सिटी बसपार्कमा सरसफाइ

सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा शनिवार सरसफाइ गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय र मिशन नेपाल राष्ट्र निर्माण अभियानकोे संयुक्त आयोजनामा सरसफाइ गरिएको हो । पार्कमा जथाभावी फालिएको प्लाष्टिकको बोतल, प्लाष्टिक लगायतका फोहोरको व्यवस्थापन गरिएको थियो । बसपार्क धेरै मानिसहरूको आवतजावत गर्ने स्थल भएकोले सरसफाइ गरिएको मिशन नेपाल राष्ट्र निर्माण अभियानका अध्यक्ष अर्जुन बुढाले बताए । उनले फोहोरले गर्दा विभिन्न रोगको संक्रमण हुनुका साथै बसपार्क दुर्गन्धित देखिने हुँदा आफूहरू सरसफाइमा जुटेको बताए ।

सरसफाइमा सहभागी विद्यार्थी तथा सामाजिक अभियन्ताहरूले बसपार्कको फोहोर व्यस्थापनको लागि स्थानीय तहलेसमेत ध्यान दिनुपर्ने औंल्याए । ‘बाहिरबाट आउने पर्यटकहरूले सुरूमा देख्ने भनेकै बसपार्क हो । ‘यस्ता सार्वजनिक स्थलहरू फोहोर भए राम्रो सन्देश जाँदैन,’ सरसफाइमा सहभागी एक विद्यार्थीले भने । उनले पैदल यात्री, सवारी चालकलगायतले जथाभावी फोहोर गर्न नहुने बताए । आगामी दिनमा सार्वजनिक स्थलहरूमा सरसफाइका यस्तै गतिविधिको निरन्तरता दिने उनीहरूको भनाइ छ । सरसफाइ कार्यक्रममा स्थानीय व्यवसायीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   १८ माघ २०७७, आईतवार ०९:१०