सडकमा अराजकता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले बिहीवार आमहड्तालको आयोजना ग¥यो । संवैधानिक आयोगमा बलजफ्ती गरिएको नियुक्त र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा भनिएको बन्द आह्वानले मुलुक नै प्रभावित बन्यो । व्यापार–व्यवसायदेखि यातायातसम्म बन्द भए । जनजीवन पूर्णतः प्रभावित बन्यो ।

मुलुकले एकातिर कोरोना भाइरस (कोभिड–१९)को कहर बेहोरिरहेको छ भने सँगसँगै राजनीतिक संकट खेप्नु परिरहेको छ । सरकारको नेतृत्व गरिरहेको नेकपाभित्रको अन्तरकलहले देशलाई संकटको अवस्थामा ल्याइपु¥याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अवस्था फेरिएको छ । उक्त विषय अहिले सर्वोच्च अदालतमा छ । संवैधानिक इजलासमा बहस जारी छ । आयोगको निर्णयले वर्तमान गतिरोधलाई कुनै दिशा दिने नै छ । तर त्यसको असर अहिले नागरिकले भोगिरहेका छन् । नेकपाकै एउटा पक्ष आन्दोलित छ । सडकमा उत्रिएको छ । देशव्यापी विरोधसभा लगायतका कार्यक्रम गर्दै आएको दाहाल–नेपाल पक्षले बिहीवार भने एक्कासी आमहड्तालको आह्वान ग¥यो । आमहड्ताल र बन्द विरोधको एक शैली हो । यो विगतमा पनि पटक–पटक हुँदै आएको छ । तर यसको चौतर्फी विरोध पनि हुने गरेको छ । बन्दलाई सधैंका लागि बन्द गर्नुपर्ने र यसको विकल्प खोज्नुपर्ने माग उठ््ने गरेको छ । यद्यपि सत्तास्वार्थमा तल्लीन राजनीतिक दलहरूले आफ्नो स्वार्थअनुकूल यसलाई प्रयोग गर्ने गरेका छन् । त्यसैको पछिल्लो दृष्टान्त हो, बिहीवारको नेपाल बन्द ।

यतिबेला नागरिक यसै पनि समस्यामा छन् । पीडामा छन् । कोभिडका कारण रोजगारी गुमेका मजदुरवर्ग अझै पनि भोकै छन् । ऋण गरेर देशभित्रै रोजगारी गरिरहेका युवा झनै ऋणको चपेटामा डुबेका छन् । देशमा अवसर नपाएरै कोभिडको डर हुँदाहुँदै पनि दिनानुदिन युवाहरू विदेश गइरहेका छन् । विकास निर्माणका काम अझै अलपत्र अवस्थामै छन् । कोभिडका कारण बन्द भएका शैक्षिक संस्थाहरू पूर्णरूपमा सञ्चालन हुन सकेका छैनन् । बाढीपीडितदेखि आगलागी पीडितहरूले राहत पाएका छैनन्, पुनस्र्थापना हुन सकेको छैन । कृषकहरूले अझै पनि उचित मूल्य पाउन सकेका छैनन् । यस्ता यावत समस्याले नागरिक घेरिएका बेला राजनीतिक दलहरू भने झगडामा रुमलिएका छन् । त्यसको परिणाम नागरिकलाई नै सास्ती भइरहेको छ ।

जोकसैले जुनसुकै कारणले गरेको भए पनि बन्द गलत हो । आमहड्ताल नागरिकका लागि हुँदै होइन । यसले कसैको हित गर्दैन । बन्दको कारण सबैभन्दा मर्कामा श्रमिक तथा मजदुरहरू पर्दछन् । विद्यार्थीले पढ्न नपाउने, उद्योगी–व्यवसायीले पेशा गर्न नपाउने, यात्रुहरू आफ्नो गन्तव्यमा पुग्न नपाउने, आफ्ना उत्पादन बजार लैजान नपाउने र मानिसहरूले बजारमा उपलब्ध वस्तु किनेर उपभोगसमेत गर्न नपाउने अवस्था सिर्जना गरेर बन्दकर्ताहरूलाई पनि कुनै फाइदा पुग्दैन । अर्कोतर्फ बन्द सफल पार्न गरिने तोडफोड र अराजक गतिविधिले ठूलो क्षति पु¥याइरहेको हुन्छ । त्यसैले सर्वत्र नोक्सान पु¥याउने बन्द र हड्तालको साहारा कसैले लिनु हुँदैन । यसको अन्त्य र विकल्प खोज्नु नै उत्तम हो ।

प्रकाशित मितिः   २३ माघ २०७७, शुक्रबार ०९:२३