स्याउ बगैँचामा आगलागी

एक हजार बिरुवा जलेर नष्ट

एक हजार बिरुवा जलेर नष्ट


जुम्लाको तातोपानी गाउँपालिकाको तरापी लेकमा आगलागी हुँदा स्याउ बगैँचा नष्ट भएको छ । आगलागीले एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका हुन् । तातोपानी–१ राँकाको तरापी लेकमा गएको २० गते आगलागी हुँदा चार जना किसानका बगैँचा नष्ट भएको गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए । दुःख गरेर हुर्काएका बिरुवा आगोले सखाप भएपछि किसानहरू चिन्तित बनेका छन् ।

तातोपानी–१ का वडा अध्यक्ष पे्रमबहादुर कठायतका अनुसार पानीको चरम अभाव रहेको तरापीमा किसानले बोकेरै सिँचाइ गरेर स्याउका बिरुवा हुर्काएका थिए । ‘एक हजारभन्दा बढी स्याउका बिरुवा नष्ट भएका छन्,’ उनले भने । छेकबार गरिएका काठ र बगैँचामा भएको घाँस जलेर स्याउका बिरुवा नष्ट भएको वडा अध्यक्ष कठायतले बताए । स्याउका बिरुवासँगै वस्तुभाउलाई खुवाउन जम्मा गरिएको घाँस र एउटा गोठसमेत जलेको छ ।

तरापी राँकाको मौसमी बस्ती हो । अहिले यहाँका किसानहरू चिसो हिउँद कटाउन गाउँ झरेका छन् । ‘अनेक कष्ट गरी हुर्काएर फल्न थालेका स्याउ आगोले खायो । अहिलेसम्मको मेहेनत बालुवामा पानी खन्याएको जस्तो भयो,’ कृषक तुल धरलाले भने । लेकमा चिसो बढेपछि गाउँझरेका किसानको बगैँचा एकाएक आगोले सखाव पारेको हो । तीन घण्टा पानी बोकेर सिंचाइ गरी हुर्काएको बगैँचा नष्ट भएपछि आफूहरू निकै चिन्तित भएको धरलाले बताए । आगो कसले र किन लगायो भन्नेबारे एकिन नभएको बताइएको छ । छिट्टै कार्यपालिकाको बैठकबाट निर्णय गरी किसानलाई राहत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मितिः   २६ माघ २०७७, सोमबार ०८:३१