कोरोनाका नौ महिनाः खोरदेखि खोपसम्म

दैलेखको भैरवी गाउँपालिकामा आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएका चार जना स्थानीय । उनीहरूलाई राख्ने आइसोलेसन नहुँदा भैसीको गोठमा राखिएको थियो । भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनबाट गोठमा सारिँदा उतिबेला स्थानीय सरकारको निकै आलोचना भएको थियो (बायाँ) । कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप लगाउँदै प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का (दायाँ) ।

‘खोप बन्ला र ? भन्ने थियो । बन्यो । लगाउने मौका पनि मिल्यो । अभियानको सुरूमा खोप लगाएका हामीलाई यसबाट कुनै समस्या आएन । हजुरहरू पनि ढुक्क भएर लगाउनुहोस् है,’ प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कोरोनाविरुद्धको खोप लगाएपछि सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाट्स हो यो ।

कमजोर स्वास्थ्य पूर्वाधार रहेको कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिहाले कसरी नियन्त्रण गर्ने ? नौ महिनाअघि गत जेठ ५ गतेसम्म यस्तै त्रास थियो । प्राथमिक स्वास्थ्य उपचारका लागि पनि अन्यत्र धाउनुपर्ने कर्णालीबासीका लागि कोरोना भाइरसबारे सुन्दा पनि सशंकित हुने बेला, जो थियो । सर्वसाधारण मात्र होइन यहाँका चिकित्सकसमेत कोरोनाले निम्तन सक्ने भयावह स्थितिको आँकलन गर्दा नै आत्तिएका थिए । प्रतिकार्य तयारी थियो । तर, पर्याप्त थिएन ।

त्यसैबेला उनीहरूको अनुमान थियो, ‘कोरोना काबुबाहिर जान सक्छ । यो महामारी थेग्न हाम्रा अगाडि चुनौतीका चाङ हुनेछन् ।’ उपलब्ध स्रोतसाधन र प्रतिकार्यका लागि सरकारी तयारी फितलो देखेका उनीहरूले यसो भनेका थिए ।चिकित्सकहरूको यस्तो अनुमान स्वाभाविक नै थियो । नहोस् पनि
कसरी ?

कोरोना विश्वका लागि नौलो भाइरस थियो । त्रास र हाउगुजीमा थियो, दुनियाँ । न ‘भ्याक्सिन’ न त औषधि । यस कारण पनि कोरोनाले अकल्पनीय मानवीय क्षति गर्ने ठानिएको थियो ।

विश्वव्यापी महामारीको रूप लिएको कोरोनासँग लड्न कर्णालीलाई पक्कै सजिलो थिएन । रोग, भोक र गरिबीको पर्यावाची मानिने जटिल भौगोलिक बनावटको कर्णाली कोरोना भित्रने डरले निकै छट्पटियो । त्रसित बन्यो ।

किन कि ? यहाँ पर्याप्त र सहज स्वास्थ्य पूर्वाधार थिएनन् । दुर्गम अर्थात् साविक कर्णालीलाई विशेषज्ञ डाक्टर देख्नु ‘भगवान’ भेट्नु सरह थियो । झाडापखाला र ज्वरोको दबाई नपाउनेका लागि कोरोना ठूलै कहर बनेर आउँदै थियो ।

देशका अन्य सबै प्रदेशमा संक्रमण पुष्टि भइसक्दा कर्णाली जोगिएको थियो । जुनसुकै बेला पनि संकट आउन सक्नेमा कर्णाली सचेत थियो । नभन्दै कोरोना भित्रियो । अभाव र असहजताका बीच कर्णाली सम्हालियो ।

कोरोना त्रास आज पनि कायमै छ । संक्रमणको जोखिम टरेको छैन । कतिपय क्षेत्र अझै लयमा फर्कन सकेका छैनन् । हालसम्म कर्णालीमा सात हजार पाँच सय ११ संक्रमित भएका छन् । तीमध्ये सात हजार दुई सय ८३ जना संक्रमणमुक्त भए भने २९ जनाको कोरोनाले ज्यान लियो । देशभर दुई लाख ७० हजार सात सयभन्दा बढी संक्रमित भएका छन् । दुई हजार २५ जनाको मृत्यु भएको छ ।

