सोचको सामर्थ्य
‘हामी जस्तो छौँ, जे बनिरहेका छौँ, त्यो सबै हाम्रो सोचको परिणाम हो’ गौतम बुद्धको उपर्युक्त भनाइले मानिसको सोच या विचारले नै उसलाई राम्रो या नराम्रो बनाउँछ भन्ने कुरा बताएको छ ।
हाम्रो आसपासमा रहेका सबै साना या ठूला चिजहरू वास्तवमा सोच या विचारका नै उपज हुन् । सोचले नै मानिसको उत्थान र पतन हुने गर्छ । सोच या विचार निर्माणको प्रक्रिया कसरी र कुन नियमबाट हुन्छ भन्ने कुरामा गहिरो अध्ययन, अनुसन्धान हुँदै आएको छ । यो संसार एक छ तर यो संसारमा बस्ने मानव जातिका सोचहरू अनेक छन् । एउटै चिज वा वस्तुका बारेमा एउटा व्यक्तिले जसरी सोच्छ, अर्को व्यक्तिले ठीक त्यसैगरी सोच्दैन । फरक तरिकाले सोच्छ । सोच या विचार सुक्ष्म हुन्छ, तर यसले मानिसको व्यक्ति विकासमा ठूलो प्रभाव पारिरहेको हुन्छ अझ भनौँ मानिसको समग्र व्यक्तित्वको निश्कर्ष नै उसको विचार हो । व्यक्तिको सोचले नै हरेक कार्य वा घटना घटित भइरहेको हुन्छ ।
समाजमा विचार निर्माण गर्ने विभिन्न क्षेत्रहरू छन् त्यसमध्ये विद्यालय वा विश्वविद्यालयहरू पनि विचार निर्माणका महत्वपूर्ण क्षेत्रहरू हुन् । ती संस्थाहरूमा सिकेका कुराहरूले हाम्रो जीवनमा ठूलो प्रभाव छोडिरहेका हुन्छन् । राजनैतिक दलका सभा, सम्मेलन, गोष्ठी, प्रशिक्षणदेखि विभिन्न संघ–संस्थाले गर्ने कार्यक्रमहरूले पनि विचार निर्माणको आधार सिर्जना गरिरहेका हुन्छन् । त्यसैगरी विचार निर्माणको कार्यमा सञ्चार क्षेत्रको पनि ठूलो भूमिका रहेको हुन्छ । तर सवाल यो छ कि हामीले पढ्ने दैनिक सामग्रीहरू, हामीले सुनेका विचारहरू, हामीले हेर्ने दृश्य सामग्रीहरू वास्तवमा सही छन् कि छैनन् ? के कति सही छन् ? ती सामग्रीहरू सत्यको कति नजिक छन् ? त्यो महŒवपूर्ण पाटोलाई भने हामीले नजरअन्दाज गरिरहेका हुन्छौँ । हामी अक्सर भिडको पछि कुद्छौँ । भिडले भनेको कुरालाई नै सही ठान्ने र भिडलाई नैसत्य मानेर दौडिने कुरामा हामी अभ्यस्त भइसकेका छौं । हामीले लगाएको चश्मा निकालेर स्वतन्त्र ढङ्गले चिजलाई हेर्ने, विषयवस्तुको गहिरो अध्ययन, अनुसन्धान गर्ने, सत्यको खोजी गर्ने कार्यमा हाम्रो ध्यान निकै कम जाने गर्छ ।
स्वामी विवेकानन्द भन्नुहुन्छः ‘मनमा राम्रो विचार ल्याऊ । त्यसलाई आफ्नो जीवनको लक्ष्य बनाऊ । हमेसा त्यसकै बारेमा सोच । सपना देख । सफलता तिम्रो कदम चुम्न आउनेछ ।’ हाम्रो सकारात्मक सोचले हामीलाई हाम्रो लक्ष्यमा पुग्न मद्दत गर्छ भने नकारात्मक सोचले हामीलाई असन्तुष्टि, क्रोध, निराशा पैदा गर्छ । आज संसारले प्राप्त गरेका जति पनि महान उपलब्धीहरू छन् ती सबै विचारका परिणामहरू हुन् । विचार त्यही हो, जुन विचारले न्यूटनलाई गुरुत्वाकर्षणको सिद्धान्तलगायत विभिन्न सिद्धान्तहरू जन्माउन प्रेरित गरिरह्यो, आइन्स्टाइनलाई सापेक्षतावादको सिद्धान्त प्रतिपादन गर्न घच्घच्याइरह्यो अनि म्याडम क्यूरीलाई रसायनशास्त्रको खोजमा लाग्न उत्प्रेरणा दिइरह्यो । विचार त्यही हो, जसले थोमस अल्वा एडिसनलाई अनेकौँ असफलताका बाबजुद पनि संसारलाई उज्यालो दिन दिनरात नथाकेर अगाडि बढ्न झक्झकाइरह्यो । ती महान व्यक्तिहरूभित्र पैदा भएको सुक्ष्म विचार र सकारात्मक विचारले नै उनीहरूलाई आफ्नो काममा निरन्तर जागरुक र लगनशील भएर जीवनभर लाग्न उत्प्रेरित गरिरह्यो ।
