सुरक्षा व्यवस्था कडा पारिँदै

सरकारका पछिल्ला कदम तथा संवैधानिक निकायमा गरेको नियुक्तीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीवार (आज) आमहड्तालको घोषणा गरेको छ । उनीहरूले यातायात, बजार, उद्योग, कलकारखाना, शैक्षिक संस्थालगायत क्षेत्र बन्द गर्न आह्वान गरेका छन् । सोही हड्ताललाई लक्षित गर्दै नेपाल प्रहरीले भने आमहड्तालका नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएको छ । प्रहरीले बन्दको नाममा हुने उच्छृंखल गतिविधि रोक्न सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको हो ।

नागरिकको सुरक्षार्थ प्रहरीले आज सामान्य अवस्थाभन्दा बढी जनशक्ति परिचालन गर्ने जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशका सबै जिल्लामा सुरक्षाकर्मीहरू परिचालन गर्ने भएको हो । कार्यालयका प्रवक्ता माधव श्रेष्ठले विशेष गरेर बजार क्षेत्र र राजमार्गहरूमा सुरक्षा व्यवस्था कडा पारिने बताए । ‘पहिलेको तुलनामा बढी सुुरक्षाकर्मीहरू परिचालन हुन्छन् । गैरकानुनी काम गर्नेलाई कारबाहीको दायरामा ल्याइन्छ ।’ उनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुुखले आवश्यकता अनुुसार सुरक्षा व्यवस्था मिलाउने र थप सुरक्षाकर्मी चाहिए प्रदेशबाट पनि सहयोग गरिने बताए ।

प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरे पनि गैरकानुनी क्रियाकलाप गरे नियन्त्रणमा लिएर कारबाही गरिने प्रहरीको भनाइ छ । प्रहरीले हड्ताललाई लक्षित गरी आवश्यक आकस्मिक सुरक्षा योजनासमेत बनाएको छ ।

प्रकाशित मितिः   २२ माघ २०७७, बिहीबार १३:१३