जलेको बस्ती, मन र मलम
गाइज

‘ओइ ! किन ओइलाएको फूलजस्तो भएको नि यति राम्रो मान्छे ?’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयको भीसी (उपकूलपति) कार्यालय अगाडि जलेको प्रा.डा. नन्दबहादुर सिंहको पुतला र संगठित आगोका कोइलातिर हेरेर टोलाइरहेको आइतेका रौं उदेल्दै रहिनाले सोधी ।
सुरुदेखि नै सेन्टी मुडमा भएको आइते मलिन स्वरमा बोल्यो, ‘हेर न एउटा सानो पुल्ला जल्दा यति उराठ देखिएको छ उपकुलपतिको कार्यालय । आजभोलि जुम्लाको गुठीगाउँ कस्तो देखिएको होला ? मलाई तस्बिर हेर्नसम्म आँट आइरहेको छैन ।’
‘हो त है । मैले सुनेको गोठीगाउँमा लागेको धुँवाका कारण भोलिपल्ट जुम्ला र कालिकोटका केही ठाउँमा घाम प्रष्ट लागेन रे । सधैं पारिला घाम लाग्ने हिमालमा यस्तो भएपछि आगो कति ठूलो थियो होला कल्पना गर्दा पनि जीउमा काँडा उठ्छन् । जाउँ हिँड् दिदीहरू तँलाई कुरिरहनुभएको छ क्यान्टिनमा चिया पिउँदै गफ गरौंला ।’
आइतेले मुन्टो हल्लायो । केही बोलेन । दुवैजना क्यान्टिनतिर हिँडे । टेबलमा तीन कप हट लेमन राखेर झुमा, महाशंकर र बक्राम बसेका छन् । सदाझैं सबैले हाइ हलो गरे पनि आइतेले उस्तो उत्साह देखाएन ।
‘दिदी जुम्लाको खबर के छ ? कसैसँग सम्पर्क भएको छ ? क्षति कति भयो ? एकिन विवरण केही आयो ?’ रहिनाले झुमालाई प्रश्न गरी ।
‘हिजोसम्म समाचारपिच्छे फरक–फरक जानकारी थिए । एक हिसाबले मिडियाको मनपरी थियो । तर आज तथ्य जाँच भएको छ । मैले बिहान तिला गाउँपालिकाकी उपाध्यक्षसँग सम्पर्क गरेकी थिएँ । उहाँ र अध्यक्ष दुवैजना जिल्ला बाहिर हुनुहुँदो रहेछ । सूचना सम्प्रेषणको गतिलो माध्यम नहुँदासम्म हामी आगलागीबाट निस्केको धुवाँ मडारिएका जस्ता भयौं । तर, अब प्रशस्त जानकारी आइसकेका छन् ।
जसअनुसार जलेर २६ घर नष्ट भएका छन् । सिंगो गाउँमा जम्मा ५५ घर हुन् । जसअनुसार आधा गाउँ नै सखाप भएको छ ।
आगलागीको खबर पाएपछि खलंगा बजारबाट प्रहरी निरीक्षक नवीन थापा मगरको कमाण्डमा १५ जना र प्रहरीचौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीको कमाण्डमा ३ जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमाण्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी र गाउँलेको निरन्तर प्रयासपछि १६ घण्टापछि आगो नियन्त्रणमा आएको छ ।
तर आगलागीको कारण पत्ता लगाउन सकिएको छैन । त्यहाँका घरको संरचना अलि फरक छ । बस्ती विकासको परम्परा पनि फरक हो । पहिलो तलामा वस्तु भाउ राख्ने र दोस्रो तलामा मान्छे बस्ने र खाद्यान्न राख्नलाई हुन्छ । यी दुवै तला माटोले छापेको हुन्छ । त्यसभन्दा माथि जस्ता छापेजस्तो गरी काठले थापेको हुन्छ ।
प्रकृतिको स्वरूप जस्तै देखिने गरी बनाएका ती संरचनालाई नारे घर भनिन्छ । जसले अत्यधिक बर्खा हुँदा पनि घर चुहिने सम्भावना हुन्न भने हिउँदको हिउँले पनि खासै समस्या आउँदैन ।
नारे गरिएको ठाउँमा दाउरा र घाँस राखिएको हुन्छ । त्यसमाथि एक घरबाट अर्काे घरसम्मको दूरी निकै कम हुन्छ । यसरी बनाइएको बस्तीलाई बाडो भनिन्छ । बाडोले चिसो नहुने, सुरक्षित हुने र सहयोग आदान–प्रदान गर्न सजिलो हुन्छ भने चोर लाग्ने सम्भावना निकै कम हुन्छ । एउटै जोखिम भनेको आगलागी हो । त्यहाँ त्यही भयो । यसै कारण एक सय ६७ जना विस्थापित हुन परेको छ ।
