प्रदेशसभाको स्थापना दिवसमा सांसदकै न्यून उपस्थिति

कर्णाली प्रदेशसभाले बुधवार प्रदेशसभाको स्थापना दिवस मनायो । प्रदेशसभा सचिवालयले आयोजना गरेको औपचारिक कार्यक्रममा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सहभागी थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरूको भने न्यून उपस्थिति थियो । प्रदेशसभाको यो तेस्रो दिवस हो । गत वर्ष दिवसको अवसरमा आयोजित समारोहमा पनि प्रदेशसभा सदस्यहरू कमैले उपस्थिति देखाएका थिए ।

कर्णाली प्रदेशसभामा ४० जना प्रदेशसभा सदस्य छन् । तीमध्ये आफ्नै संस्थाको स्थापना दिवसमा १० जनाभन्दा कम मात्र सहभागी भएका हुन् । अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा) को आन्तरिक विवादले प्रदेश सरकार र प्रदेशसभामा समेत प्रभाव पारेको छ । नेता तथा कार्यकर्ता नेकपाका दुई समूहमा विभाजित छन् ।

कर्णाली प्रदेशसभाका अधिकांश सदस्यहरू पछिल्लो समय जिल्ला तथा स्थानीय तहमा हुने पार्टी गुटका कार्यक्रममा व्यस्त देखिन्छन् । दैनिकजसो भेला तथा आमसभाको दौडाहामा रहेका उनीहरूले प्रदेशसभा दिवसको भने बेवास्ता गरेका हुन् । कार्यक्रममा उपस्थित नागरिक समाजका अगुवा पीताम्बर ढकालले आफ्नै संस्थाको स्थापना दिवसमा समेत मन्त्री र प्रदेशसभा सदस्यहरूको न्यून उपस्थिति देखिनु आश्चर्यजनक भएको बताए । उनी भन्छन्, ‘कार्यक्रममा मुख्यमन्त्री बाहेक मन्त्रीहरू पनि दुई जना मात्रै देखिनुभयो । अर्कोतर्फ सांसदहरूको उपस्थिति झनै न्यून देखे । प्रमुख प्रतिपक्ष दलको त जम्मा दुई तीन जना सांसद उपस्थित हुनुहुन्थ्यो ।’ उनीहरूलाई निम्तो नभएर या असहमति भएकाले पनि कार्यक्रममा नआएको हुनसक्ने ढकालले बताए ।

प्रदेशसभामा नेकपाका ३३, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना प्रदेशसभा सदस्य छन् । तर, नेकपा र नेपाली कांग्रेसका केही सासंद उपस्थित भए पनि राप्रपाको भने उपस्थिति थिएन । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसमेत दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएनन् ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेशसभाका सबै सदस्यलाई खबर गरिए पनि नआएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सचिव जीवराज बुढाथोकीले उपस्थितका लागि सबैलाई खबर गरिएको बताए । ‘किन आउनु भएन भन्ने थाहा भएन । खबर सबैलाई गरिएको हो,’ उनले भने ।

प्रदेशसभाका हालसम्म ६ वटा अधिवेशन बसेका छन् । यो अवधिमा प्रदेशसभामा ७१ वटा विधेयकहरू दर्ता भएका छन् । त्यसमध्ये ३६ वटा विधेयक पारित भएर प्रदेश प्रमुुखबाट प्रमाणीकरण भइसकेका छन् । प्रदेशसभामा निर्णय भइ विषयगत समितिमा सात वटा विधेयक छलफलमा छन् भने सात वटा विधेयक दर्ता भइ प्रदेशसभामा टेबुल हुन बाँकी छ । एउटा विधेयक भने फिर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको बजेट अधिवेशन गएको कार्तिक ८ गते अन्त्य भएको थियो । लामो समय बितिसक्दा पनि सरकारले हिउँदे अधिवेशन कहिले बोलाउने भन्नेबारे तयारी भने गरेको छैन । सुरूमा कोरोना महामारी र पछिल्लो समय सत्तारुढ दल नेकपाको विवादले प्रदेशसभाको बैठक प्रभावित पारेको हो ।


भूमिका प्रभावकारी बनाउन सुझाव

प्रदेशसभा गठन भएको अवसरमा प्रदेश सचिवालयले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अतिथि वक्ताहरूले शुभकामना दिँदै प्रदेशसभाको भूमिका थप प्रभावकारी बनाइनुपर्ने सुझाएका छन् । प्रदेश प्रमुख कलौनीले प्रदेशको विकासका लागि तीन वटै तहको सहकार्य र समन्वय हुन आवश्यक रहेको औंल्याए । उनले विकासका दृष्टिले पछि परेको कर्णाली प्राकृतिक रूपमा सम्पन्न भएकाले जलविद्युत, जडिबुटीलगायतको क्षेत्रमा स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । नागरिकमा पनि विकास हाम्रो लागि हो भन्ने भावना हुनुपर्ने र सबैको एकताबाट मात्र विकास र समृद्धिले सार्थकता पाउने उनको भनाइ थियो । प्रदेशसभाले यस अवधिमा महŒवपूर्ण विधेयकहरू पारित गरेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रभावकारी रूपमा अघि बढ्न शुभकामना दिए ।

यस्तै कार्यक्रममा मुख्यमन्त्री शाहीले अहिलेसम्म प्रदेशसभाले गरेका कामहरू सन्तोषजनक नै रहेको बताए । उनले भने, ‘धेरै निराश हुनुपर्ने अवस्था छैन । हामीसँग आफ्नै संरचना थिएनन् । धेरै व्यवस्थापन गरेका छौं । अब हामीले समग्र विकासका लागि प्रदेशसभा र सरकारबाट महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।’ उनले प्रदेशसभाले कानुन निर्माणसँगै सरकारलाई सकारात्मक आलोचना र सुझाव पनि दिनुुपर्ने बताए ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले विकासले गति लिन नसकेको भन्दै आलोचना गरे । उनले अहिले दलीय स्वार्थले परिस्थिति जटिल बन्दै गएको बताए । प्रतिपक्ष दलले प्रदेशसभा र सरकारलाई कति सहयोग र सचेत गराएको छ, यो कुरा सरकारलाई नै थाहा भएको भन्दै उनले सरकारको आलोचना गरे । उनले सरकारले स्थानीय दिवसहरू मनाइरहँदा राष्ट्रिय एकता दिवस र सहिद दिवसको बेवास्ता गरेको बताए ।

त्यस्तै, सभामुख राजबहादुर शाहीले प्रदेशसभा शून्य अवस्थाबाट परिपक्व हुुने स्वरूपमा आएको बताए । सभामुख शाहीले प्रदेशसभाबाट कानुुन निर्माणसँगै सरकारले गरेका गतिविधिहरूको निगरानी भइरहेको जनाए ।

प्रकाशित मितिः   २२ माघ २०७७, बिहीबार १३:१६