परदेशीको व्यथा
सूर्यनारायण पुरी |
ठूला अग्ला घर, गाडीहरूको बाक्लो भिड, अझ भनौं सबै जना मंगोलिएन मात्रै । नेपाली भेटिनु त भगवान् नै भेटिनु जस्तो लाग्थ्यो मलाई ।
मैले एयरपोर्ट पुगुन्जेलसम्म नियालिरहें, दृश्य । उसै त सिंहापुरको एयरपोर्ट विश्वमा नै उत्कृष्ट भन्थे । सोचें, साँच्चै नेपालका पनि विमानस्थलहरू यस्तै भएको भए कस्तो हुँदो हो ? मैले त्यो एयरपोर्टबाट कोलालमपुरको एयरपोर्टमा अवतरण भएको पत्तो नै पाइन । एयरपोर्टको त्यो ‘चेकिङपोइन्ट’ निर म भन्दा अगाडि हरियो पासपोर्ट समातेर काटिकुटी नेपाली जस्तो अनुहार, कालो रेबनमा हाफपाइन्ट, साइट ब्याग, अलि नेपाली कालो रङको अनुहार एक जना आएर भन्यो ‘हजुर पनि नेपाली हो ?’
‘एस, एण्ड यू ?’
‘मि टु ।’ उसले अङ्गेजीमा नै वार्तालाप गर्न थाल्यो । हामी केही छिन नजिकैको कफीसोपमा बस्यौं र कफी पिउँदै सुख–दुःख बाँड्यौं । एक हप्ताको अन्तरालपछि नेपाली नगरकोट भनेर चिनिने ठाउँमा भेट हुन निम्तो छोड्यौं र हामी छुट्टियौं ।
मौसम साह्रै रहर लाग्दो थियो । आइतवारको दिन नेपालीहरूको छुट्टी दिन पनि । सबै त्यो कोलालाम्पुरको बसपार्क नजिकै नगरकोट भनेर नामाङ्कन गरेको सानो बगैंचाभित्र जम्मा हुँदा रहेछन् । उता केएलटावर, अझ भनौं बीएम भन्ने ठाउँमा पनि जम्मा हुँदा रहेछन् नेपालीहरू त । तर मलाई त बसाइँ नजिक भएकोले होला बसपार्क नै जान नजिक भयो र मनले पनि त्यही जान निक्र्यौल ग¥यो । बसपार्कमा पुगें । सबै नेपालीसँग भेट हुन पाउँदा मन खुशी हुन्छ कि भन्ने आश गरिरहेको थिए । आफ्नै नेपाल जस्तो लाग्यो । जता हेरे पनि काटिकुटी नेपाली जस्तै अनुहार भएकाहरूको जमात थियो । त्यो फूलको बुटा नजिकै पेटीमा बसेर मन्द मनमा हावाका झोकाहरूको अनुपममा म त्यो ठूलो बसपार्कको चाल हेरिरहेको थिएँ । एकजना अपरिचित आएर ‘हाइ’ भन्यो । मैले पनी ‘हाइ’ भनिदिएँ । सायद नेपाली जस्तो लाग्यो होला, उसलाई पनि । मैले पनि ठम्याएँ, नेपाली नै हो भनेर । ‘सन्चै ?’ उसले भन्यो । ‘हजुर, सन्चै’ मैले भनें ।
‘अनि आज छुट्टी हजुरको ?’ उसको प्रश्नमा मनमनै हाँस्दै भनें, ‘हो, आज बिदा छ मेरो पनि । अनि कति भयो नि सर, हजुर यो मलेसिया आएको ?’
