असुरक्षित राजधानी

कर्णाली प्रदेश राजधानीमै पछिल्लो समय व्यवसायमा असुरक्षा बढ्दो छ । दैनिकजसो चोरीका घटना हुन थालेका छन् । यसले व्यवसायीहरूलाई त्रसित बनाएको छ । कमजोर सुरक्षा व्यवस्थाका कारण व्यवसायको लगानी असुरक्षित बनेको हो । साना तथा ठूला पसलहरूमा श्रृंखलाबद्ध रूपमा चोरी भइरहेका छन् । यसले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाउन थालिएको छ । पसल चोरीको घटनालाई प्रहरीले नै सामान्य रूपमा लिँदा आफूहरू असुरक्षित बन्दै गएको व्यवसायीहरूको आरोप छ । दिनप्रति दिन घटना बढ्दै गए पनि प्रहरीले चोरीमा संलग्नहरूलाई पक्राउ गरेका अत्यन्त न्यून उदाहरण मात्रै छन् । यसले गर्दा चोरहरूको मनोबल झनै बढेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पछिल्लो चार वर्षको अवधिमा जिल्लामा एक सय नौ वटा चोरीका घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा चोरीका १६ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।

दिनहुँ बजार क्षेत्रका घर तथा पसलहरूमा चोरी भइरहँदा सुरक्षा निकायको ध्यान गएको छैन । चोरी भइरहेको सीसी टीभी फुटेजसहित प्रहरीमा उजुरी गर्दा पनि चोरीमा संलग्न व्यक्तिहरू पक्राउ नपर्नुले सुरक्षा निकायकै अक्षमता देखाएको छ । प्रहरीको फितलो अनुसन्धानले चोरीमा संलग्नहरू उम्किने गरेका हुन् । व्यावसायिक सुरक्षा तथा आपराधिक घटना न्यूनीकरणका लागि मुख्य बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेराको मनिटरिङ कक्ष जिल्ला प्रहरी कार्यालयमा नै छ । सीसी क्यामेरामा कैद भएका चोरीका घटनासमेत प्रहरीले अनुसन्धान गर्न नसक्नु विडम्वनापूर्ण छ । अधिकांश चोरीका घटनामा संलग्न व्यक्ति प्रहरीभन्दा स्थानीयको पहलमा नै पक्राउ हुने गरेका छन् ।

सीसी क्यामेरा बजार क्षेत्रको सुरक्षाकै लागि जडान गरिएको हो । यसले प्रहरीलाई अनुसन्धानमा सघाउ पु¥याउँछ । तर वीरेन्द्रनगरका सीसी क्यामेरा भने प्रभावकारी भइरहेका छैनन् । बजार क्षेत्रमा जडान गरिएका केही क्यामेराहरू अहिले बिग्रिएको अवस्थामा छन् । यही मौकामा चोरीका घटना बढेको देखिन्छ । वीरेन्द्रनगर बजारका मुख्यचोकमा ८७ वटा सीसी क्यामेरा जडान गरिएको छ । प्रहरीका अनुसार हाल ५२ वटा क्यामेरा मात्र सञ्चालनमा छन् । क्यामेरा मर्मतमा नगरपालिकाले चासो नदिँदा झनै असुरक्षा बढेको हो । बिग्रिएका क्यामेरा मर्मतमा ध्यान नदिनु नगरपालिकाको गैरजिम्मेवारी हो ।

कर्णाली यसै पनि लगानीमा पछि परेको क्षेत्र हो । औद्योगिक विकास अपेक्षाकृत रूपमा हुन सकिरहेको छैन । यहाँको अर्थबजारलाई साना व्यवसायहरूले नै धानिरहेका छन् । यस्तोबेलामा यस्तै साना व्यवसाय नै असुरक्षाले घेरिँदा चुनौती बढेको छ । सुरक्षित वातावरण सिर्जना नभएसम्म व्यक्तिले व्यवसायमा लगानी गर्न सक्दैन । त्यसैले भौतिक क्षति तथा चोरीजस्ता घटनाहरूबाट व्यावसायिक सुरक्षाको ग्यारेण्टी गर्नु राज्यको दायित्व हो । यसमा स्थानीय प्रशासनको भूमिका महŒवपूर्ण हुन आउँछ । तर सानातिना चोरीका घटनालाई बेवास्ता गर्दै जाँदा यसले ठूलो रूप लिँदै जान्छ । त्यसैले बजार क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउनु आवश्यक छ ।

प्रकाशित मितिः   २१ माघ २०७७, बुधबार ०९:२४