संक्रमणको सुरुवाती चरणमा कोरोना हाउगुजी थियो । बाहिरबाट गाउँ भित्रिनेहरू घरमा बस्न पाएनन् । उनीहरूले संक्रमण ल्याएर आएको आशंकामा थुप्रै दिन क्वारेन्टाइन बस्नुप¥यो । कोरोना कहरले रोजगारी गुमाएर घर फर्किएकाहरूको चाप थाम्ने सुरक्षित क्वारेन्टाइनलगायतका संरचना थिएनन् । घर समाजमा घुलमिल हुँदा संक्रमणको जोखिम भएकाले उनीहरूलाई पशु चौपाया राख्ने गोठ, खोर र ओडारमा पनि राखियो ।

अहिले कोरोनाविरुद्धको खोप आएको छ । चिकित्सकदेखि सर्वसाधारणसमेत उत्साहित छन् । खोप लगाउन सुरू भएपछि उनीहरूले आफूलाई खोपले खतरामुक्त बनाउने आशा गरेका छन् । कर्णालीबासीले कोरोना भित्रिएको नौ महिनापछि ‘कोभिसिल्ड’ खोप पाएका हुन् ।

बुधवारदेखि पहिलो चरणको खोप अभियान थालिएको छ । स्वास्थ्यकर्मीलगायत कोरोना रोकथाम तथा नियन्त्रणमा अंग्रपक्तिमा खटिनेहरूलाई खोप लगाइएको हो । विस्तारै सबै नागरिकले खोप सेवा पाउने सरकारको भनाइ छ । प्रदेशका १२ वटा खोप केन्द्रबाट खोप लगाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पहिलो चरणमा प्रदेशका ११ हजार सात सय ८१ जनालाई खोप लगाइने छ । चिकित्सकहरूले कोरोना नियन्त्रण र उपचारमा राम्रो सुरुवात भएको बताएका छन् । खोप उपलब्ध भएसँगै संक्रमण नियन्त्रणमा उल्लेख्य उपलब्धी हुने उनीहरू बताउँछन् ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले अबको एक हप्ताभित्र लक्षित सबैलाई खोप लगाइसक्ने बताए । कोरोना खोप लगाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू उत्साहित बनेको उनले जनाए । ‘कोरोनाको रोकथाम र उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई अब केही सहज हुुने अपेक्षा गरिएको छ,’ उनले भने ।

यस्तै, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले नेपालमा यति चाँडै खोप आउनु खुशीको कुरा भएको बताए । उनी भन्छन्, ‘हामीले सोचेकोभन्दा छिटो खोप आयो । यसले अब कोरोना नियन्त्रण र स्वास्थ्य सेवा प्रवाहमा सहज हुनेछ ।’

सरकारले सुरूमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र त्यसपछि प्राथमिकताको आधारमा अन्य नागरिकलाई खोप लगाइने बताएको छ । कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी र एम्बुलेन्स तथा सवारी चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्वयम्सेवक, महिला स्वास्थ्य स्वयम्सेविका र सरसफाइ कार्यमा संलग्न व्यक्तिहरूलाई लगाउन सुरू गरिएको छ ।

 


स्वास्थ्यकर्मीको अनुभव


सुरूदेखि नै हामीले सतर्क भएर काम गर्‍यौँ । एक वर्ष नबित्दै खोप आयो । लगाउन पाउँदा गर्वको महशुस भएको छ । यसका लागि हामी स्वास्थ्यकर्मीहरूको तर्फबाट सरकारलाई धन्यवाद दिन चाहन्छौँ । काम गर्दा हामीलाई आफूसँगै घरपरिवारलाई संक्रमण हुने ठूलो जोखिम थियो । त्रास भइरहन्थ्यो । मेरो कारणले अरु कसैलाई संक्रमण हुनुहुुँदैन भन्ने थियो । म सुरूमा होमसेल्फ क्वारेन्टाइनमा बसे । पछि स्वास्थ्य सुरक्षा सावधानी अपनाए परिवारसँगै बस्ने गरियो । अब आफू सुरक्षित हुुन्छौं र सेवा प्रवाहमा सहजता हुन्छ भन्ने विश्वास लागेको छ । हामीले खोप लगाए पनि सावधानी भने अपनाएकै छौँ ।

