अवैध काठ बरामद

सुर्खेत प्रहरीले ठूलो परिमाणमा अवैध सालको काठ बरामद गरेको छ । प्रहरीले भेरीगंगा नगरपालिकाबाट एक सय ४७ थान (७७ दशमलव ६४ क्यूफिट) काठसहित १२ जनालाई नियन्त्रणमा लिएको हो ।

बुधवार दिउँसो पौने २ बजे छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको लु २ ख २१० नम्बरको ट्रकमा अवैध तरिकाले ल्याइँदै गरेको सालको चिरान काठ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठसहित ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ट्रक चालक भेरीगंगा वडा नं. २ सप्तरी बस्ने १८ वर्षीय विकास केसी, सोही स्थानका १३ वर्षीय योगराज बुढा, १२ वर्षीय हिमाल खड्का, १५ वर्षीय मदन भण्डारी, १४ वर्षीय प्रदीप वली र १३ वर्षीय निराजन विकलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।

त्यस्तै, सोही स्थानका २० वर्षीय पदम खत्री, १५ वर्षीय अम्मर डिसी, २२ वर्षीय अनन्त बुढा, २५ वर्षीय तुलबहादुर वली, ३५ वर्षीय सोमबहादुर विक र २० वर्षीय रामबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

प्रकाशित मितिः   १५ माघ २०७७, बिहीबार ०९:१५