कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमवार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ । वैशाख र जेठमा नै लिइने कक्षा १२ को परीक्षा यसपालि कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । मंसिर ९ देखि १६ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । संक्षिप्त परीक्षाको प्राप्ताङ्क शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्ताङ्क बोर्डका प्रदेश कार्यालयहरूबाटै नतिजा प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो । यसअघि उत्तरपुस्तिका प्रदेश कार्यालयमा परीक्षण गरेर बोर्डको केन्द्रीय कार्यालयमा मात्रै इन्ट्री गरिन्थ्यो । कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्ताङ्क र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा १२ को मूल्याङ्कन गर्ने निर्णय गरेको थियो ।

प्रदेश कार्यालयले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री गराएपछि केन्द्रीय सर्भरमा नम्बर इन्ट्री गरिएको बोर्डले जनाएको छ । यस पटक देशभरका चार हजार एक सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसअघि एक हजार एक सय परीक्षा परीक्षा केन्द्रमा मात्रै परीक्षा हुन्थ्यो । कोरोना महामारीबीच चार लाख ३२ हजार पाँच सय परीक्षार्थी सहभागी थिए । नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिट लगायतको प्रमाणपत्र दिनेछ । कक्षा १२ को नतिजामा ढिलाइ भए पनि विश्वविद्यालयहरूले स्नातक तहमा भर्ना खोलिसकेका छन् । २०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ्ग पद्धतिका आधारमा निकालिँदै आएको छ ।

प्रकाशित मितिः   २० माघ २०७७, मंगलवार ०९:११