चेतननिधि वाग्ले, प्रमुख(जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत)


कोरोनाविरुद्धको खोप लगाउँदा धेरै खुुशी लागेको छ । पहिलो डोज लगाइयो । स्वास्थ्यकर्मीहरूलाई सुरूमा खोप दिइँदा यसले जोखिम न्यूनीकरणमा मद्दत पुग्नेछ । हामी अब ‘फ्रेस’ भएर काम गर्ने वातावरण मिलेको छ । पाँच पटकसम्म कोरोना परीक्षण गरेँ । निकै सावधानी अपनाएकाले पनि होला संक्रमण हुनबाट भने अहिलेसम्म जोगिएकी छु । अब त खोप लगाउन पाएका छौँ । उपचारमा खटिन पनि आत्मविश्वास बढेको छ ।

डा. पूजा बि.सी. (प्रमुख, दुल्लू अस्पताल दैलेख)

 

 


कोरोनाविरुद्धको खोप कहिले आउँला भनेर पहिलो पर्खिने भनेको स्वास्थ्यकर्मी नै थिए । किन कि आफू सुरक्षित नहुुँदा अरूलाई सारिन्छ कि भन्ने ठूलो त्रास थियो । मेरो घरमा ७० वर्षको आमा हुनुहुन्छ । साना बच्चाहरू छन् ।

डा. नवराज के.सी. (बालरोग विशेषज्ञ)

कहिलेकाहीँ सामान्य रुघाखोकी र ज्वरो आए पनि डराउनु पथ्र्यो । परिवारसँग नजिक हुने अवस्था थिएन  । खोप लगाएपछि अब त जान सकिन्छ कि भन्ने अवस्था छ । कोरोना संक्रमण हुुने डरले दशैंतिहारमा छुटे्का आफन्तहरूसँग अब भेट हुुने भयो । मैले खोप लगाउँदा शरीरमा नकारात्मक खासै त्यस्तो असर केही देखिएन । अब हामी सुुरक्षित छौँ भन्ने पनि लाग्यो । खोप लगाउँदा तीन प्रकारका लक्षण देखिन्छ । पहिलो सामान्य लक्षण टाउको दुख्ने, ज्वरो र वाकवाकी लाग्ने हुन सक्छ ।

हामीले कोरोना रोकथाम तथा नियन्त्रणमा राम्रो रिजल्ट दिएका हौँ । अन्य ठाउँको तुलनामा यहाँ मृत्युदर पनि कम छ । यहाँ कोरोनासँग सम्बन्धित धेरै अस्पताल थिएनन् । अप्ठेरो भएको खण्डमा सुर्खेतमा बिरामी रेफर गर्ने गरिन्थ्यो । बिरामीलाई अप्ठेरो हुने बित्तिकै अस्पताल आउँदा समस्या भएन । काम गर्दा आत्मसन्तुुष्ट पनि भयो । कोभिडले हामीलाई दुःख मात्र होइन अवसर पनि दियो । स्थानीय तहमा समेत अस्पताल बन्ने भए । भएका अस्पतालहरूमा पूर्वाधार थिएनन् । त्यहाँ सामग्री थपिए । कर्णालीको स्वास्थ्य पूर्वाधार विकासका लागि कोरोना अवसर र बरदान जस्तै भयो ।

डा. नवराज के.सी. (बालरोग विशेषज्ञ)


डा. प्रकाशराज वली (मेडिकल अधिकृत)

