अग्निपीडितलाई राहत
तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा भएको आगलागी घटनाका प्रभावितलाई सरकारी निकाय तथा विभिन्न संघ–संस्था र व्यक्तिहरूले राहत वितरण गरेका छन् । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी बिहीवार बिहान राहत सामग्रीसहित घटनास्थल पुगेका छन् । मंगलवार साँझ भएको आगलागीबाट विस्थापित पीडितका लागि हेलिकप्टरबाट आवश्यक राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँ गएका हुन् । ओढ्ने ओछ्याउने न्यानो कम्बल र कपडा, पाल, भाँडाकुडा, खाद्य वस्तुका लागि दाल चामल, नुन तेललगायतका सामग्री लिएर सरकारी टोली त्यहाँ पुगेको हो ।
अग्निपीडित गोठीगाउँबासीका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीण्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, एक सय ५० केजी दाल, २० केजी खुर्सानी बेसार र २८ सेट भाँडाकुडा राहत पठाइएको कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले बताए । आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा तथा बोट विरुवाका बगैचाहरू जलेर नष्ट भएका छन् । विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगे पनि विकट भूगोल र सुख्खा क्षेत्र भइ पानीको अभाव हुँदा बस्ती पूर्णरूपले खरानी भएको प्रहरीले जनाएको छ । मन्त्री भण्डारीसँगै राहत टोलीमा कर्णाली प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाया र दिनबन्धु श्रेष्ठ, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा पनि घटनास्थलमा पुगेका थिए ।
यस्तै, आगलागी पीडितलाई जुम्लाका युवा अमर विष्टले ४० हजार बराबरको खाद्यान्न सहयोग गरेका छन् । आगलागी पछि विचल्लीमा परेका स्थानीयलाई पातारासी गाउँपालिका–६ उर्थुका युवा विष्टले ३५ हजारको चामल, तीन हजारको नुन तेल र दुई हजार रूपैयाँ बराबरको बालबालिकालाई कापी कलम सहयोग गरेका हुन् । यसअघि विष्टले लकडाउनको समयमा समेत तातोपानी–६ का विपन्न घरपरिवारलाई ३० हजार बराबरको राहत सामग्री वितरण गरेका थिए । अग्निपीडित परिमल रोकायाले जायजेथा जलेर नष्ट भएका बेला विष्टले सहयोग गरेर ठूलो गुन लगाएको बताए । अग्निपीडित परिवारलाई रेडियो खुला आकाशले समेत १० हजार रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ । विपद्को बेला थोरै भए पनि पीडितको आलो घाउमा मलहम लगाउने प्रयास गरिएको रेडियो खुला आकाशका सञ्चालक समिति अध्यक्ष लालबहादुर बुढाले बताए ।
प्रकाशित मितिः १६ माघ २०७७, शुक्रबार ०८:२५
साझा बिसौनी ।