अाेली सरकार ढल्दैन, बरु कांग्रेसलाई पनि समेटौं : बिजुक्छे

सुर्खेत ६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले केपी ओली नेतृत्वको वर्तमान सरकार तत्काल परिवर्तन नहुने बताएका छन् । देश संकटमा रहेको बेलामा ओली सरकार गठन भएको र मुलुकलाई निकास दिन पनि यही सरकारलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ । अहिले नै सरकार परिवर्तनको खेलमा लागे भुकम्प र भारतीय नाकाबन्दीले थला परेको देश थप संकटमा फस्ने उनले दाबी गरे । 
राष्ट्रिय सरकार गठनको बहस भइरहेका बेला अध्यक्ष बिजुक्छेले राष्ट्रिय सरकार भन्दा पनि संयुक्त सरकारमा जोड दिनुपर्ने बताए । नेपाल क्रान्तिकारी युवा संघले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बिजुक्छेले भने,‘ओली सरकार परिवर्तन तत्काल हुँदैन, नाकाबन्दी र भुकम्पले देश थला परेको कठिन अवस्थामा यो सरकार गठन भएको हो । सरकार नै ढाल्नुपर्ने गरी यो सरकारले के बिगारेको छ र ? बरु कांग्रेसलाई पनि यही सरकारमा समेटेर संयु्क्त सरकार बनाउँदा देशका लागि हितकर हुन्छ ।’ संयुक्त सरकार सम्भव भए पनि राष्ट्रिय सरकार सम्भव नभएको भन्दै उनले सबै दलहरु सहभागि राष्ट्रिय सरकार गठन भए त्यो पञ्चायती शैली हुने बताए । उनले मुलुकको तीव्र परिवर्तनका लागि शसक्त प्रतिपक्षको जरुरी रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि सरकार परिवर्तन हुने हल्ला चलेको भन्दै उनले त्यो सम्भावना नरहेको बताए । भुकम्पपीडितको पुनस्र्थापना, संविधानको कार्यान्वयन र कालोबजारी नियन्त्रणका लागि पनि तत्काल सरकार परिवर्तनको खेलमा लाग्न नहुने बिजुक्छेको भनाइ छ । उनले थपे,‘अहिले नै सरकार फेर्ने कुरा हतार हुन्छ, बरु कांग्रेस र मधेसवादी दलहरुलाई पनि यही सरकारमा सहभागि गराऔं । यदी यो सरकार ढाल्ने खेलमा लाग्यो भने मुलुक गहिरो संकटमा फस्नेछ, जनताले थप सास्ती भोग्नुपर्ने अवस्था आउनेछ ।’ ओलीले राष्ट्रियताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएकै कारण आफ्नो पार्टीले वर्तमान सरकारलाई समर्थन गरेको भन्दै बिजुक्छेले अहिले नै समर्थन फिर्ता लिने र सरकार परिवर्तनको काममा नलाग्ने समेत स्पस्ट पारे । एक फरक प्रशङ्गमा बिजुक्छेले कामदार र गरिबहरुको एउटा तथा जमिनदार, दलाल र तस्करहरुको अर्को गरी नेपालमा दुईवटा मधेस रहेको बताए । आफूहरु कामदार मधेसको पक्षमा रहेको भएपनि अहिले केही जमिनदार र दलालहरुले मधेसको नाममा राजनीति गरिरहेको समेत आरोप लगाए । भारतको इशारामा मधेसमा अस्थिरता उत्पन्न गराउन खोजिएको भन्दै उनले यसतर्फ सचेत हुनुपर्ने बताए ।
                                                       
प्रकाशित मितिः   ६ चैत्र २०७२, शनिबार ०९:११