खोपले जगाएको आशा

कोरोना भाइरस (कोभिड–१९)को आतङ्क कायमै छ । यसको जोखिम घटेको छैन । विश्वव्यापी फैलिएको महामारीले धेरैको ज्यान लियो । संक्रमितको संख्या अहिले पनि निकै ठूलो छ । थपिनेक्रम जारी नै छ । नेपालमा पनि कोरोनाले धेरैको ज्यान लियो । संक्रमण नियन्त्रण र रोकथाममा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । विगतमा गरिएका लकडाउन, निषेधाज्ञालगायतका गतिविधि प्रभावकारी हुन सकेनन् । बरु त्यही समयमा संक्रमण दर उच्च भयो । अहिले अवस्था सामान्य हुँदै गएको छ । बन्द भएका क्षेत्र सञ्चालनमा आएका छन् । अहिले कोरोना संक्रमण र भयावह केही कम भएर नियमित दैनिकीतर्फ फर्किए पनि कोरोनाको पूरै रोकथाम, उपचार र नियन्त्रण भइसकेको छैन । कोरोना संक्रमणको जोखिम उच्च हुने गतिविधि बढेका छन् । यहीबीचमा आएको कोरोनाविरुद्धको खोपले भने नयाँ आशा जगाएको छ ।

कोरोनाविरुद्ध खोप तयार पार्न विश्वविज्ञान नै लागिपरेको छ । यसबीचमा केही खोप तयार भएका छन् । कतिपय परीक्षणका क्रममा छन् केही प्रयोगमा आएका छन् । यसले आशाको सञ्चार गराएको छ । नेपालमा पनि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । बुधवारदेखि देशैभर एकसाथ कोभिसिल्ड खोप लगाउन सुरू गरिएको हो । पहिलो चरणमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरूलाई खोप दिइएको छ । सरकारले सुरूमा स्वास्थ्यकर्मी र त्यसपछि प्राथमिकताको आधारमा अन्य नागरिकलाई खोप लगाइने बताएको छ । स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी र एम्बुलेन्स तथा सवारी चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्वयम्सेवक, महिला स्वास्थ्य स्वयम्सेविका र सरसफाइ कार्यमा संलग्न व्यक्तिहरूलाई लगाउन सुरू गरिएको हो ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप संघीय सरकारले सातै प्रदेशमा पठाएको छ । अनुदान स्वरूप आउने यो खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइनेछ । अन्य नागरिकलाई पनि छिट्टै खोप पु¥याउने प्रतिबद्धता सरकारले गरिसकेको छ । ढिलै भए पनि खोप आएको छ । खोप आउनु सुखद कुरा हो । एक वर्षदेखि उपचार पत्ता नलागेको भनिएको कोरोनाविरुद्ध अब खोप तयार भएको छ । उपचार सम्भव हुँदै गएको छ । यसले भयावह आतङ्क अन्त्य हुँदै जोनछ । मानिसहरूमा आत्मबल बढाएको छ । पहिलो चरणमा खोप लगाएपछि फ्रन्टलाइनमा खटिएर संक्रमितहरूको स्वास्थ्य उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा पनि नयाँ उत्साह पैदा भएको छ । त्रासरहित भएर काम गर्न सहज हुनेछ । यसकारण पनि अहिले खोप आउने कुराले आम नेपाली खुशी र उत्साहित छन् । अहिले अनुदानमा आएको खोप प्रयोग गरिएको छ । अब सरकारले आफै खरिद गर्ने प्रक्रियामा जानुपर्दछ । र, जतिसक्दो छिटो आम नेपालीको सहज पहुँच पुग्ने गरी खोप ल्याउनमा सरकारले पहल गर्नुपर्छ । जे होस् यतिबेला कोरोनाविरुद्धको खोपले सबैतिर आशाको सञ्चार गराएको छ । विश्वास जगाएको छ । यो सुखद संकेत हो ।

प्रकाशित मितिः   १६ माघ २०७७, शुक्रबार ०८:२४