कोरोनाविरुद्धको खोप अभियान आजदेखि

संक्रमण देखिएको नौ महिनापछि पाए कर्णालीबासीले खोप

कोरोनाविरुद्धको खोप अभियान आजदेखि


कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान बुधवार (आज)बाट सुरु हुँदैछ । कोरोनाविरुद्धको खोप कर्णाली प्रदेश लगायत देशभर लगाइँदै छ । कर्णाली प्रदेशमा पनि यसको तयारी गरेर लक्षित कोरोनाविरुद्धको खोप लगाउन लागिएको हो । भारत सरकारले नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोप अनुदानमा दिएको छ । उक्त खोपमध्ये २६ हजार डोज कर्णालीमा आएको हो । संघीय सरकारले कर्णालीका लागि सोमवार खोप पठाएको थियो । कर्णाली प्रदेशमा गएको जेठ पाँच गते पहिलो पटक भारतबाट फर्किएका दैलेखका एक जना पुरुषलाई कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएको झन्डै नौ महिना पछि कर्णालीबासीले खोप लगाउन पाउने भएका हुन् ।

खोप लगाउनका लागि कर्णालीमा पनि सबै तयारी पूरा भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश सरकारले पहिलो चरणमा खोप लगाउने व्यक्तिहरूको विवरण संकलन गरेर तयारी अघि बढाएको छ । निर्देशनालयका अनुसार पहिलो चरणमा कोरोनाविरुद्धको ‘भ्याक्सिन’ कर्णालीका ११ हजार सात सय ८१ जनालाई लगाइने छ । सुर्खेतमा दुई हजार सात सय ८१, हुम्लामा चार सय ५०, दैलेखमा दुुई हजार र कालीकोटमा एक हजार २१, मुुगुमा पाँच सय ४८, जाजरकोटमा एक हजार एक सय ४५, जुुम्लामा एक हजार सात सय दुई, डोल्पामा पाँच सय ११, सल्यानमा एक हजार एक सय २३ र रुकुम–पश्चिममा पाँच सय जनालाई खोप लगाइने छ । कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी र एम्बुलेन्स तथा सवारी चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्वयम्सेवक, महिला स्वास्थ्य स्वयम्सेविका तथा सरसफाई कार्यमा संलग्न व्यक्तिहरूलाई लगाइने जनाइएको छ ।

निर्देशनालयका निर्देशक डा. रविन खड्काले आजदेखि सबै जिल्ला अस्पतालहरूमा खोप लगाइने बताए । उनका अनुसार प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य जिल्ला अस्पतालबाट खोप दिइने छ । ‘हामीले तालिम दिने, अभिमुखीकरणलगायत सबै तयारी पूरा गरेका छौं,’ उनले भने, ‘आजदेखि खोप लगाउन सुरू हुन्छ ।’ उनले मंगलवार साँझसम्म आठ वटा जिल्लामा खोप पुगिसकेको भन्दै हुम्ला तथा मुगुमा आज (बुधवार) बिहान पठाइने जानकारी दिए ।

प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या सात हजार पाँच सय एक पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या सात हजार दुई सय ६४ छ भने संक्रमण देखिएका २९ जनाको मृत्युु भएको छ । सुर्खेतका १६, दैलेखका ६, सल्यान, रुकुम–पश्चिम, कालीकोट र डोल्पाका एक/एक र अन्य प्रदेशका तीन जनाको कोरोनाका कारण ज्यान गएको हो । कर्णालीमा ९६ हजार नौ सय ८३ जनाको कोरोना परीक्षण भएको छ ।


खोप कसले लगाउन मिल्दैन ?

पहिलो चरणमा नेपालमा कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना छ । १५ वर्ष मुनिका बालबालिकामा कोभिड–१९ विरुद्धको खोप परीक्षण नभएकाले उनीहरूलाई खोप दिइने छैन । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अस्थिर शारीरिक अवस्था भएका, मुटु रोगको औषधि प्रयोग गरिरहेका जटिल बिरामीले यो खोप लगाउन मिल्दैन । यस्तै अक्सिजन लिइरहेका बिरामीले पनि कोभिडविरुद्धको खोप लिन मिल्दैन ।

गर्भवती महिलालाई पनि कोभिड–१९ विरुद्धको खोप दिन नहुने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. पीआर पन्तको भनाइ छ । गर्भवतीको शरीर र पेटमा भएको शिशुलाईसमेत यो खोपले नकारात्मक असर गर्नसक्ने सम्भावना भएकाले उनीहरूलाई यो खोप दिन नहुने उनको तर्क छ । सरकारले पहिलो चरणमा खोप लगाउनको सूचीमा यदी कोही स्वास्थयकर्मी नै यस्ताखाले बिरामी, गर्भवती, स्तनपान गराइरहेका महिलाहरूलाई ‘वेटिङ लिस्ट’मा राखेको छ । खोप सचिवालय सदस्य डा. श्यामराज उप्रेतीका अनुसार यस्ता व्यक्तिको नामावली खोप सूचीमा भए पनि उनीहरूलाई केही समय पर्खाइमा राखेर अवस्था सामान्य भएपछि खोप दिइने छ ।

प्रकाशित मितिः   १४ माघ २०७७, बुधबार ०८:२४