पाँच हजार बढीले लगाए कोरोना खोप

कर्णाली प्रदेशमा पाँच हजार बढीले कोरोना भाइरस ‐कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आइतवारसम्म पाँच हजार पाँच सय ५६ जनाले ‘कोभिसिल्ड’ खोप लगाएका हुन् । यही माघ १४ गतेदेखि प्रदेशका सबै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन सुरू गरिएको थियो । अहिलेसम्म सुर्खेतमा एक हजार ८४, दैलेखमा आठ सय ८४, जुम्लामा आठ सय ५८, रुकुम–पश्चिममा ६ सय २५, जाजरकोटमा तीन सय ३३, कालीकोटमा दुई सय ७५, डोल्पामा एक सय ४०, मुगुमा एक सय ३५, सल्यानमा सात सय ३३ र हुम्लामा ८९ जनाले खोप लगाएका हुुन् ।

पालिकास्तरमा रहेका खोप केन्द्रहरूबाट पनि खोप लगाइएको छ । अहिलेसम्म खोप लगाएकामध्ये २६ जनालाई सामान्य लक्षण देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्ताखाले सामान्य ‘साइड इफेक्ट’ अन्य खोप लगाउँदा पनि देखिने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘कोभिसिल्ड’ लगाएपछि शरीर दुख्ने, ज्वरो आउने जस्ता सामान्य लक्ष्ण देखिने गरेका हुन् । सरकारले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने व्यक्तिहरू, महिला स्वास्थ्य स्वयम्सेविका र सरसफाइ कार्यमा संलग्न कर्मचारीलाई प्राथमिकतामा राखेर पहिलो चरणको खोप अभियान चलाएको छ ।

संक्रमित एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण आइतवार कर्णाली प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखको गुराँस गाउँपालिका–५, का ६४ वर्षीय पुरुषको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । यही माघ ७ गते ज्वरो, खोकी, सास फेर्न कठिनाइ र टाउको दुख्ने समस्या भएपछि उनलाई प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले आवश्यक उपचार गरिएको भए पनि सुधार नभइ संक्रमितको मृत्यु भएको बताए । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको छ । महाशाखाका अनुसार हालसम्म सुर्खेतका १६, दैलेखका सात, सल्यान, रुकुम–पश्चिम, कालीकोट र डोल्पाका एक÷एक तथा अन्य प्रदेशका तीन जनाको मृत्यु भएको हो ।

प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार पाँच सय १३ पुगेको छ । सुर्खेतमा तीन हजार दुई सय ३४, दैलेखमा एक हजार ६ सय ८१, सल्यानमा ६ सय ९३, रुकुम–पश्चिममा दुई सय ५७, जुम्लामा चार सय १४, जाजरकोटमा एक सय ५९, कालीकोटमा तीन सय ३१, हुम्लामा ५९, मुगुमा ४१, डोल्पामा ४४, कर्णालीमै रहेका अन्य प्रदेशका पाँच सय ९५ र भारतका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये हालसम्म सात हजार दुई सय ९० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मितिः   १९ माघ २०७७, सोमबार ११:१३