खोपमा नागरिक पहुँच
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको नौ महिना भयो । यो अवधिमा प्रदेशमा कूल संक्रमित सात हजार पाँच सयभन्दा बढी पुगिसकेको छ । ३० जना संक्रमितको मृत्यु भइसकेको छ । संक्रमित थपिनेक्रम जारी नै छ । अर्थात् समुदायमा अझै पनि कोरोना संक्रमणको जोखिम छ । पछिल्लो समय कोरोनालाई सामान्य रूपमा लिएर स्वास्थ्य सुरक्षाका मापदण्ड तथा सावधानी अपनाउन छोडिएको छ । स्वास्थ्यकर्मीहरूले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् । केही समय यतादेखि लक्षण देखिएकाहरूलाई मात्रै परीक्षण गर्ने गरिएको छ । परीक्षणको दर घटेका कारण पनि संक्रमितको संख्या न्यून देखिएको छ ।
अहिले पनि समुदायमा कोरोनाको जोखिम उस्तै छ । परीक्षणले यही देखाउँछ । सरकारले यसअघि प्रदेशका दुई स्थानमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरेको थियो । समुदायमा संक्रमणको अवस्था एकिन गर्न एन्टिजेन विधि अपनाइएको हो । यसक्रममा सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लू नगरपालिकामा करिब तीन हजार पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले संघीय सरकारको समन्वयमा यी दुई पालिकाको संक्रमणको अवस्था एकिन गरेको हो । निर्देशनालयका किटजन्य रोग नियन्त्रक अधिकृत श्याम आचार्यले परीक्षणको क्रममा करिब दुई प्रतिशतलाई कोरोना संक्रमण देखिएको बताए । दुल्लूमा दुई हजार र वीरेन्द्रनगरमा एक हजार पाँच सय जनालाई एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । तीमध्ये दुई प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको छ । यति हुँदाहुँदै पनि जोखिमप्रति संवेदनशीलता देखिएको छैन । चौतर्फी बेवास्ता छ । जोखिमयुक्त गतिविधि बढेका छन् ।
यसबीचमा खोप भित्रिएको छ । यसले आशाको सञ्चार गराएको छ । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सकिएको छ । साढे नौ हजार जनाले खोप लगाएका छन् । सरकारले पेसालाई प्राथमिकतामा राखेर खोप लगाउने आधार निर्धारण गरेको थियो । जसअनुसार पहिलो चरणको खोप स्वास्थ्यकर्मीले लगाएका हुन् । सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने व्यक्तिहरू, एम्बुलेन्स चालक, अस्पतालका कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका र सरसफाइमा संलग्न कर्मचारीहरू, वृद्धाश्रममा रहेका तथा मानवसेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई पनि खोप दिइएको छ । पहिलो चरणमा लगाउने खोप सकिएकोले अब दोस्रो चरणको अभियान केही समयमै सुरु हुनेछ । दोस्रो चरणको खोप अभियानमा सेवाप्रदायक संस्था, गाउँ/नगरका कर्मचारी तथा सेवाग्राहीको भिडभाड हुने कार्यालय र बैंकलगायतका संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई प्राथमिकताका आधारमा खोप लगाइने र यसका लागि संघीय सरकारले समय तोक्ने बताइएको छ । दोस्रो चरणमा ‘फ्रन्टलाइन’मा खटिने सुरक्षाकर्मी, यातायातकर्मी, हवाई यातायातमा कार्यरत कर्मचारी, बैंक, नापी, मालपोत, विद्युत, खानेपानी र सञ्चार क्षेत्रमा कार्यरत कर्मचारीलाई खोप लगाउने सूची सरकारले तयार गरेको छ । सँगसँगै जतिसक्दो छिटो आम नेपालीको सहज पहुँच पुग्ने गरी खोप ल्याउनमा सरकारले पहल गर्नुपर्छ ।
प्रकाशित मितिः २६ माघ २०७७, सोमबार ०८:२९
साझा बिसौनी ।