डीपीआर अन्तिम चरणमा
भेरी पम्पिङ आयोजना

वीरेन्द्रननगर उपत्यकाको खानेपानी समस्या दीर्घकालीन समाधान गर्न ‘भेरी पम्पिङ’ आयोजनाको काम अघि बढाइएको छ । उपत्यकामा बढ्दो खानेपानीको मागलाई आपूर्ति गर्न ठूलो लगानीमा भेरीको पानी ल्याइँदै छ । त्यसका लागि ‘भेरी पम्पिङ’ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अन्तिम चरणमा पुगेको छ । आगामी एक महिनाभित्रमा डीपीआरको काम सक्ने गरी तीव्रता दिइएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । उनका अनुसार हाम्रो अभियान कन्सल्टेन्सी काठमाडौंले डीपीआर निर्माणको जिम्मा लिएको छ ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा वर्षेनी खानेपानीको संकट थपिँदै गएको छ । दीर्घकालीन समाधानका लागि भेरी नदीको पानी नै एक मात्र विकल्प मानिएको छ । सोही अनुसार ‘भेरी पम्पिङ’ आयोजना निर्माणको काम अघि बढाइएको छ । उपत्यकामा पानी ल्याउनका लागि पहिलो चरणको (डीपीआर) को काम अन्तिम चरणमा पुगेको छ । भेरीको पानी उपत्यकामा ल्याउने गरी खानेपानी तथा ढल व्यवस्थापन विभागले काम अघि बढाएको हो । आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्यालाई आधार मानी आयोजना निर्माण गर्न लागिएको बताइएको छ ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएलगत्तै खानेपानी मन्त्रालयमा फाइल पठाइ आयोजनाको टेण्डर प्रक्रिया अगाडि बढाउने तयारी भएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष देवकोटा बताउँछन् । उनले आगामी तीन वर्षभित्रमा भेरीको पानी उपत्यकामा झारी उपभोक्तालाई वितरण गरिने बताए । ‘आगामी आर्थिक वर्षभित्रैमा टेण्डर हुन्छ,’ उनले भने, ‘डीपीआरको काम अन्तिम चरणमा पुगेको छ ।’
झुप्रा बृहत खानेपानी आयोजना बनाउँदादेखि नै भेरीको पानी उपत्यकाको दीर्घकालीन विकल्पको रूपमा हेरिएको थियो । वर्षौं पहिलेदेखि भेरीको पानी ल्याउने योजना बने पनि अब भने त्यसले सार्थकता पाउन लागेको हो । आयोजनाको यसअघि भएको अध्ययन अनुसार भेरी पुुल र झुप्रा खोलाको दोभान बीचबाट पानी ‘पम्पिङ’ गरेर ल्याइने भनिएको थियो । तर, प्राविधिकहरूको पछिल्लो अध्ययनले उक्त ठाउँ उपयुक्त नभएको भन्दै पुनः पाँच सय ७४ मिटर माथिबाट पानी ल्याउने तयारी थालिएको छ । त्यहाँबाट वीरेन्द्रनगर उपत्यकामा पानी ल्याउन सात किलोमिटर पाइपलाइन निर्माण गरिनेछ । विभागका अनुुसार भेरीको पानी ‘पम्पिङ’ गरेर वीरेन्द्रनगर–११ को अमृतडाँडामा ल्याउने छ । सोही स्थानबाट उपत्यकाका विभिन्न भागमा पानी वितरण गरिनेछ ।
अमृतडाँडामा १२ हजार क्यूफिट लिटरको ट्याङ्की निर्माण गरिने र त्यहाँसम्म मात्र पानी ल्याउन करिब दुई अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान विभागको छ । अमृतडाँडामा पानी ल्याइसकेपछि वीरेन्द्रनगर उपत्यकामा वितरण गर्नका लागि संरचना तयार गर्न झण्डै चार अर्ब ६३ करोड ७९ लाख रूपैयाँ लागत लाग्ने अनुमान विभागले गरेको छ । यस हिसाबले भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन झण्डै सात अर्ब रूपैयाँ खर्च हुनेछ ।
खानेपानीको बढ्दो संकट
उपत्यका आसपासका विभिन्न स्रोतबाट उपलब्ध पानीले अहिले वीरेन्द्रनगरको पानीको माग धान्न सकिरहेको छैन । हाल उपत्यकामा वितरण हुँदै आएको पानी एक सय ५७ लिटर प्रतिसेकेण्ड हो । पानीको माग भने आपूर्तिभन्दा दोब्बर छ । उपत्यकामा दुई सय ५७ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्छ । वीरेन्द्रनगरमा उपत्यकामा मात्र वर्षेनी आठ सयदेखि एक हजारसम्म घरधुरी थपिने गरेका छन् । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अझैं १८ हजार घरधुरीलाई खानेपानीका धारा अपुग छन् । पाँच हजारभन्दा बढी घरका लागि धाराको माग गरिएका निवेदन संस्थामा थन्किएका छन् । यहाँ अहिले १८ हजार आठ सय ५० धाराहरूमार्फत पानी वितरण हुँदै आएको छ । गर्मीयाममा पानी आपूर्तिमा ५० प्रतिशतले कमी आउने गरेको छ । जसका कारण उक्त सिजनमा ९६ घण्टाको पालो लगाएर पानी वितरण गर्ने गरिएको छ ।
यसैबीच, नेपाल सरकारका खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिवार ‘भेरी पम्पिङ’ आयोजनाको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री थापाले जुनसुकै अवस्थामा पनि भेरीको पानी ‘पम्पिङ’ प्रविधिबाट सुर्खेत उपत्यकामा पु¥याउनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले यहाँको खानेपानी समस्या समाधानमा मन्त्रालय गम्भीर भएर लागेको बताएका हुन् ।
प्रकाशित मितिः १८ माघ २०७७, आईतवार ०९:१३
साझा बिसौनी ।