चीनलगायत अन्य देशहरूमा कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा यहाँ पनि संक्रमण हुन सक्छ भनेर हामी सचेत नै थियौँ । जब कर्णाली प्रदेशमा नै संक्रमण देखियो । तब भने थुप्रै चुनौतीको सामना गर्नुप¥यो । म कर्णालीका पहिलो संक्रमितको उपचारमा संलग्न थिए । उहाँलाई केही समस्या हुन सक्छ भनेर प्रदेश अस्पताल ल्याउने कुरा भइरहेको थियो । जेठ ९ गते प्रदेश अस्पताल ल्याइयो । यहाँ ल्याइसकेपछि दुई जना चिकित्सकको टोलीसहित अन्य स्वास्थ्यकर्मी बस्ने भन्ने भयो । मैले आफू नै बस्न अग्रसरता देखाए । अहिलेसम्म तीन पटक आइसोलेशनमा बसेर काम गरियो । त्यतिबेला परिस्थिति डर लाग्दो नै थियो । तर पनि बिरामी हेर्दिन भन्न मिल्थेन । आफूसँग भएको सीप र गाइडलाइनहरू आत्मसात् गरेर हामीले काम गर्दै आयौँ । आफूबाट अरूमा संक्रमण हुुन सक्छ भनेर हामी छुट्टै बस्थ्र्यौं ।

त्यसरी काम गरिरहँदा खोप कहिले आउँला भन्ने लाग्थ्यो । यति चाँडो खोप आएर लगाउन पाइन्छ भन्ने त लागेको पनि थिएन । हामीले सुरक्षा सावधानी अपनाएर होला कोरोना संक्रमण भएन । तर पनि खोप कहिले आउने भन्ने चिन्तामा हामी थियौँ । मेडिकलमा भएको विकासले छिट्टै खोप आयो । खोप लगाउन पाइयो । यसले हाम्रो काममा अझै विश्वास बढाउनेछ । खोप लगाएपछि संक्रमण भइहाले पनि जटिल संक्रमण हुुँदैन भन्ने लागेको छ । ज्यानलाई खत्रा कम हुुन्छ र हामीबाट अन्य व्यक्तिलाई सर्दैन भन्ने नै हो । हरेक कुरामा फाइदा र बेफाइदा त भइहाल्छ । खोप लगाउँदा केही सामान्य लक्षण देखिन सक्छन् तर पूर्ण रूपमा सुरक्षित छ ।

डा. प्रकाशराज वली (मेडिकल अधिकृत)


खोप आउँदा उत्साहित नहुने कुरै भएन । स्वास्थ्यकर्मीहरूलाई नै सुरूमा लगाउने भनेपछि थप उत्साहित भइयो । म आफैलाई पनि कोरोना संक्रमण भएकाले धेरै गाह्रो भएको थियो । कोरोना खोप लगाएपछि शरीर दुुख्ने, ज्वरो र टाउको दुख्ने समस्या पनि भयो । पछि विस्तारै ठिक भयो । म बिरामीको उपचारमा संलग्न भएकै अवस्थामा संक्रमित भएको हो । प्रसुुति कक्षमा काम गर्थे । धेरै जोखिममा रहेर काम गर्नुपथ्र्यो । थुप्रै स्टाफ संक्रमित भए । खोप लगाएपछि अब सहज हुुन्छ भन्ने आशा पलाएको छ ।

 

कल्पना थापा बिसी (स्टाफ नर्स)

 


पहिले त एकदमै डर लागेको थियो । गाउँमा स्वास्थ्य क्षेत्रमा काम गर्ने भनेपछि अलि शंकाको दृष्टिले हेर्थे । यसलाई पक्कै कोरोना संक्रमण होला भने झैं गर्थे । संक्रमणको डरले पहिले–पहिले त घरमै बसियो । पछि समूहरूमा स्वास्थ्य परामर्श दिन थालेँ । डर लागे पनि आफ्नो धर्म निभाइयो । औषधि नै नभएको रोगको संक्रमण फैलिएपछि बाँचिन्छ जस्तो लागेकै थिएन । आजभोलि त कोरोनाको त्रास कम भएको छ । झनै खोप लगाउन पाएपछि ढुक्क लागेको छ । आफूले सुरक्षित महशुस गरेसँगै नागरिकलाई राम्रो स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने विश्वास लागेको छ ।

