सहिदको सम्झना

सहिद दिवसको अवसरमा शुक्रवार सुर्खेतमा विभिन्न कार्यक्रम गरिएको छ । दीप प्रज्वलन, तस्बिरमा माल्यार्पण, वक्तृत्वकला प्रतियोगितालगायत विविध कार्यक्रम गरेर सहिदहरूको सम्झना गरिएको हो । यसैक्रममा जनसेवा माध्यमिक विद्यालय घुस्रा सुर्खेतले अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘सहिद र प्रजातन्त्र’ विषयमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको हो । प्रतियोगितामा आधारभूत तहतर्फ धर्मभक्त माथेमा सदनकी सरिता अधिकारी प्रथम, दशरथ चन्द सदनका हरिप्रसाद अधिकारी द्वितीय, शुक्रराज शास्त्री सदनकी संगीता चलाउने तृतीय र दशरथ चन्द सदनकी टीका शर्माले सान्त्वना स्थान प्राप्त गरे ।

त्यसैगरी माध्यमिक तहतर्फ गंगालाल श्रेष्ठ सदनका ईश्वर शर्मा प्रथम, धर्मभक्त सदनका मिलन वली द्वितीय, दशरथ चन्द सदनकी पूजा खड्का तृतीय र धर्मभक्त माथेमा सदनका लोकेश चौलागाई र शुक्रराज शास्त्री सदनका सन्देश रोकायले सान्त्वना स्थान प्राप्त गर्न सफल भए । अतिरिक्त क्रियाकलाप संयोजक पञ्चरत्न शर्माको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक भक्तबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक कृष्णबहादुर थापाले गरेका थिए ।

प्रकाशित मितिः   १७ माघ २०७७, शनिबार ०९:०८