कुकुरलाई निःशुल्क बन्ध्याकरण

वीरेन्द्रनगर नगरपालिकामा रहेका घरपालुवा तथा अन्य कुकुरहरूका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । संघ, प्रदेश र स्थानीयतहको सहकार्यमा कुकुरहरूको बन्ध्याकरण र रोग अन्वेषण तथा रेविजविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

कर्णालीमा पहिलो पटक प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरलाई बन्ध्याकरण शिविर सञ्चालन गरिएको बताइएको छ । सामुदायिक कुकुहरूका कारण राजमार्ग तथा अन्य सडकहरूमा दुर्घटना बढ्ने, रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरणसहित रेविज रोगको खोप पनि लगाइने भएको छ ।

सामुदायिक कुकुरका कारण विभिन्न समस्या हुने भएकाले कुकुरको संख्या घटाउन शिविर सञ्चालन गरिएको पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डाक्टर कृष्णराज पाण्डेले बताए । कुकुरको संख्या बढ्न नदिन तथा उचित व्यवस्थापनका लागि बन्ध्याकरण गर्न लागिएको उनको भनाइ छ । प्रदेशमै पहिलो पटक विशेषज्ञ सेवासहित शिविर सञ्चालन गरिएको उनी बताउँछन् ।

पहिलो चरणमा वीरेन्द्रनगर नगरपालिकाभित्रका सामुदायिक कुकुरहरूलाई खोप दिइनेछ । शिविरका लागि आठ जना पशुचिकित्सक प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएको पशुपन्छि विकास निर्देशनालयका निमित्त निर्देशक मोहन गिरीले जानकारी दिए । यो अवधिमा तीन सय बढी कुकुरलाई सेवा प्रवाह गरिने गिरीले बताए ।

सोमवार र मंगलवार बिहानसम्म करिब एक सय ५० वटा कुकरको बन्ध्याकरण गरिएको थियो । बजारमा रहेका सामुदायिक कुकुरहरूलाई भेटेरीनरी एम्बुलेन्समार्फत पशुपन्छि विकास निर्देशनालयमा ल्याएर निःशुल्क बन्ध्याकरण गरेर छोडिने गरिएको छ । घरपालुका कुकुर सम्बन्धित घरधनी आफैले लिएर शिविर स्थलमा आए पनि बन्ध्याकरण गर्ने गरिएको छ ।

प्रकाशित मितिः   १४ माघ २०७७, बुधबार ०८:१५