हिमपातले किसानलाई राहत

हिमपात र हिउँदे वर्षातले किसानहरूलाई राहत मिलेको छ । हिउँदको समयमा पानी नपर्दा कर्णालीका किसानमा समस्या पर्दै जान थालेको थियो । गत असोजदेखि कर्णालीमा वर्षात भएको थिएन । माघको अन्तिम साता भए पनि हिउँसँगै पानी पर्दा हिउँदे बाली सप्रिने आशामा किसानहरू खुशी भएका हुन् ।

किसानहरूका अनुसार जति धेरै हिउँ प¥यो उति धेरै अन्न उत्पादन हुने गर्छ । स्याउ, ओखर, आरूलगायत फल पनि सप्रन्छन् । पानीका मूल पनि बढ्ने गरेका छन् । हिमपात भएपछि हिमाली तथा पहाडी जिल्लाका किसान उत्साही भएका छन् । खडेरीले चिन्तित भएका उनीहरूले वर्षात र हिउँ परेपछि खाद्यान्न उत्पादन बढ्ने अपेक्षा गरेका छन् ।

कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहीवार दिउँसोबाट मौसममा बदली भइ रातिदेखि हिउँ पर्न सुरू गरेको हो । मुगुको रारा, मुर्मा मुन्दु, ताल्च, माथितुम, सोरुकोट, कालै, शोभा, बाम, खमाले, पापु, चिमाथलगायत बस्तीमा आधा फिटसम्म हिउँ जमेको छ । ‘खडेरीले जौ–गहुँ सुकाइसकेको थियो । अब हिउँ प¥यो बाली सप्रिने आशा पलाएको छ,’ मुगुको सोरुकोट गाउँका पदम शाहीले भने ।

विकट भेगका किसानलाई यो सिजनमा हिउँ नपरे कृषि उत्पादनमा समस्या हुने गर्छ । ‘हिउँको प्रतिक्षा गर्दै पुस बित्यो,’ शाहीले भने, ‘माघ बित्न थालेपछि बल्ल हिउँ देख्न पाइयो ।’ पहिले पुस महिनामै बाक्लो हिमपात हुने कर्णालीका हिमाली जिल्लामा पाँच वर्षयता माघ अन्तिमदेखि फागुन–चैतमा मात्र हिउँ पर्न थालेको छ ।

यस्तै, जुम्लामा पनि वर्षासँगै हिमपात भएको छ । बिहीवार बेलुकादेखि सुरू भएको हिमपात शनिवारसम्म पनि रोकिएको छैन । हिउँ पर्ने क्रम जारी छ । लामो खडेरी पछि वर्षासँगै हिमपात भएपछि किसानहरू हर्षित भएका छन् । ‘गहुँ, जांै लगायतका बाली खडेरीले सुक्न लागेको बेला मौसमले साथ दियो । अब हिउँदेबालीसँगै स्याउ ओखरलाई सिंचाइ पुग्ने भयो,’ तातोपानी गाउँपालिका–७ का वीरजीते रावतले भने ।

जुम्ला सदरमुकाम खलंगामा वर्षा बढी र हिमपात कम भएको छ । ग्रामीण भेगमा भने भारी हिमपात भएको हो । हिमपातपछि जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको तापक्रम शनिवार माइनस १ डिग्री सेल्सियसमा झरेको थियो ।

प्रकाशित मितिः   २५ माघ २०७७, आईतवार ०६:०१