दीर्घकालीन विकल्प
वीरेन्द्रनगर उपत्यकामा खानेपानीको पर्याप्त स्रोत छैन । इनारको पानी एउटा विकल्प हो भने त्यसबाहेक झुप्राखोला र केही सहायक खोलाहरूबाट ल्याइएको पानी नै खानेपानी उपलब्ध गराउने मुख्य स्रोत हो । तर यो पर्याप्त छैन । उपत्यका आसपासका विभिन्न स्रोतबाट उपलब्ध पानीले अहिले वीरेन्द्रनगरको पानीको माग धान्न सकिरहेको छैन । जसले गर्दा बेलाबखत खानेपानीको हाहाकार हुने गर्दछ । विशेष गरेर गर्मी मौसममा पानीको समस्याले सधैं सताउँछ ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले यहाँ पानी वितरण गर्छ । हाल उपत्यकामा वितरण हुँदै आएको पानी एक सय ५७ लिटर प्रतिसेकेण्ड हो । पानीको माग भने आपूर्तिभन्दा दोब्बर छ । उपत्यकामा दुई सय ५७ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्छ । अर्कोतर्फ माग बढ्दै छ । जनसंख्याको चाप बढेसँगै पानीको माग पनि बढ्दै गएको छ । प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा जनसंख्या चाप पनि बढेको छ । बस्ती बढ्दैछ । उपत्यकामा मात्र वर्षेनी आठ सयदेखि एक हजारसम्म घरधुरी थपिने गरेका छन् । जसलाई पुग्नेगरी पानीको स्रोत छैन । अहिलेकै अवस्थामा पनि १८ हजार घरधुरीलाई खानेपानीका धारा अपुग छन् । पाँच हजारभन्दा बढी घरका लागि धाराको माग गरिएका निवेदन संस्थामा थन्किएका छन् । यहाँ अहिले १८ हजार आठ सय ५० धाराहरूमार्फत पानी वितरण हुँदै आएको छ । गर्मीयाममा पानी आपूर्तिमा ५० प्रतिशतले कमी आउने गरेको छ । जसका कारण उक्त सिजनमा ९६ घण्टाको पालो लगाएर पानी वितरण गर्ने गरिएको छ ।
पानीको स्रोत थप्ने प्रयास भने नभएका होइनन् । तर दीर्घकालीन विकल्प भेटिएको छैन । यद्यपि पछिल्लो समय भने ‘भेरी पम्पिङ’ आयोजनाको काम अघि बढाइएको छ । उपत्यकामा बढ्दो खानेपानीको मागलाई आपूर्ति गर्न ठूलो लगानीमा भेरीको पानी ल्याइँदै छ । त्यसका लागि ‘भेरी पम्पिङ’ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अन्तिम चरणमा पुगेको छ । आगामी एक महिनाभित्रमा डीपीआरको काम सक्ने गरी तीव्रता दिइएको छ । यसले आशाको सञ्चार गराएको छ । वर्षेनी खानेपानीको संकट थपिँदै गएको समयमा दीर्घकालीन समाधानका लागि भेरी नदीको पानी नै एक मात्र विकल्प मानिएको छ । सोही अनुसार ‘भेरी पम्पिङ’ आयोजना निर्माणको काम अघि बढाइएको हो । आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्यालाई आधार मानी आयोजना निर्माण गर्न लागिएको बताइएको छ ।
वर्षौं पहिलेदेखि भेरीको पानी ल्याउने योजना बने पनि अब भने त्यसले सार्थकता पाउन लागेको हो । झुप्रा बृहत खानेपानी आयोजना बनाउँदादेखि नै भेरीको पानी उपत्यकाको दीर्घकालीन विकल्पको रूपमा हेरिएको थियो । यो ठूलो आयोजना हो । आर्थिक हिसाबले पनि ठूलो छ । भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन झण्डै सात अर्ब रूपैयाँ खर्च हुनेछ । यदी यो आयोजना निर्माण सम्पन्न भएको खण्डमा भने लामो समयसम्म उपत्यकावासीले खानेपानीको समस्या झेल्नुपर्ने छैन ।
प्रकाशित मितिः १९ माघ २०७७, सोमबार ११:१५
साझा बिसौनी ।