‘धेरै भएको छैन भनुम् । घर कता नि ?’ ऊ मलाई मेरो नालीबेली सोधिरहेको हुन्छ । तर मलाई भने जवाफ दिनलाई हम्मे–हम्मे । ऊ नभन्दै हाम्रै छिमेकी रहेछ । अनि थप्यो ‘सर किन यत्रो पढेको मान्छे नेपालमा काम पाउनु भएन ?’ उसले मलाई काम नपाएर विदेश आएको जस्तो सोचिरहेको हुन्छ । मैले पनि मौका पाएर भनिदिएँ ‘म काम गर्नलाई आएको होइन सर । म त घुम्नलाई हो, अनि तपार्इं किन आउनु भएको नि, तपाईं पनि त राम्रै खानदानको भन्नु हुन्छ’ मैले पनि थपिदिएँ । सायद यसमा मेरो नै दोष हुँदो हो । उसलाई नजिकबाट नियाल्न खोज्नुको । तर ऊ भावुक हुँदै भन्न थाल्यो ‘विदेश आउनु हरेक नेपालीको आ–आफ्नै बेथा हुन्छ । यो खाडी मुलुकमा आउनु हरेक नेपालीको बाध्यता हुन्छ लामो कहानी हुन्छ ।’ ऊ यसो भनिरहेको थियो । म एक छिन लामो श्वास फेर्दै बसाइँलाई अझ व्यवस्थित बनाएर एक तमसले उसलाई नियालीरहेको हुन्छु । अझ थपेर भन्छ ‘म पनि त्यही बाध्यताको परिधिभित्र घस्रिरहेको मान्छे । आज यो ठाउँमा छु । थाह छैन भोलि सायद मरिन्छ कि बाँचिन्छ । तर पनि हरेक पलपल म आफनै पेट पाल्नको लागि सङ्घर्ष गर्दैछु । सायद म जस्तै यहाँ धेरै नेपाली साथीहरू पनि हुनुहुन्छ ।’ ऊ यसरी मनमा गाँठो पारेको कुरा भन्दै थियो कि, आजसम्म कसैलाई नभनेको कुरा मलाई मात्र सुनाउँदै छ जस्तो गरी । तर पनि मैले विचरा भनेर सहानुभूति दिइएर उसलाई, समर्थन जनाइ दिएँ । सायद बिदाको दिन भएर होला, कामको थकान भन्दा मनको थकान बढी नै भएको झैं गरी, बेला–बेला आफ्नो रूप देखाउँथ्यो ऊ । विस्तारै अझ खुलेर कुरा गर्न थाल्यो ‘सर विगतको मेरो घरपरिवार सम्झिदा क्या उदेग लागेर आउँछ अचेल ।’ ऊ अचानक घरको कुरा मसँग जोड्न खोजिरहेको हुन्छ । म अझ थाहा नपाए जस्तो गरी फेरि कस्तो उदेग भनेर उसलाई कौतुहल भएझैं रूप देखाइदिन्छु । उसले फेरि तल्लो ओठ चाट्दै, लामो श्वास लिदैं भन्छ, ‘सर हजुरको डायरी लेखेको हो ?’ मेरो हातको डायरी समातेर उसले यसो भन्यो । ‘हैन, किन नि ?’ मैले सोधें । ‘मेरो कथा लेख्नु हुन्छ ?’ ऊ कथा लेख्नलाई बाध्य बनाउँदै थियो मलाई । तर पनि ‘खासै कथा लेख्न त आउँदैन तै पनि कोशिस भने गर्छ’ मैले उसलाई जवाफ दिएँ ।
उसले मलाई उठाएर भन्यो, ‘सर पहिला कफी लिउँ अलि मन हलुका पनि हुन्छ । त्यसपछि आएर बसौंला हुन्न ?’ मलाई समय ठेल्न खोजेकोले पटक्कै मन परेको थिएन । तर पनि ‘हुन्छ’ भनिदिएँ । हामी त्यहाँ नजिकै, सिंहापुर कफी सपमा कफी पिइ सकेपछि फेरि पुरानै स्थानमा फर्किए । सबै नेपालीहरू गोलो घेरामा ठाउँ–ठाउँमा बसिरहेका थिए । हामी भने त्यो फूलको बोट नजिकै हरियो दुबोमा बसिरहेका थियौं । ‘सर कथा कहाँबाट सुरु गरुम् र कहाँ लगेर अन्त्य गरुम् ? उसले थप्यो, ‘यस्तो लाग्छ कि अचेल, हरेक पल, हरेक समय, म निर्बाध रूपमा अचल देख्छु, कहीं कतै मेरो लागि, कोही पनि बनेको होइन होला जस्तो सोचाइ आउँछ । म हजारौं मानिसहरूको भिडमा हुन्छु र पनि म एक्लो हुन्छु ।’ मसँग ऊ यत्ति नजिक भइसकेको हुन्छ कि सायद यत्तिको नजिक मेरो आत्मीय मित्र पनि भएको थिएन होला र बच्चादेखिको साथी पनि । मैले सोचें, आज बिदाको दिन । घर सम्झियो होला, साथीभाइ सम्झियो होला, त्यसैले यसरी भावना व्यक्त गर्दैछ । म त नेपालीको माया कसरी बाँड्छन् भनेर पहिलो पटक आएको मान्छे तर तरिका यस्तो हुँदो रहेछ भनेर मनमनमा सोचिरहेको हुन्छु । अनि मैले पनि सहज रूपमा बस्दै भने ‘हुन्छ, कथा सुनाउनुस् न पहिले, कथाको अन्त्य मै गरुला’ भनेर जवाफ दिइसकेपछि उसले सहमत जनाउँदै आफ्नो जीवनको कथा यसरी सुरु ग¥यो ।
‘बिहान जुरूक्क उठ्थें । नाङ्गा पैताला ढुङ्गामा ठोक्काउँदै ठूलीआमाको पछि लागेर वनमा घाँस काट्न जान्थें । दिनभरी बाख्रा चराउँथें । बिहान बेलुकी कोदाको अलिनु खोलेले भोक टार्थें । कोदाको खोले थालमा खन्याउँदा थालै कालो हुन्थ्यो । त्यही पनि अलिनु, नुन कहाँ देख्नु र ठूल्या आमा एक माने भड्डुमा धानको भात पकाएर खान्थिन् । भातको सेतो सितो देख्दा म घुटुक्क थुक निल्थें । आठ वर्षको हुँदासम्म मलाई एकपल्ट मात्र धानको भात खान पाएको सम्झना छ । मेरो आमाले पटुकामा बुबादेखि लुकाएको पाँच रूपैयाँले म स्कुलमा डट्पेनको लिट किन्थे । दिनभरि आमाले घाँस काट्थिन, दाउरा काट्थिन । तर साँझ बा ले रक्सी धोकेर आउँथे र उल्टै घरमा आमालाई र हामीलाई खाना पनी खाना नदिइ घरबाट लखेट्थे । मलाई सम्झना छ, कयौं दिन त्यो परालटौवाभित्र, गोठभित्रको स्याउलाभित्र रात काटेकोे । त्यो एक रात त बहिनीले आमा भोक लाग्यो भन्दै गर्दा मन चसक्क भएको थियो मेरो ।
म कक्षा चारमा पढ्दा सरले अरहरको लठ्ठीले हान्दा, सब कक्षाका साथीले आँखाबाट आँसु निकालेका थिए । तर मैले चोट रतिभर पनि मानिन । किन भने मलाई बा ले घरमा दिनदिनै कति हान्थे कति । बेथेको तरकारी र कोदाको रोटी जीवनको सहारा बनेको थियो मेरो । जब म कक्षा १० मा पढ्न थालें सबै साथीहरू ट्युसन पढ्न लागे । तर मेरो आमाले मलाई रोड खन्न साथमा लिनुहुन्थ्यो र साँझ परको पसलबाट चामल लिइएर छाक टाथ्र्यौं । म सानो छँदा बा ले भएको जग्गा पनि रक्सी खाएर बेचेछन् । आमाले भन्नुहुन्थ्यो म थाहा पाउने भएपछि ‘बाबु तँ सानो छँदा तेरो बा ले तलाई र मलाई मार्न खोज्दै थियो । जग्गाको लालपूर्जा दे नत्र यो छोरोलाई नै मार्दिन्छु भनेर । तर तँलाई बचाउनतिर लागे बरु जग्गाको लालपूर्जा उसैको हातमा फालिदिएँ ।’ कयौं पिर बेथाहरू सुनाउनु हुन्थ्यो मेरो आमाले मलाई । त्यो भदौको महिना खेतको आलीहरू टपक्क थुन्यो, अनि मुसाको प्वालहरू बन्द ग¥यो । खेत गोड्नलाई हातखुट्टा सबै पानीमा नै डुबाएर टपक्क खेतमा बस्यो र पनि त्यो भदौको घामले आधा जीउ पानीमा डुबाउँदा पनि घामले कति पोल्छ है । जब म विस्तारै थाहा पाउने भए, आफ्नो बारेमा सोच्दै गएँ । अन्तत बाँच्न समेत मलाई हम्मे–हम्मे पर्न थाल्यो । घरमा बुढो आमा
हुनुहुन्छ । बा स्वर्गवास भएको अहिले तीन वर्ष जति भयो । बिहे गरेको थिएँ । उसले पनि बिहे गरेको एक वर्ष नबित्दै अर्कै ठाउँमा बिहे गरेर गइ । आज न त मेरो चिन्ता गर्ने कोही छ, न त आँसु बगाउँदा कठै भन्ने नै कोही छ । बस यो खाडी मुलुकमा म एक्लो छु, मात्र एक्लो । हुन त यो संसारमा सब थोक छ र पनि म निश्पात् एक्लो छु । म काम गर्ने ठाउँमा अहिले धेरै नेपाली साथीहरू हुनुहुन्छ । कति धेरै सम्झाउनुहुन्छ तर पनि म रोइदिन्छु । किन–किन यी आँखामा घरको मात्रै याद आउँछ । एक्लो आमा बल्लो घर पल्लो घर कोही पनि छैन आमाको साथी । आजकाल म यत्ति धेरै रुन्छु कि सायद सानो बच्चाहरू र म मा केही पनि फरक छैन होला । उनीहरू ठूलो स्वरमा आवाज निकालेर रुन्छन् त म भित्र–भित्र जलेर रुन्छु । जुन दिनदेखि यो खाडी मुलुकको माटोमा खुट्टा टेके घरमा एक पटक पनि फोन गरेको छैन । मोबाइल पनि छैन । त्यो माथिको हजुर बा को पनि ऋण कति धेरै छ । उफ सम्झिँदा पनि ऋणको नाम सुन्दा पनि काँडा फुलेर आउँछ । कहाँ भागुँ कता जाउँ, कसको अगाडि गएर मनको भारी बिसाउँ, कोही नहुँदो रहेछ दुःखमा साथ दिने, आजकालका यी प्रदाडित दिनहरू नियमित झैं भइसकेका छन् । मलाई उज्यालो, राम्रो, मिठो, आफन्त यी सब केही पनि राम्रो लाग्दैन । म बेहोस भएको हुन्छु । हरेक क्षण किन ढिलो बितिरहेका छन् । यहाँ आएदेखि त खाना खाँदा पहिलो गास मुखमा हाल्दा पनि केही घाँटीमा अड्केको छ, जस्तो हुन्छ । सब थोक भद्रगोल लाग्छ । आजकालका हरेक रात कल्पनामा बितिरहेका हुन्छन् र उज्यालो भएको पत्तो नै हुँदैन । कुनै बेला त लाग्छ आधा रातमा आएर मेरो कसैले घाँटी थिचिरहेको हुन्छ जस्तो । धड्नक बढ्छ, मुख सुकेर च्याप च्याप हुन्छ, मानौं एक महिना पहिलेदेखि म पानी नपाएको जस्तो हुन्छु ।
