६ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) का थप ६ जना संक्रमित भेटिएका छन् । बिहीवार ३६ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएका हुन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका तीन, दैलेखका दुई र अन्य प्रदेशका एक जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या सात हजार पाँच सय २२ पुगेको छ ।

यस्तै तीन जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या सात हजार तीन सय पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार सक्रिय संक्रमितको संख्या एक सय ९२ रहेको छ । हालसम्म कोरोना संक्रमण देखिएका ३० जनाको मृत्यु भइसकेको छ ।

यस्तै, नेपालमा थप एक सय ७१ जनामा कोरोना पुष्टि भएको छ । योसहित देशभर हालसम्म दुई लाख ७१ हजार ६ सय दुई जनामा कोरोना देखिएको छ । संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६७ हजार दुई सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण दुई हजार ३३ जनाको ज्यान गएको छ । अहिले देशभर दुई हजार दुई सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मितिः   २३ माघ २०७७, शुक्रबार ०९:२५