गीता ढकाल (स्वास्थ्य स्वयम्सेविका)

 


सुरूमा काम गर्दा डर स्वास्थ्यकर्मीलाई निकै त्रास थियो नै । अझ हामीले धेरैसँग काम गर्नुपर्ने हुँदा आफूबाट अरुलाई संक्रमण हुुने जोखिम रहन्थ्यो । मलाई कोरोना संक्रमण भयो । सँगै डेङ्गुको संक्रमण पनि । गम्भीर बिरामी नै भएर अस्पताल भर्ना भए । अहिले खोप लगाउँदा मनोबल बढेको छ । खोप लगाउँदा मलाई अलिअलि शरीर भने दुख्यो । अहिले एकदम ठीक छ । अब पहिलेको जस्तै समय रहेन । कोरोनाको जोखिम भए पनि सबैमा डर त्रास हराउँदै गएको छ ।

सावधानी अपनाउने कुरामा धेरेको ध्यान कम हुँदै गएको छ । त्यो भने राम्रो होइन । सावधानी अपनाउन छोडिनु हुन्न । किन की जोखिम अझै टरेको छैन । कोरोनाले मानिसहरूको व्यक्तिगत जीवनशैलीमा नै परिवर्तन ल्याइदियो । सेनिटाइजर लगाउने, मास्क लगाउनेलगायत आफ्नो स्वास्थ्यको ख्याल बढी गर्ने भन्ने कुरामा सकारात्मक प्रभाव परेको छ । सँगै स्वास्थ्यका पूर्वाधारमा लगानी भएको छ ।

डा. पदम गिरी (हाडजोर्नी तथा नसारोग विशेषज्ञ)


सुरूवाती चरणमा निकै त्रास थियो । अग्रपंक्तिमा रहेर काम गर्ने हामी स्वास्थ्यकर्मीहरू झन बढी नै सचेत हुनुपर्ने थियो । घर जाँदा पनि समस्या हुन्थ्यो । मैले सुरूमा दैलेखमा संक्रमितको संख्या बढी हुँदा दैलेखको महाबु गाउँपालिकामा गएर एक महिना काम गरेँ । आइसोलेशन, क्वारेन्टाइनमा बसेर काम गर्दा आफूमा संक्रमण हुुने हो कि, आफूबाट अरुमा संक्रमण सर्छ कि भनेर परिवार र छर–छिमेकमा घुलमिल भइन । अहिले कोरोना भाइरस खोप लगाइसकेपछि भने खुशी लागेको छ । अब समुदायमा गएर निर्धक्क सेवा दिन सकिने छ । सेवा प्रवाहमा सहज हुने विश्वास बढेको छ ।

 

महेन्द्र थापा (एचए)


जतिबेला कोरोनाको मात्रै त्रास थियो । औषधि नभएको यस्तो सरूवा प्राणघातक रोगले त्रसित नगराउने कुरै थिएन । पहिले त एकदमै डर लाग्यो नि । जुन बिरामीलाई देखेपनि कोरोना नै हो कि जस्तो लाग्ने । पहिले पहिले लक्षणसहितको कोरोना भए पनि पछि–पछि लक्षण नभएकाहरूमा पनि कोरोना पोजेटिभ देखिन थाल्यो । अहिले विस्तारै संक्रमणको दर पनि कम हुँदै गएको छ । मलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । त्यसबेला म निकै आत्तिएकी हुँ । तर आजभोलि त कोरोनाको त्रास हट्दै गएको छ । झनै खोप आफैले लगाउन पाउँदा त ढुक्क भएको छ । अब कोरोना संक्रमण भए पनि त्यसले भयावह स्थिति निम्त्याउँदैन भन्ने लागेको छ ।

 

डा. जीविता शाही (मेडिकल अधिकृत)

प्रकाशित मितिः   १७ माघ २०७७, शनिबार ०९:४४