निर्वाचनमा जुट्न निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरमा आयोजित भेलामा नेकपाका केन्द्रीय तथा स्थानीय नेताहरूले सम्बोधन गरेका छन् । नेकपा सुर्खेत जिल्ला कमिटी सदस्य डिलाराम गिरीको अध्यक्षतामा भएको भेलालाई नेकपा स्थायी कमिटी सदस्य एवम् खानेपानीमन्त्री मणिचन्द्र थापा, नेकपा केन्द्रीय सदस्य एवम् स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, नेताहरू यामलाल कँडेल, गोरखबहादुर बोगटी, धर्मराज रेग्मी, ठम्मरबहादुर विष्टलगायतले सम्बोधन गरेका हुन् ।

अगुवा कार्यकर्ता भेलामा बोल्दै नेताहरूले सरकारले तोकेको मध्यावधि निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई अपिल गरे । निर्वाचन तोकिएकै समयमा हुने भन्दै नेताहरूले यसमा शंका नगर्न कार्यकर्तालाई आग्रह गरेका हुन् । नेकपा विभाजनका मुख्य दोषी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नै भएको उनीहरूको आरोप थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हितका लागि नै प्रतिनिधिसभा विघटन गरेको नेताहरूले ठोकुवा गरे । ओलीको नेतृत्वबाट मात्र नेपाली जनताको विकासको आकांक्षा पूरा हुने उनीहरूको भनाइ थियो । भेलामा सुर्खेतका नौ वटै स्थानीय तहका ओली पक्षीय नेकपाका अगुवा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   १८ माघ २०७७, आईतवार ०९:०६