नेमकिपाद्वारा कार्यकर्ता रिहाइको माग

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जिल्ला समिति सुर्खेतले आफ्ना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । गत माघ १६ गते मालपोत कार्यालय सुर्खेतमा पुगेका नेमकिपाका पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । सेवाग्राहीको काममा ढिलासुस्तीबारे बुझ्न गएका कार्यकर्तालाई विना पक्राउ पूर्जी नियन्त्रणमा लिएको भन्दै नेमकिपाले उनीहरूको विनाशर्त रिहाइको माग गरेको हो ।

बिहीवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नेमकिपाका जिल्ला अध्यक्ष हरिबहादुर बोहोराले गोविन्दनाथ योगी, यामनाथ योगी, शेर्जु शाह, गणेश खड्का र गङ्गनाथ योगीलाई अनाहकमा प्रहरीले नियन्त्रणमा लिएको दाबी गरे । ‘उहाँहरूलाई विना पक्राउ पूर्जी हिरासतमा राखिएको छ । यो निन्दनीय कार्य हो,’ उनले भने, ‘जनताको काममा सहयोग गर्न सरकारी कार्यालय पुगेकै निहुँमा कसैलाई पक्राउ गर्न पाइँदैन ।’

नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले पक्राउ पूर्जी विना कसैलाई पनि हिरासतमा राख्नु कानून विपरीत भएको बताए । ‘लोकतन्त्रमा विरोध गर्नेलाई हिरासतमा लिने सरकारी रवैया गलत छ,’ उनले भने, ‘सेवाप्रदायक निकायमा खबरदारी गर्दा अनाहकमा प्रहरी प्रशासनको आडमा बदला लिइयो ।’ उनले पक्राउ परेका सबैलाई विना शर्त रिहा नगरे आफूहरू थप आन्दोलित हुने चेतावनी दिए ।

प्रकाशित मितिः   २३ माघ २०७७, शुक्रबार ०९:२५