समृद्धिको बाटोमा सुर्खेत, विकासले फड्को मार्दै

४० को दशकसम्म सुर्खेतबजार भनेर वीरेन्द्रनगरको गणेश चोकको पीपलचौतारा क्षेत्रलाई बुझिन्थ्यो । जब माओवादी द्वन्द्व सुरु भयो, सुर्खेतका ग्रामीण भेकका साथै कालिकोट, जुम्ला, जाजरकोट र दैलेखबाट धेरै सुर्खेत उपत्यका झर्न थाले । विस्तारै जनघनत्व बढ्न थाल्यो । कृषि उत्पादनको उर्वर भूमि उपत्यका धमाधम प्लटिङ गर्न थालियो । घर निर्माण क्रम हवात्तै बढ्यो । क्षेत्रीयस्तरका कार्यालय, शिक्षण संस्था स्थापना हुन थाले । गणेशचोकमा खुम्चिएको व्यापार–व्यवसाय क्रमशस् तल्लोबजार, बुद्धपथ, न्युरोड, मंगलगढी चोकसम्म फैलियो । कर्णाली राजमार्गको ट्रयाक खुलेपछि जुम्लारोडतर्फ पनि बजार फैलियो ।

‘सुर्खेतको इतिवृत्त’ नामक पुस्तकका लेखक सुशील शर्मा वीरेन्द्रनगरको विकासक्रम धेरै पुरानो नभएको बताउँछन् । ‘०१९ सालमा सरकारले औलो उन्मूलन गर्‍यो । यसअघि राजी र थारू जातिको मात्र बसोबास थियो,’ उनी भन्छन्, ‘०१८ सम्म दैलेखबाट अधिनस्थ थियो । गोठीकाँडाबाट सदरमुकाम सारिएको त धेरै पछि हो ।’ सुर्खेतले ०४७ को बहुदलीय व्यवस्थाको पुनस्स्थापनापछि विकासमा छलाङ मारेको हो ।

महाभारत चुरे शृंखलाको बीचमा अवस्थित सुर्खेत उपत्यका मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम हो । क्षेत्रीय अवधारणाका आधारमा प्रशासनकि सेवा प्रदान गर्ने उद्देश्यले तत्कालीन पञ्चायत सरकारले वीरेन्द्रनगरलाई सदरमुकाम घोषणा गर्‍यो । तैपनि, महत्त्वपूर्ण अड्डाहरू नेपालगन्ज स्थापना गरिए । केही वर्षसम्म सुर्खेत नाममात्रको सदरमुकाम बन्यो ।

रत्न राजमार्ग सञ्चालन, क्षेत्रीयस्तरका कार्यालय स्थापना, कर्णाली राजमार्गको जिरो प्वाइन्ट, एअरपोर्ट, शिक्षा क्याम्पस सुर्खेत विकासका आधारशीला भएको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक विष्णुकुमार खडका बताउँछन् । ‘मध्य तथा सुदुरपश्चिम क्षेत्रकै मुख्य क्याम्पस थियो शिक्षा क्याम्पस । त्यतिबेला शिक्षा संकाय पढ्ने लहरै चलेको थियो’ खड्का भन्छन्, ‘विकासक्रम यो क्याम्पसले पनि ठूलो योगदान पुर्‍याएको छ ।’

शैक्षिक राजधानी
वीरेन्द्रनगर मध्यपश्चिमको प्रशासनिकमात्र नभई शैक्षिक राजधानीका रुपमा विकसित भएको छ । त्यतिबेलाको शिक्षा क्याम्पसले सुर्खेतलाई पश्चिम क्षेत्रमै चिनाउन मद्दत पुर्‍यायो । स्थानीयका अनुसार सयौं विद्यार्थी शिक्षा क्याम्पस पढ्न सुर्खेत आउँथे । अहिलेजस्तो गाउँ त के जिल्लामा समेत क्याम्पस थिएनन् । वीरेन्द्रनगर बहुमुखी क्याम्पस स्थापना भयो । थुपै्र सरकारी र निजी स्कुल टोलटोलमा खुल्न थाले ।

सशस्त्र द्वन्द्वले गाउँमा बस्न असहज भएपछि धेरैले आफ्ना बालबच्चालाई यहाँकै स्कूलमा पढाउन थाले । यसले गर्दा सुर्खेतमा बोर्डिङ स्कूलको माग पनि बढ्यो । विश्वविद्यालयको आफ्नो प्रशासनिक भवनका अतिरिक्त विभिन्न संकायका बेग्लाबेग्लै भवन बन्दै छन् । अघिल्लो सरकारले सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न बजेट विनियोजन गरेपछि यहाँ थप उत्साह थपिएको छ ।

व्यापारिक क्षेत्र
नेपालगन्ज, राजापुरलगायत बजारमा हाट गएको सम्झने यहाँ धेरै छन् । पहाडबाट हप्तौं लगाएर हिँडेरै भारी बोकेर हाट जानुपर्ने बाध्यता थियो । भटमास, सिमी, घिउलगायत उत्पादन बेच्न लिने र, तराईबाट नुन, चिनी ल्याउने गरिन्थो । मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही नेपालगन्ज–सुर्खेत सडक सञ्चालनमा आएपछि हाट जानुपर्ने बाध्यता हटेको बताउँछन् ।

‘बबई तरेर जानुपथ्र्यो । दैलेखबाट हिँडेर नेपालगञ्ज पुगी फर्कंदा १५ दिन लाग्थ्यो,’ उनी भन्छन्, सुर्खेतमा बजार बढेपछि त्यो टर्‍यो ।’ केही वर्ष अघिसम्म अधिकृत बिक्रेता नहुँदा स्थानीय व्यवसायी नेपालगन्ज, बुटवल पुग्नुपथ्यो । अचेल सबैजसो सरसामानको अधिकृत बिक्रेता यहाँकै व्यापारी छन् । ‘दैनिक प्रयोगमा आउने सबै सामान, उपकरण सिधै यहाँबाटै खरिदबिक्री हुने गरेको छ,’ शाही भन्छन्, ‘कर्णालीका साथै अछाम, जाजरकोट र दैलेख जिल्लाका व्यापारीलाई धेरै सहज भएको छ ।’

वीरेन्द्रनगरमा वर्षेनि जनघनत्व बढ्दै गएपछि तीव्र सहरीकरण भएको छ । टोल–टोलमा पसल खुल्ने क्रम उस्तै छ । खुद्रा खाद्यान्नदेखि अटो पार्टसका पसलहरू धमाधम सञ्चालनमा छन् । ठूला होटलहरूमा लगानी बढ्दो छ । मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य संघ अध्यक्ष पदमबहादुर शाही बृहत् औद्योगिक क्षेत्र, क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल, भेरी बबई डाइर्भसन, भेरी करिडोर, चौकुने सिमेन्ट, जलविद्युतजस्ता ठूला परियोजना सुर्खेतको कायापलट हुने दाबी गर्छन् ।

इकान्तिपुरबाट

प्रकाशित मितिः   ९ मंसिर २०७३, बिहीबार १६:४४