शिक्षा क्याम्पस बहुमुखी बन्दै
सुर्खेत क्याम्पस (शिक्षा) ले बीबीएस कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालयको मानविकी तथा व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माको टोलीले बिहीवार स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरेको हो ।
अहिलेसम्म सुर्खेत क्याम्पस (शिक्षा) मा शिक्षाशास्त्र संकाय मात्र सञ्चालन हुँदै आएको छ । अब यसलाई बहुमुखी क्याम्पसका रूपमा रूपान्तरण गर्न लागिएको क्याम्पस प्रमुुख माधवप्रसाद खनालले बताए । शिक्षाशास्त्र संकायसँगै अब अन्य संकाय पनि सञ्चालन गर्ने उद्देश्यले नयाँ संकाय थप गर्ने तयारी थालिएको उनले जानकारी दिए । व्यवस्थापन संकाय सञ्चालनका लागि आफूहरूसँग पूर्वाधार तथा पयापर््त आधारहरू भएको उनको भनाइ छ ।
प्रस्तावित बीबीएस कार्यक्रम सुरू गर्नका लागि वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले नयाँ संकाय प्रभावकारी रूपमा सञ्चालन गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा डीन शर्माले यहाँको आवश्यकतालाई हेरेर प्रस्ताव स्वीकृत गर्ने तयारी गरिएको बताए । उनले नयाँ संकाय सञ्चालनका लागि व्यवस्थापन पक्ष राम्रो हुुनुुपर्नेमा जोड दिए ।
‘व्यवस्थापन संकाय सञ्चालन गर्न सकिने सम्भावना छ । भौतिक पूर्वाधार तथा जनशक्तिमा जोड दिइनुपर्छ,’ उनले भने । उनले क्याम्पसलाई राजनीतिबाट टाढै राख्नुपर्ने बताए । कार्यक्रममा सहभागी अन्य सरोकारवालाहरूले समय सापेक्ष सुर्खेत क्याम्पस शिक्षा परिवर्तन हुँदै जानुपर्ने बताउँदै व्यवस्थापन संकायलाई पनि यस क्षेत्रकै नमुना गराउने गरी अघि बढ्न सुझाएका थिए ।
प्रकाशित मितिः २३ माघ २०७७, शुक्रबार ०९:२७
साझा बिसौनी ।