वीरेन्द्रनगरको सौन्दर्य
केही समयअघिसम्म वीरेन्द्रनगर अहिलेको जसरी बजारीकरण भइसकेको थिएन तर व्यवस्थित थियो । दुर्गन्धित भइसकेको थिएन । मिलेको उपत्यकामा व्यवस्थित बस्ती थियो । स्वच्छ हावापानी, सरसफाई र धार्मिक, पर्यटकीय तथा पुरातात्विक स्थलहरूका कारण वीरेन्द्रनगर आउने जो–कोही आगन्तुक यहाँको सौन्दर्यले लोभिन्थे । जसका कारण वीरेन्द्रनगर पश्चिम नेपालकै सुन्दर नगरीको रूपमा परिचित थियो ।
समय फेरियो । जनघनत्व बढ्दै गयो । पूर्वाधार विकास भए । शहरीकरण बढेर गयो । जनसंख्याका सथासाथै सवारी साधनको चाप पनि बढिरहेको छ । तर यहाँ सोहीअनुसारको सरसफाइ हुन नसक्दा फोहोर व्यवस्थापन चुनौतीको विषय बनेको छ । जीर्ण सडक, अव्यवस्थित फुटपाथ र फोहोर व्यवस्थापनमा नगरपालिकाले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । नगरपालिकाले पछिल्लो समय वडा कार्यालयलाई सम्बन्धित वडाको फोहोर व्यवस्थापनको लागि जिम्मेवारी दिएको छ । फोहोरमैला व्यवस्थापन सम्बन्धी नगरपालिकाले कार्यविधि समेत बनाएको छ । त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगर्दा फोहोर व्यवस्थापन हुन नसकेको हो ।
बढ्दो जनसंख्या र व्यवस्थित गुरुयोजनाको अभावमा सुन्दरनगरको पहिचान बनाएको नगरपालिका अहिले कुरूप बनेको छ । खेतीयोग्य जमिन प्लटिङ भएपछि घना बस्तीमा बदलिएको छ । जथाभावी संरचना बनाइनु तथा मनपरी सडक विस्तार गरिँदा वीरेन्द्रनगर पछिल्लो समय अव्यवस्थित बनेको हो । प्रदेशको राजधानीसमेत रहेको नगरलाई पुनः सुन्दरनगरीकै रूपमा फर्काउन सरकारी तथा गैरसरकारी निकायहरूले विभिन्न कार्यक्रम तथा अभियान चलाए पनि प्रभावकारी हुन सकेका छैनन् । स्थानीय तथा प्रदेश सरकार गठन भएपछि वीरेन्द्रनगरमा सरसफाइ अभियानले केही दिन गति लियो । मुख्यमन्त्री, मन्त्रीलगायत नगरका जनप्रतिनिधि हातमा कुचो र बेल्चे लिएर सडकमा देखिए । सचेतना फैलाउन उनीहरूले केही हप्तासम्म अभियानलाई निरन्तरता पनि दिए । नालीको फोहोर र विभिन्न सार्वजनिक स्थलमा जम्मा भएका प्लाष्टिक टिप्न हरेक महिनाको १ र १५ गते उनीहरू सडकमा पुग्थे । प्रदेश सरकारले श्रमदिन अभियान सञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाएर सरसफाइ लक्षित काम समेत अगाडि बढायो । कार्यविधिमा श्रम अभियानको कार्यक्षेत्र स्वास्थ्य, शिक्षा, सरसफाइ, सार्वजनिकस्थलको मर्मत सम्भार, वातावरण संरक्षण तथा पर्यावरण सुधारलगायत रहने व्यवस्था गरियो । तर, न त सरकारी निकायले थालेको अभियानले लामो समय निरन्तरता पायो न त अभियानको सिको नगरबासीले गर्न सके । सरसफाइ अभियानहरू पनि सुस्ताए । सडक पुनः उस्तै फोहोर र अस्तव्यस्त देखिन थाल्यो ।
सरकारी तथा गैरसरकारी क्षेत्रबाट सरसफाइका अभियान सञ्चालन गरे पनि स्थानीयमा भने त्यसका लागि जागरुकता आएन । नगरबासीमा अभियानहरूको सिको गर्ने प्रवृत्ति नभएका कारण सरसफाइमा चुनौती बढेको छ । घर अगाडिको फोहोर सरकारले नै आएर उठाइदिनुपर्छ भन्ने सोचबाट नगरबासी मुक्त हुन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिकाले नगरलाई सफा राख्न सरसफाइ सम्बन्धी कार्यविधि बनाएको लामो समय बित्यो । तर पनि पूर्णरूपमा त्यसको कार्यान्वयन हुन सकेको छैन । वीरेन्द्रनगरको सुन्दर नगरीको परिचय पुनस्र्थापित गर्न कार्यविधि कार्यान्वयन अपरिहार्य भएको छ ।
प्रकाशित मितिः १४ माघ २०७७, बुधबार ०८:०६
साझा बिसौनी ।