माइक्रोसफ्ट च्याम्पियनसीपमा सहभागिताको अवसर

सूचना प्रविधि क्षेत्रको विश्वमै हुने ठूलो प्रतियोगितामध्येको माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्र्ड च्याम्पियनसीपमा कर्णालीले पनि सहभागिता जनाउने भएको छ । प्रतियोगितामा कर्णाली प्रदेशका विद्यार्थीहरूले पनि प्रतिस्पर्धा गर्ने भएका हुन् । डेलाइट आईटी इन्स्टिच्यूट एण्ड ट्रेनिङ सेन्टरले कर्णालीका विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराउन लागेको हो ।

माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्र्ड च्याम्पियनसीप विश्वभरका मुलुक सहभागी हुने प्रतियोगिता हो । उक्त प्रतियोगितामा सहभागी विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावर पोइन्टमा सीप परीक्षण गरिन्छ ।

सहभागी विद्यार्थीले माईक्रोसफ्ट सर्टिफिकेशन पाउँछन् । प्रतियोगिता जिल्ला, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर तीन तहमा हुने सेन्टरका सञ्चालक तथा माईक्रोसफ्ट अफिस स्पेशलिष्ट डिष्ट्रिक अपरेसन म्यानेजर प्रकाश खनालले बताए । उनका अनुसार प्रतियोगितामा १३ वर्ष पूरा भइ २२ वर्ष ननाघेका विद्यार्थीले सहभागी हुन पाउनेछन् । जिल्लास्तरका विजेताहरू राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धाका लागि पोखरा जान पाउँनेछन् । पोखरामा हुने राष्ट्रिय प्रतियोगितामा ७७ वटै जिल्लाका विजेताहरूबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक विधाका दुई जना गरी शीर्ष ६ जना विद्यार्थी वल्र्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको ओर्लान्डो, फ्लोरिडा जान पाउने म्यानेजर खनालले बताए । प्रतियोगितामा सहभागी हुनका लागि फागुन २० गतेभित्र फारम भर्नुपर्ने बताइएको छ । सहभागीलाई तालिमको व्यवस्था आयोजक संस्थाले गर्ने छ ।

कार्यक्रम संयोजक पदम खनालले कोरोना संक्रमणका कारण पछिल्लो समय विद्यार्थीहरू अनलाइन कक्षामा अभ्यस्त भइराखेकाले प्रतियोगितामा विद्यार्थीहरूलाई त्यसको फाइदा पुग्ने बताउँछन् । विश्वकै ठूलो प्रतियोगितामा सहभागी हुन पाइने, देश–विदेशका विद्यार्थीहरूसँग साक्षात्कार गर्न पाइनेलगायतका फाइदाहरू रहेको उनले जनाए । विगत १८ वर्षदेखि भइरहेको प्रतियोगितामा सन् २०२० मा मात्रै एक सय ३५ देशका १० लाख भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । नेपालले २०१३ मा वल्र्ड च्याम्पियनसीपको उपाधिसमेत प्राप्त गरेको थियो ।

प्रकाशित मितिः   २३ माघ २०७७, शुक्रबार ०९:२६