‘कोरोनाविरुद्धको खोप सुरक्षित’

कोरोना भाइरस ‐कोभिड–१९) विरुद्धको ‘कोभिसिल्ड’ खोपले कुनै नकारात्मक असर नगर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् । मंगलवार खोप लगाएका स्वास्थ्यकर्मीहरूले ‘कोभिसिल्ड’ले आफूहरूलाई कुनै ‘साइड इफेक्ट’ नगरेको बताएका हुन् । खोप सुरक्षित भएको उनीहरूको भनाइ छ  । बिहीवार जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी स्वास्थ्यकर्मीहरूले कोरोनाको खोप सुरक्षित भएको जनाए । कार्यक्रममा प्रस्तुतीकरण दिँदै कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. नवराज केसीले कोरोनाविरुद्ध दिइने खोपले असर गर्छ कि भन्ने डर नमान्न अनुरोध गरे । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप मंगलवारदेखि देशैभर लगाउन सुरू गरिएको छ । अभियानको पहिलो दिन स्वास्थ्यकर्मीहरूलाई खोप लगाइएको थियो ।

‘हिजो हामी स्वास्थ्यकर्मीहरूले पहिलो चरणमा यो खोप लगायौं,’ उ डा. केसीले भने, ‘तर कुनै पनि ‘साइड इफेक्ट’ देखिएन ।’ उनले सामान्यतया अन्य खोपहरू लगाउँदासमेत ज्वरो आउने, लगाएको ठाउँमा दुख्ने भएकोले कोरोनाको खोप लगाउँदा समेत ज्वरो आउने, वाकवाकी लाग्ने र खोप लगाएको ठाउँमा दुख्ने खालका सामान्य लक्षण देखिने बताए । ‘यसले गम्भीर समस्या निम्त्याउँदैन । सामान्य असर मात्र गर्छ,’ उनले भने । डा. केसीले नेपालमा भारतले परीक्षणका लागि खोप पठाएको भन्ने भ्रममा नपर्न सर्वसाधारणहरूलाई अपिल समेत गरे । आगामी ६ महिनादेखि एक वर्षसम्म सबै नागरिकलाई खोप लगाउने गरी सरकारले तयारी गरेको समेत उनले जानकारी दिए ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले पनि खोप सुरक्षित भएको बताए । उनले अझै पनि कोरोनाको जोखिम नटरेको भन्दै सावधानी अपनाउनुपर्ने जनाए । दूरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोगका लागि उनको आग्रह छ । उनले सुर्खेतमा पहिलो चरणमा दुई हजार आठ सय स्वास्थ्यकर्मी, स्वास्थ्यमा सरसफाइका कर्मचारी, एम्बुलेन्स चालकलाई खोप लगाउने तयारी भएको बताए । कोरोना खोपसम्बन्धी प्रस्तुतीकरण राख्दै वाग्लेले यो खोप गर्भवती, तत्काल गर्भधारण गर्ने महिला, बालबालिका, बच्चालाई दुध खुवाइरहेको महिला, रगत बग्ने समस्या भएको महिला, पहिले नै अन्य रोगको लागि सुइ प्रयोग गरिरहेको व्यक्तिले लगाउन नहुने बताए । खोप लगाउँदा केही समस्या देखापर्छ कि भनेर नै अस्पतालमै खोप लगाउने व्यवस्था मिलाइएको उनी बताउँछन् ।

प्रकाशित मितिः   १६ माघ २०७७, शुक्रबार ०८:२३