पञ्चकोशी यातायातको वार्षिक साधारणसभा

पञ्चकोशी यातायात प्रा.लि. ले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । प्रा.लि. को प्रथम साधारणसभा शनिवार वीरेन्द्रनगर सम्पन्न भएको हो । साधारणसभाको बन्दसत्रले सचिव निर्मलकुमार डाँगीको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विश्व थापाको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

साधारसभाले समितिको रिक्त रहेका पदमा केही पदाधिकारीको मनोनित गर्ने निर्णयसमेत गरेको छ । समितिको उपाध्यक्षमा रामप्रसाद पौडेल, सहसचिवमा पारस श्रेष्ठ, सदस्यमा रिदेश विक र नन्दबहादुर बुढाथोकीलाई मनोनित गर्ने निर्णय गरिएको प्रा.लि.का अध्यक्ष सञ्जय खत्रीले जानकारी दिए ।

कार्यक्रममा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईंले यातायात क्षेत्रको सहजताका लागि आफ्नो कार्यालयले हरसम्भव सेवा प्रवाह गरिरहेको बताए । सवारीसाधनको भौतिक अवस्था जाँचबुझ गर्ने प्राविधिकबाहेक अन्य सबै सेवासुविधा हाल सुर्खेतबाटै प्रवाह भइरहेको उनले जनाए । कार्यालयले सेवा विस्तार र शुलभ बनाउँदै लगेको उनको दाबी थियो ।

त्यस्तै, कार्यक्रममा नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य जयबहादुर बुढाले यातायात कार्यालय सुर्खेतमा स्थापना भएपछि नेपालगन्ज धाउनुपर्ने बाध्यताको अन्त्य भएकोमा खुशी व्यक्त गरे । विगतमा भएको लकडाउनका कारण थुप्रै यातायात व्यवसायी आर्थिक संकटमा परिरहेको उल्लेख गर्दै उनले यातायात व्यवसायीलाई आर्थिक राहत दिन सरकारसँग आग्रहसमेत गरे ।

प्रा.लि. का अध्यक्ष खत्रीले यात्रुहरूलाई सुरक्षित सेवासँगै सामाजिक कार्यमा पनि प्रा.लि. ले योगदान दिंदै आएको बताए । मानवसेवा आश्रमलाई १० हजार रूपैयाँ आर्थिक सहयोग एवम् प्रशान्ति वृद्धाश्रममा आश्रितहरूलाई धार्मिक पर्यटकीय स्थलहरूको भ्रमण गराएर सेवा सुरू गरेको प्रा.लि. ले प्रति टिकट एक रूपैयाँ सामाजिक कार्यमा लगाउने घोषणा गरेको उनको भनाइ छ ।

प्रकाशित मितिः   १८ माघ २०७७, आईतवार ०९:०८