राजधानीमा कमजोर सुरक्षा

चोरीका घटनाले व्यवसायमा बढ्दो असुरक्षा

चोरीका घटनाले व्यवसायमा बढ्दो असुरक्षा

वीरेन्द्रनगर बजार कर्णाली प्रदेशकै प्रमुख व्यापारिक केन्द्र हो । यहाँ ठूला तथा साना लगानीका थुप्रै व्यवसाय सञ्चालनमा छन् । तर, व्यवसाय भने सुरक्षित छैनन् । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा दैनिकजसो चोरीका घटना हुन थालेका छन् । कमजोर सुरक्षा व्यवस्थाका कारण व्यवसायको लगानी असुरक्षित बनेको हो । प्रहरीको कमजोर सुरक्षा व्यवस्थापनले चोरीका घटना बढ्दै गएको व्यवसायीहरूको गुनासो छ ।

शनिवार राती वीरेन्द्रनगर–६ को न्यूरोडस्थित ट्रस्ट एजुकेशनल सेन्टरमा चोरी भयो । ५० हजार नगदसहित ल्यापटप लगायतका सामग्री चोरी भएको सञ्चालकको दाबी छ । उनले एजुकेशनल सेन्टरबाट करिब ढाई लाख बराबरको चोरी भएको बताएका छन् । चोरी भइसकेपछि नगरप्रहरी र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको सेन्टरका प्रबन्धक हरि कँडेलले बताए । ‘मेरो मात्रै होइन धेरै व्यवसायीहरूको पसल र अफिसहरूबाट दैनिक चोरी भइरहेको छ,’ उनले भने ‘चोरीमा संलग्नहरू भने पक्राउ पर्दैनन् ।’ चोरीको घटनालाई प्रहरीले नै सामान्य रूपमा लिँदा आफूहरू असुरक्षित बन्दै गएको उनले बताए । प्रहरीले चोरीमा संलग्नहरूलाई पक्राउ गर्न नसक्दा चोरहरूको मनोबल झनै बढेको उनी बताउँछन् । शनिवार राती मात्र बजारका चार स्थानमा चोरी भएको छ ।

वीरेन्द्रनगर–६ बुद्धपथको न्यौपाने सिसा एण्ड प्लाइबोर्ड पसलमा गत माघ १४ गते राती चोरी भयो । पसलमै भएको सीसी क्यामेरामा चोरी गर्दैगर्दाको फुटेज छ । उक्त फुटेज प्रहरीलाई दिइएको छ । तर, चोर भने पक्राउ नभएको प्रोप्राइटर बेदप्रसाद न्यौपानेले बताए । ‘प्रहरीले चाहेको भए चोर पक्राउ हुन्थ्यो,’ उनले भने, ‘चोरीको घटनालाई प्रहरीले बेवास्ता गर्दै आएको छ ।’ दिनहुँ बजार क्षेत्रका घर तथा पसलहरूमा चोरी भइरहँदा सुरक्षा निकायको ध्यान नगएको उनले बताए ।

पछिल्लो समय यसरी दैनिकजसो वीरेन्द्रनगरमा ठूला तथा साना व्यवसाय र घरहरूमा चोरी हुने गरेको छ । चोरीका घटना भइरहँदा पनि प्रहरीको सक्रियता नदेखिएको भन्दै जनगुनासो समेत बढेको छ । प्रहरीको फितलो अनुसन्धानले चोरीमा संलग्नहरू उम्किने गरेका हुन् । व्यावसायिक सुरक्षा तथा आपराधिक घटना न्यूनीकरणका लागि मुख्य बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेराको मनिटरिङ कक्ष जिल्ला प्रहरी कार्यालयमा नै छ । सीसी क्यामेरामा कैद भएका चोरीका घटनासमेत प्रहरीले अनुसन्धान गर्न नसकेको हो । अधिकांश चोरीका घटनामा संलग्न व्यक्ति प्रहरीभन्दा स्थानीयको पहलमा नै पक्राउ हुने गरेका छन् ।

बजार क्षेत्रमा जडान गरिएका केही क्यामेराहरू अहिले बिग्रिएको अवस्थामा छन् । यही मौकामा चोरीका घटना बढेको व्यवसायीहरू बताउँछन् । वीरेन्द्रनगर बजारका मुख्यचोकमा ८७ वटा सीसी क्यामेरा जडान गरिएको छ । प्रहरीका अनुसार हाल ५२ वटा क्यामेरा मात्र सञ्चालनमा छन् । क्यामेरा मर्मतमा नगरपालिकाले चासो नदिँदा झनै असुरक्षा बढेको उनीहरूको भनाइ छ ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले व्यवसायीहरू चोरीका घटनाले असुरक्षित बनेको बताए । दिनहुँ चोरीका घटना भइरहँदा व्यवसाय बन्द गरेर ढुक्कसँग घरमा बस्न सक्ने अवस्था नभएको उनी बताउँछन् । ‘लगानीको सुरक्षा गर्न गाह्रो भएको व्यवसायी साथीहरूबाट गुनासो आउने गरेको छ । यसका लागि प्रहरी प्रशासनमा पहल गर्ने काम गरिरहेका छौं,’ उनले भने । बजार क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउनु आवश्यक रहेको उनले औंल्याए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले सीसी क्यामेराले काम नगरेको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘अन्य पूर्वाधार विकासका क्रममा सीसी क्यामेराहरू बिग्रिएको हुनसक्छ,’ उनले भने, ‘प्रहरी कार्यालयमै मनिटरिङ कक्ष छ । उहाँहरूले क्यामेरा बिग्रिएको हामीलाई जानकारी गराउनु भएको छैन ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चार वर्षको अवधिमा जिल्लामा एक सय नौ वटा चोरीका घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा चोरीका १६ वटा घटना प्रहरीमा दर्ता भएका छन् । दैनिक चोरीका घटना हुने गरे पनि प्रहरीमा भने न्यून उजुरी पर्ने गरेका हुन् । प्रहरीलाई जानकारी गराउँदा पनि चोर पक्राउ पर्ने विश्वास नहुँदा न्यून उजुरी पर्ने गरेको स्थानीयहरूको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (प्रहरी उपरीक्षक) राजेन्द्र भट्ट चोरी नियन्त्रण गर्न विशेष योजना निर्माण गरी अगाडि बढेको दाबी गर्छन् । चोरीमा प्रायः नाबालकहरू संलग्न हुने गरेको पाइएको उनले बताए । ‘पक्राउ गरेर उनीहरूलाई सामान्य तारेखमा छोडिन्छ । फेरि चोरीहाल्छन्,’ उनले भने । लागूऔषध प्रयोगकर्ताहरू समेत चोरीमा संलग्न भए पनि सुर्खेतमा ठूलो चोरी गर्ने गिरोह भने नभएको उनको जिकिर छ ।

प्रकाशित मितिः   १९ माघ २०७७, सोमबार ११:१५