आज पनि विचार निर्माणका महŒवपूर्ण स्थानहरू विद्यालय, विश्वविद्यालयहरू रहेका छन् जहाँ हरेक दिन युवा जमातले केही न केही सिकिरहेको हुन्छ, जानिरहेको हुन्छ । अब प्रश्न उठ्छ, के ती हाम्रो जीवनका लागि पर्याप्त छन् ? हाम्रो जीवनको मार्गलाई आजको शिक्षाले सुगम बनाएको छ त भन्ने प्रश्नको उत्तरमा जवाफ त्यति सकारात्मक पाइँदैन । ती पर्याप्त छैनन् । पर्याप्त हुँदो हो त मास्टर्स डिग्रीको दुई तीनवटा सर्टिफिकेट बोकेको मानिस आपूmले बोकेको मोबाइल बनाउन अर्कैलाई दिन्छ, आपूm चढिरहेको बाइक बनाउन अर्कै मान्छे चाहिन्छ र घरमा हेर्ने टेलिभिजन बिग्रिएमा अर्कैलाई गुहार्नुपर्ने हुन्छ । हाम्रो जीवनमा बारम्बार प्रयोगमा आइरहने यी चिजहरूः बत्ती, टेलिभिजन, ल्यापटप, घडी, रेडियो, फ्रिज, वासिङ मेसिन यी कुनै पनि कुरा बिग्रिएमा हामीलाई तुरुन्त बनाउनुपर्ने हुन्छ, तर हामीसँग ती चिजहरू बनाउनको लागि सीपको अभाव छ । हामीले हाम्रा विद्यालयहरूमा गणितका कठिन सूत्रहरू सिक्छौँ र सिकाउँछौ । विज्ञानका अनेकौँ सिद्धान्तहरू कण्ठ पार्न लगाउँछौं । भाषा विषयमा भाषाको नियम, व्याकरण र त्यसको संरचना रटाइरहेका हुन्छौं । माल्थस, रविन्सन र रिकार्डोका अर्थशास्त्रीय सिद्धान्तहरू पढ्छौँ तर जीवन जीउनका लागि आवश्यक पर्ने अनेकन सीपहरू सिक्न भने छुटिरहेका हुन्छौं । यसको अर्थ हाम्रा पाठ्यक्रमहरू व्यवहारिक दिशामा भन्दा पनि सैद्धान्तिक दिशामा ज्यादा केन्द्रित भइरहेका छन् । हामीले हाम्रा कक्षाकोठाहरूमा कति अध्ययन, अध्यापन ग¥यौं भनेर त्यसको परिमाण हेर्नुभन्दा पनि अध्ययन गर्ने सामग्रीहरू कति उपयोगी छन् ? कति ज्ञानबद्र्धक छन् र कति जीवनसँग निकट छन् ? सत्य र न्यायको मार्ग नजिक पु¥याउने सामग्रीहरूको पठनपाठन भइरहेको छ कि छैन । आलोचनात्मक चेतको विकास गर्न हाम्रा पाठ्यक्रमहरूले कति सघाउ पु¥याएका छन् ? यो विषय नै सर्वाधिक महŒवको विषय हो । विचार निर्माणको कारखानाका रूपमा रहेका हाम्रा शिक्षालयहरूमा दिएको ज्ञान, विवेक र चेतनाले व्यक्तिलाई प्रभाव पार्छ, समाजलाई प्रभाव पार्छ र सिङ्गो राष्ट्रलाई प्रभाव पार्छ । तर हाम्रा पाठ्यक्रमहरूलाई समयसापेक्ष, प्रविधिमैत्री, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने, नविन र सिर्जनात्मक सोचको विकास गर्न सक्ने बनाउनुपर्छ भन्ने कुरामा भने सम्बन्धित निकायको खासै ध्यान पुग्न सकेको छैन । हामीले त यहाँसम्म कि विद्यार्थीलाई दिने ज्ञानमा, पाठ्य सामग्रीमा समेत भागबण्डा गर्न लागेका छौं । विषयवस्तुको गुणस्तरलाई भन्दा पनि राजनीतिको भागबण्डामा व्यक्तिलाई प्राथमिकता दिइरहेका छौँ । शिक्षा प्रदान गर्ने पवित्र संस्थाहरूमासमेत व्यक्तिवादको दुर्गन्ध पैmलिरहेको छ । यो प्रवृत्ति समग्र शिक्षा प्रणालीमाथि गरिएको घोर अपमान मात्र होइन, आजको पुस्तामाथि गरिएको घोर बेइमानी पनि हो । यसरी बहुआयामिक कोणबाट हेर्दा हाम्रो शिक्षा प्रणाली न त व्यवहारिक बन्न सकेको छ, न त सिर्जनात्मक र वैज्ञानिक चेतको विकास नै गर्न सकेको छ । शिक्षालयहरू केवल बौद्धिक दासहरू पैदा गर्ने थलोमा परिणत हुँदै गइरहेका छन्, जसले राष्ट्रको समग्र जीवनलाई नै दुष्प्रभाव पारिरहेको छ ।
