विकास साझेदारसँग छलफल

कर्णाली प्रदेश योजना आयोगले एकद्वार प्रणालीद्वारा कार्यक्रम सञ्चालन र कार्यान्वयन गर्न विकास साझेदारहरूसँग अन्तरक्रिया गरेको छ । कर्णाली प्रदेशमा कार्यरत विकास साझेदारहरूसँग सोमवार वीरेन्द्रनगरमा छलफल गरिएको हो ।

एकद्वार प्रणालीबाट लगानी गर्नका लागि छलफल गरिएको हो । यसले योजना र कार्यक्रमको दोहोरोपना हट्ने जनाइएको छ । कर्णाली प्रदेशलाई कार्यक्षेत्र बनाइ कार्यक्रम सञ्चालन गरिरहेका साझेदारहरूको कार्यक्रम र कार्यान्वयन अवस्थाका बारेमा जानकारी आदान–प्रदान गर्ने, विकास साझेदारहरूका कार्यक्रमहरूलाई सरकारका योजना तथा कार्यक्रममा मूलप्रवाहीकरण गर्ने र कार्यक्रम कार्यान्वयनमा रहेको दोहोरोपना, समन्वय र प्रतिवेदनको अवस्थाबारे छलफल गरिएको प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायाले जानकारी दिए ।

कार्यक्रममा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले कर्णाली प्रदेशमा कार्यरत सरोकारवालाहरूको कार्यक्रम कार्यान्वयनको अवस्था बारेमा जानकारी प्रस्तुत गरेका थिए । आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले कर्णालीको आवश्यकता र महत्वसँग जोडिएका योजना तथा कार्यक्रम ल्याउन विकास साझेदार संस्थाहरूलाई आग्रह गरे ।

कर्णालीको लगानी सम्मेलनमा सामाजिक क्षेत्रमा गरिने लगानीका लागि विकास साझेदारहरूबाट सहयोग आवश्यक भएको कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीले बताए । उनले नमुना परियोजनामा साझेदार गरी कर्णालीको काम गरेर अगाडि बढेमा प्रभावकारी हुने विचार व्यक्त गरे ।

कार्यक्रममा सहभागी विकास साझेदार संस्थाका प्रतिनिधिहरूले आगामी योजना निर्माण तथा कार्यान्वयनमा एकरूपता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा भाग लिँदै किसान परियोजनाका कलष्टर म्यानेजर नवराज आर्चायले कर्णाली प्रदेशमा विकास साझेदारहरूले आफ्नो लगानी गर्दा दोहोरोपन नहुने तथा प्रदेश सरकारले तयार गरेको मोडेलमा आगामी योजना निर्माण तथा कार्यान्वयनमा एकरूपता हुने गरि काम गर्ने बताए ।

प्रकाशित मितिः   २० माघ २०७७, मंगलवार ०९:०९