आगलागीमा ३७ ओटा गाईगोरु, २६ वटा भेडा बाख्रा मरेका छन् । लाखौं नगद रुपियाँ जलेको छ भने अन्य पशुपन्छी मरेका छन् । यत्रो दुःखमा पनि एउटा सुखद संयोग भनेको त्यहाँ बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुन पाएन ।
त्यसरी लागेको आगो द्रूतगतिमा फैलिएको हुँदा कसैले घरबाट सामान निकाल्न पाएनन् । स्थानीयका आँखै अगाडि भेडा, बाख्रा, कुखुरा र खरायो जिउँदै जलिरहे तर उनीहरूले केही गर्न नसकेर निरिह बनिरहे । मलाई लाग्छ यी विभत्स दृश्यहरूले उनीहरूलाई लामो समयसम्म सपनामा पनि झस्काइरहनेछ ।’
‘हामीसँग दिदी हुनुहुन्छ त्यसैले हामी गलत सूचनाको संक्रमणबाट जोगिएका छौं । होइन यो आइतेलाई के भयो । हट लेमनले पनि फ्रेस भइनस है । भयो छोड सहानुभूति र सद्भाव राख्न सकिन्छ । तर यति निराश हुने होइन नि ब्रो ।’ बक्रामले आइतेलाई मुडमा ल्याउन खोज्यो ।
‘अँ भन्या यसको यही बानी खराब छ । यसरी समय–समयमा आइराख्ने विपत्तिको त सामना गर्ने हो । पूर्व तयारी र विपद् व्यवस्थापनको उपाय अवलम्बन गर्ने हो नि । हाम्रो छलफल यसै विषयमा हुन प¥यो । निराश भएर हुन्छ त ।’ महाशंकको महावाणी पछि आइतेको मुहारमा लागेको बादल फाँट्छ । सबैजना छलफलमा जुट्छन् ।
विपद् व्यवस्थापन समितिले सही ग¥योः आइते कठिन भुगोल र प्राविधि कारण समयमै राहत पु¥याउन नसकेको विपद् व्यवस्थापन समितिले पछि राम्रो सक्रियता जनायो । आफ्नो कोष नै रित्याएर राहत र उद्धारमा जुट्नु राम्रो काम हो । आपतमा सरकारी संयन्त्र यसरी परिचालन हुन सकेको खण्डमा दुःख पाउनेको घाउमा मलम लाग्छ ।
प्रदेश सरकारको नियत ठीक भएनः रहिना
मलाई लाग्छ प्रदेश सरकार गलत गरिरहेको छ । यस्ता हरेक घटनामा ऊ आफूलाई लोकप्रिय देखाउन चाहन्छ । यस्ता हर्कतले दुःखमा परेका नागरिकको घाउमा मलम लगाउन सक्दैन । जस्तो कि राहत बाँड्न गएका मन्त्री र सांसदहरूले हेलिकप्टर रिजर्भमा मात्र छ लाख खर्च गरे तर त्यहाँका नागरिकले पाँच लाख मात्र राहत पाए र यो भन्दा बरु ११ लाख रुपियाँ पठाइदिएको भए विपद् व्यवस्थापन समिति वा स्थानीय तहले राहत वितरण गथ्र्यो । तुलनात्मक लाभलाई ध्यान दिन नसक्दा यस्ता समस्या आउँछन् ।
मनकारीको सहयोगले अर्थ राख्योः महाशंकर
जुम्ला उर्थुका अमर विष्ट विपद्मा सहयोग गर्नेमा अग्रपंक्तिमा रहन्छन् । उनले यतिबेला ४० हजार बराबरको खाद्यन्न सहयोग गरेका छन् ।
यसअघि पनि लकडाउनको समयमा उनले तातोपानी–६ का विपन्न घरपरिवारलाई ३० हजारको खाद्यान्न सहयोग गरेका थिए । समग्रमा उनले मात्रै १३ लाख बराबरको सहयोग गरेका थिए । आगलागी पीडितलाई उनले थप सहयोग गर्ने बताएका छन् । यसरी आफूसँग भएको केही रकम हुनेले सहयोग गरिदिँदा स्थानीयले राहत महशुस गर्छन् ।
सांसदको सहयोगले पनि भूमिका खेल्नेछः बक्राम
प्रदेश सांसद पदमबहादुर रोकायाले एक महिनाको तलब अग्नि पीडितलाई उपलब्ध गराउने भनेका छन् । उनको एक महिनाको तलबस्वरूप आउने ४२ हजार रूपैयाँले राहतकोषलाई बलियो बनाउने छ । यस्तो काम अरुले गरिदिए झन राम्रो हुन्थ्यो ।
सबैको मत लिइसकेपछि झुमा अन्तिममा फेरि बोली, ‘आ–आफ्नो तवरबाट सहयोग गर्नु सह्रानीय छ । तत्कालका आवश्यकता पूरा गर्नेगरी सोच्नु राम्रो हो । तर अब त्यहाँका नागरिकलाई पुनस्र्थापना गर्ने विषयमा सोच्नुपर्छ । केही सीपमूलक र उत्पादनमूलक गतिविधिमा तत्कालै लाग्न जरुरी छ । यस्ता काम गर्न सरकारले हेलिकप्टर रिजर्भ गरिरहन परेन । योजना बनाएर प्रभावकारी कार्यान्वयनमा जुटे हुन्छ ।’
प्रकाशित मितिः १७ माघ २०७७, शनिबार ०९:२०
साझा बिसौनी ।