स्थानीय तहमा सौर्य ऊर्जा

कर्णाली प्रदेशका पाँच वटा स्थानीय तहमा सौर्य प्रणालीबाट विद्युत उत्पादन गरिने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ती पालिकामा सौर्य ऊर्जा प्रणाली जडान गरिने भएको हो । केन्द्रको अनुदान र स्थानीय तहको स्वामित्वमा रेखदेख गर्ने गरी सौर्य विद्युत जडान गर्न लागिएको छ । केन्द्रले तीन महिनाभित्र सौर्य विद्युत प्रणाली जडान गर्न लागेको बताएको छ ।

जुम्लाको तिला गाउँपालिका–६ को पोखरीगाउँमा ५०, गुठीचौर गाउँपालिका–२ मुरेलीगाउँमा ५०, मुगुको सोरु गाउँपालिका–६ सोरुकोटमा ६०, बारेकोट गाउँपालिका–५ को लिम्सामा एक सय ७० र कालीकोटको रास्कोट नगरपालिका–९ फुकोटमा ७५ किलोवाट सौर्य प्रणालीबाट विद्युत उत्पादन गर्ने तयारी थालिएको हो । तिलामा ३३ लाख, गुठीचौरमा सौर्य विद्युत उत्पादन गर्न ३५ लाख, सोरुमा ३५ लाख, रास्कोटमा ५० लाख र बारेकोटमा ९५ लाख रकम विनियोजन भएको केन्द्रले जनाएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ९० र स्थानीय तहले १० प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए । ‘बोलपत्रका लागि सूचना आह्वान भइसकेको छ । तीन महिनाभित्र सौर्य प्रणाली जडान हुन्छ’, उनले भने, ‘सौर्य विद्युत प्रणालीले नगरपालिकाभित्रका सबै घरधुरी लाभान्वित हुनेछन् ।’ विद्युतको राष्ट्रिय प्रसारण लाइनसँग नजोडिएको कर्णालीमा विद्युतको पहुँच वृद्धि गर्ने उद्देश्यले केन्द्रको सहयोगमा सौर्य प्रणालीबाट बिजुली उत्पादनको सम्झौता भएको हो । त्यसैअनुसार निर्माणको काम पनि अगाडि बढेको गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल प्याकुरेलले बताए । उनका अनुसार केन्द्रसँग गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडानका लागि सम्झौता गरिसकेको छ ।

प्रकाशित मितिः   २१ माघ २०७७, बुधबार ०९:२६