नेकपा फुटको असर सामुदायिक संस्थामा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको फुटको असर सामुदायिक संघ–संस्थामा पनि पर्न थालेको छ । सामुदायिक वन उपभोक्ता समिति गठनमा नेकपा ओली र प्रचण्ड–नेपाल समूह छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका हुन् । वीरेन्द्रनगर–५ को रामजानकी सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनमा नेकपा विभाजनको असर देखिएको हो ।
उपभोक्ता समितिको निर्वाचनमा नेकपाको केपी शर्मा ओली समूह, कांग्रेस र राप्रपाले संयुक्त प्यानल बनाएका छन् भने पुष्पकमल दाहल प्रचण्ड र माधवकुमार नेपाल समूहले छुट्टै प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । संयुक्त प्यानलबाट जगतबहादुर भण्डारी अध्यक्षको उम्मेदवार बनेका छन् । प्रचण्ड–नेपाल समूहबाट ममता कार्की अध्यक्षको उम्मेदवार छिन् ।
१३ सदस्यीय वन उपभोक्ता समितिको नेतृत्व चयनका लागि मंगलवार निर्वाचन सम्पन्न भएको छ । कुल एक हजार पाँच सय ८७ मतदाता रहेको उक्त सामुदायिक वनमा एक हजार एक सय १७ मत खसेको निर्वाचन समितिले जनाएको छ । मंगलवार साँझ यो समाचार तयार पार्दासम्म मतगणना भने सुरू भएको थिएन ।
प्रकाशित मितिः १४ माघ २०७७, बुधबार ०८:२०
साझा बिसौनी ।