कोरोनाविरुद्ध खोप

कर्णालीमा पहिलो दिन झन्डै आठ सयले लगाए कोभिसिल्ड

कर्णालीमा पहिलो दिन झन्डै आठ सयले लगाए कोभिसिल्ड


कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बुधवारदेखि देशैभर लगाउन सुरू गरिएको छ । पहिलो दिन कर्णाली प्रदेशका १२ वटा खोप केन्द्रबाट कोरोना भाइसविरुद्धको (कोभिसिल्ड) खोप लगाइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पहिलो चरणमा प्रदेशका ११ हजार सात सय ८१ लाई खोप लगाइने छ । बुधवार पहिलो दिन कर्णालीमा सात सय ५१ जना स्वास्थ्यकर्मीलाई खोप लगाइएको हो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले पहिलो खोप लगाएका थिए । त्यसपछि मात्र अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो । प्रदेश अस्पतालमा आयोजना गरिएको खोप कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले खोप हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका हुन् । उनले कोरोना नियन्त्रण र उपचारमा राम्रो सुरुवात भएको बताए । अब दोस्रो चरणमा नागरिकहरूलाई खोप उपलब्ध गराउनका लागि प्रदेश सरकारले पहल गर्ने उनले जनाए ।

सरकारले सुरूमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र त्यसपछि प्राथमिकताको आधारमा अन्य नागरिकलाई खोप लगाइने बताएको छ । कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी र एम्बुलेन्स तथा सवारी चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्वयम्सेवक, महिला स्वास्थ्य स्वयम्सेविका र सरसफाइ कार्यमा संलग्न व्यक्तिहरूलाई लगाउन सुरू गरिएको हो । निर्देशनालयका अनुुसार पहिलो दिन सुर्खेतमा तीन सय नौ, जुम्लामा एक सय २३, कालिकोटमा ७९, रुकुम–पश्चिममा ६१, जाजरकोट र मुगुमा ४०÷४०, सल्यानमा ३०, हुम्लामा २९ तथा दैलेख र डोल्पामा २०÷२० जनालाई खोप लगाइएको छ ।

सुर्खेतमा दुई हजार सात सय ८१, दैलेखमा दुुई हजार, जुुम्लामा एक हजार सात सय दुई, जाजरकोटमा एक हजार एक सय ४५, सल्यानमा एक हजार एक सय २३, कालीकोटमा एक हजार २१, मुुगुमा पाँच सय ४८, डोल्पामा पाँच सय ११, रुकुम–पश्चिममा पाँच सय र हुम्लामा चार सय ५० जनालाई पहिलो खोप लगाइने छ । अबको एक हप्ताभित्र लक्षित सबैलाई खोप लगाइसक्ने निर्देशक खड्काले जानकारी दिए । उनका अनुसार दोस्रो डोजको खोप पहिलो खोप लगाएको २८ दिनको अन्तरमा लगाइनेछ ।

कोरोना खोप लगाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू उत्साहित बनेका छन् । कोरोनाको रोकथाम र उपचारमा अग्रपंक्तिमा खटिका स्वास्थ्यकर्मीले अब केही सहज हुुने अपेक्षा गरिएको बताए । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले खोप उपलब्ध गराउने नेपाल र भारत सरकार दुवै धन्यवाद दिए । ‘नेपालमा यति चाँडै खोप आउँछ भन्ने लागेको थिएन । हामीले सोचेकोभन्दा पनि छिटो खोप लगाउन पाइयो,’ उनले भने । प्रदेश अस्पतालका विशेषज्ञ डा. के.एन. पौडेलले कोरोनाको खोप लगाइसकेपछि केही आशा पलाएको बताए । अब सबै नागरिकलाई खोप लगाउनतर्फ सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।

कर्णाली प्रदेशमा गएको जेठ ५ गते पहिलो पटक भारतबाट फर्किएका दैलेखका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । झण्डै नौ महिनापछि कर्णालीमा कोरोनाविरुद्धको खोप आएको हो । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या सात हजार पाँच सय एक पुगेको छ । हालसम्म सात हजार दुई सय ६४ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या दुई सय आठ रहेको छ । संक्रमण देखिएका २९ जनाको मृत्युु भइसकेको छ । सुर्खेतका १६, दैलेखका ६, सल्यान, रुकुम–पश्चिम, कालीकोट र डोल्पाका एक÷एक र अन्य प्रदेशका तीन जनाको कोरोनाका कारण ज्यान गएको हो ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप संघीय सरकारले कर्णाली प्रदेशका लागि २६ हजार डोज पठाएको छ । भारतले नेपाल सरकारलाई १० लाख डोज कोभिसिल्ड उपलब्ध गराएको थियो ।

यस्तै, कोरोना भाइरसविरुद्धको खोप पहिलोे दिन देशभर नौ हजार बढीले लगाएका छन् । खोप अभियान अन्तर्गत बुधवार नौ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको थियो । पहिलो दिन स्वास्थ्यकर्मीलाई खोप लगाइएको हो ।

प्रकाशित मितिः   १५ माघ २०७७, बिहीबार ०९:१३