राष्ट्र निर्माणको बलियो आधार स्तम्भको रूपमा रहेको शिक्षाको अवस्था एकातिर यो रहेको छ भने अर्कोतिर सामाजिक चेतनाको सर्वोच्च रूपमा रहेको राजनीतिभित्र प्रवेश गरेका कमजोर पात्रहरूको कारणले पनि राजनीतिको तस्विर धुमिल बन्न पुगेको छ । राष्ट्रको समग्र क्षेत्रको बागडोर कुशलतापूर्वक सम्हालेर अगाडि बढ्नुपर्ने राजनीतिका नेतृत्वदायी शक्ति आपैmभित्रको समस्याबाट माथि उठ्न सकिरहेका छैनन् । राज्यको शासन सञ्चालनको नेतृत्व गर्ने व्यक्तिको सोच र विचारले सम्पूर्ण राष्ट्रको भविष्य निर्धारण गर्दछ । तसर्थ कुशल, दूरदृष्टि, सकारात्मक विचार, सक्षम र सवल नेतृत्वले मात्र राष्ट्रको भविष्यलाई चम्किलो बनाउन सक्छ । तर, हामीकहाँ नेतृत्व तहमा पुग्नलाई कुनै पनि योग्यताको आवश्यकता पर्दैन । न त उच्च पदस्थ नेतृत्वको ‘रिटायर्ड जीवन’ नै हुन्छ । राष्ट्रको नेतृत्व गर्ने कुरा धेरै गरिमामय र ओजपूर्ण जिम्मेवारी हो । एउटा व्यक्तिले गल्ती ग¥यो भने उक्त गल्तीको फल त्यही व्यक्तिले मात्र भोग्दछ, तर राज्यका जिम्मेवार तहमा पुगेको नेतृत्वले गरेको गलत कार्य र निर्णयको मूल्य सिङ्गो राष्ट्रले चुक्ता गर्नुपर्ने हुन्छ । तसर्थ नेतृत्व क्षमता विकासका लागि विशेष प्रकारको शिक्षा अध्ययन र सीपको जरुरत पर्छ । तर हाम्रो देश यस्तो देश हो, जहाँ व्यक्तिका सम्पूर्ण असफलताहरू राजनीतिको शरणमा पुगेर विसर्जन हुन्छन् । विकल्पहरू सकिएपछिको अन्तिम विकल्प राजनीति बन्न पुग्छ । कालान्तरमा उनीहरू नै सत्ता सञ्चालनको महŒवपूर्ण कार्यभार सम्हाल्न पुग्छन् । फलस्वरूपः राज्यव्यवस्था सफलताको दिशातिर भन्दा असफलता र अराजकताको दिशातिर उन्मुख हुन पुग्छ । तसर्थ ज्ञान, सीप, क्षमता र योग्यताको एउटा तहमा पुगेको व्यक्तिले मात्र नेतृत्व गर्न पाउने हो भने मात्र देशको मुहारमा समृद्धि र विकास लहराउन थाल्छ । न्यायको क्षेत्रमा एउटा सुप्रसिद्ध भनाइ छः न्याय दिएर मात्र हुँदैन, न्याय गरेको देखिनुपर्छ । यही कुरा राजनीतिमा पनि लागु हुन्छ । नागरिकले सुशासनको अनुभूति गर्न पाउनुपर्छ । नागरिकको जीवनमा अनुभूत हुने गरी सुशासन देखिनुपर्र्छ ।
तसर्थ हामीले हाम्रो सोचलाई बदल्न सकेनौँ, हाम्रो विचारलाई विज्ञानसम्मत र वस्तुपरक बनाउन सकेनौँ भने धेरै कुरा परिवर्तन भएर पनि कुनै पनि कुरामा परिवर्तन भएको आभाष हुने छैन । विचारले नै कुनै पनि कुराको उत्थान हुन्छ र विचारले नै पतन हुन्छ । उत्थान र पतनको बीचको अन्तर भनेको सुविचार र कुविचारको अन्तर मात्र हो । एकजना विद्वानले भनेका छन् जीवनमा कठिनाइ बर्बाद गर्नका लागि होइन, हाम्रो सामथ्र्य र शक्ति पैदा गर्न आउँछ । विनास केवल विनासको लागि मात्र नभएर नवीन सिर्जनाको लागि पनि विनाश आवश्यक हुन्छ । निर्माणका लागि पनि विनाश आवश्यक हुन्छ । तसर्थ अब नयाँ शिराबाट नवीन पाइलाहरू चालेर देशलाई गति दिनुपर्ने आवश्यकता छ ।
प्रकाशित मितिः १७ माघ २०७७, शनिबार ०९:१३
साझा बिसौनी ।