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार अहिले तथ्याङ्क संकलन गरी संघीय सरकारलाई पठाउने काम भइरहेको छ । खोेप लगाउन जोखिम समूहको प्र्राथमिकता निर्धारण गरी तथ्याङ्क संकलन गरिएको हो ।
उच्च जोखिम हुँदाहुँदै अन्य प्रदेशको तुलनामा कर्णालीमा कोरोना संक्रमितको संख्या न्यून हुनुले पनि नियन्त्रणमा उल्लेख्य उपलब्धी भएको मान्न सकिने निर्देशक खड्काले बताए ।
संघीय सरकारले सार्वजनिक सेवा प्रदायक कार्यालय तथा संस्थाहरूमा कार्यरत कर्मचारीको विवरण पठाउन भनेको थियो । सोही अनुसार जिल्लाहरूले कर्मचारीको विवरण निर्देशनालयलाई बुझाएका छन् । दोस्रो चरणको खोप मुख्यगरी सार्वजनिक सेवा प्रदायक निकायमा कार्यरत कर्मचारीहरूलाई दिइनेछ । स्थानीय तह, जिल्ला प्रशासन कार्यालयहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी (बीओपी खटिएका), मालमोत, नापी, विद्युत, खानेपानी, यातायात, टेलिकम तथा कार्यालय बैंकमा कार्यरत कर्मचारीले अब खोप दिन लागिएको हो । यसबाहेक अन्य वर्गलाई पनि छिट्टै खोपको दायरामा ल्याइने बताइएको छ ।
कर्णालीमा पहिलो चरणमा प्राथमिकतामा परेका ८२ प्रतिशतलाई कोरोनाविरुद्धको ‘भ्याक्सिन’ लगाइएको छ । पहिलो प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सरसफाइमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापनमा खटिने व्यक्तिहरूलाई खोप लगाइको थियो । यस्तै, वृद्धाश्रमका ज्येष्ठ नागरिक र कैदीबन्दीहरूलाई पनि खोप लगाइसकिएको छ । लक्ष्यअनुसार नै खोप लगाउन सफल भएको निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए । ‘पहिलो चरणमा खोप लगाउने कार्यक्रम सफलतापूर्वक सफल भएको छ,’ उनले भने । कर्णाालीमा ११ हजार सात सय ८१ जनालाई खोप दिने लक्ष्य लिइएकोमा नौ हजार चार सय २० जनालाई खोप लगाइएको छ ।
दोस्रो चरणको प्राथमिकतामा सेवाप्रदायक निकायका कर्मचारीसँगै ५५ वर्षदेखि ७४ वर्ष उमेर समूह, ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दीर्घरोग भएका व्यक्तिहरू, वैदेशिक रोजगारबाट फर्किएकाहरूलाई खोप लगाइने जनाइएको छ । प्रदेशमा दोस्रो चरणको खोपको तयारी भइरहेकाले संघीय सरकारले निर्णय गरेलगत्तै अभियान थालिने निर्देशक खड्का बताउँछन् । पहिलो चरणमा सिकाइ भएकाले दोस्रो चरणको खोप अभियानमा सहज हुुने उनले बताए । पहिलो चरणमा खोप लगाएकालाई एक महिनापछि दोस्रो डोज दिइनेछ ।
कोरोना रोकथाम, नियन्त्रणका लागि गरिएको कोभिड प्रतिकार्य प्रभावकारी भएको र यो समयमा स्वास्थ्य पूर्वाधारको समेत विकास भएको निर्देशनालयले जनाएको छ । कोभिड रोकथामका लागि प्रदेशका २७ वटा रणनैतिक स्थानमा चिकित्सक परिचालन, पूर्वाधार तथा प्रयोगशाला परीक्षणको विस्तार, नागरिकहरूमा रोगबाट बच्न जनचेतना अभिवृद्धिलगायतका काम भएको बताइएको हो । उच्च जोखिम हुँदाहुँदै अन्य प्रदेशको तुलनामा कर्णालीमा कोरोना संक्रमितको संख्या न्यून हुनुले पनि नियन्त्रणमा उल्लेख्य उपलब्धी भएको मान्न सकिने निर्देशक खड्काले बताए ।
आइतवार वीरेन्द्रनगरमा प्रदेशमा हालसम्म कोरोना नियन्त्रण, रोकथाम तथा प्रतिकार्यमा भएका काम तथा उपलब्धीको समीक्षासमेत गरिएको छ । प्रदेशमा अझै पनि भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, खोप अभियान र अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता, गुणस्तरीय स्वास्थ्य सेवा र व्यवस्थापनमा जोड दिन आवश्यक रहेको सरोकारवालाहरूले आंैल्याएका छन् ।
भारतबाट अनुदानमा आएको १० लाख डोज खोप पहिलो चरणको अभियान अन्तर्गत देशभर एक लाख ८४ हजार आठ सय ५७ जनालाई दिइसकिएको छ । यो जनसंख्यालाई पूर्ण खोप अर्थात् दोस्रो डोजसम्म दिँदा तीन लाख ६९ हजार सात सय १४ डोज खपत हुनेछ । त्यसबाट बचेको खोप थप गरिएको वर्गलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २६ माघ २०७७, सोमबार ०८:३४
साझा बिसौनी ।