म कहाँ जाउँ के गरुँ, कसको अगाडि गएर मनको भारी बिसाउँ, यो छेदबिच्छेद मनलाई कसको अगाडि प्रदर्शन गरुँ, मेरा यस्ता भयानक पीडाहरूको सम्बोधन कसले गर्ला । म एकाएक छेदविच्छेद भएको भारी, उजाड मन लिएर यहाँ आइपुगे । आजकाल मेरो भगवान्सँग यही कामना छ । यदि साँच्चै भगवान् छौं भने मेरो बिन्ती सुनिदेउ, जिन्दगीमा मैले सब थोक सहेर आइसकेको छु । सब थोकको नाममा आँसु बगाइ सकेको छु, भोक, प्यास, निन्द्रा यी सब । तर डर लागिरहेको छ, म मेरो आमालाई केही पनि नहोस् । मेरो आमाको चाहाना पूरा गर्नेछु । ठूलो घर हाल्नेछु । अनि आमाले ल्याएको ब्याज ऋण आमाकै हातबाट तिर्नुहोला भनेर दिनेछु । तर मनमा आश भने रतिभर पनि छैन । मरिसकेको छुु म भित्र–भित्र । डिप्रेशन बढेको छ अचेल । म हर प्रहर त्यो नेपाल सम्झिन्छु, मेरो बुढो आमा अनि ठूल्याआमा सबैलाई मिस गर्छु । तर किन किन आज आफैप्रति बाँच्नुको घृणा महसुस गरिरहेको छु । धन्न मैले आत्महत्या भने गरेको छैन । थाहा छैन, मनमा यति पीडाकोे खानी छ कि, कतै मेरो शरीरमा आगोको ज्वाला बलेको जस्तो गरी भतभति पोलिरहेको छ, कतै उकालोमा भारी बोकेर हिँडिरहेको जस्तो । यो सबै मलाई केही पनि राम्रो लागिरहेको छैन । म मा अब अरु सहन सक्ने शक्ति छैन । हरेक आशाका दियोहरू निभ्ने तरखरमा छन् । म उठ्नै नसक्ने गरी लड्छु र कोही आएर उठाइदिनुहुन्छ । म आजकाल लाथालिङ्ग, छरपष्ट भएको छु । कुनै पनि राम्रो, आफ्नो, यी सबै कुरा मनपर्न छोडिसकेका छन् । भाग्यमानी झैं लाग्थ्यो आफैलाई पनि ।
आमा, जब मलाई हात समातेर हिँड्न सिकाउनु भयो, बोल्न सिकाउनु भयो । आमा जब म सानोमा ठेस लागेर लड्थें । अनि हतारिएर बाबु के भयो भन्दै दौड्दै आउनुहुन्थ्यो र अँगालोमा बेर्दै बाबु तँलाई केही त भएन भन्नुहुन्थ्यो । म झन् रुन्थे, त्यो ठेस भन्दा पनि हजुरको अपार माया, ममता देखेर । जब म आफ्नो पाइला आफै सार्नसक्ने भए, एउटा उद्देश्यतिर लम्किन थाले । अनि म उठ्न नसक्ने गरी लडिरहेको हुन्छु । हरेक पाइलै पिच्छे चोटै चोट र आँसुले भरिएको छ । पूरै निष्पष्ठ झन् कालो अँध्यारो देखिरहेको छु । त्यो आमा हजुरको त्यो माया अहिले हुँदो हो त सायद डाको छोडेर रुन्थेँ । आमा कति
कति । यो मनको कुरा कसले पो बुझिदिन्छ र यो खाडीमुलुकमा । तर पनि मैले बाँच्नलाई मुठ्ठी कसेर भए पनि आँसुहरूलाई साथि बनाएर रातदिन काम गरिरहेको छु । हुनत मैले जति भने यो सबै मनको आवाज मात्र
हो । तर बाहिर यो समाज सोचेभन्दा पनि फरक रूपले स्वार्थी छ । थाहा छैन किन यस्तो भएको छ । आजकाल त भगवान् पनि स्वार्थी झैं लाग्छ मलाई । पटक–पटक यस्तो चोट दिन्छन् कि, बाँचेर पनि मरेको जस्तो भइरहेको छु । सायद मेरो देशमा पनि केही अवसरहरू भइदिएको भए, युवाहरूको लागि कामहरू सञ्चालन गरेको भए, म त्यस्तो हालतको आमालाई छोडेर किन यहाँ आउँथे होला यहाँ ।’ ऊ बोल्दै थियो हातको घडी हेरें साँझको झण्डै पाँच बज्न लागिसकेको थियो । ऊ निरन्तर भावनामा बहकिरहेको थियो, आँसुका ढिक्का खसाल्दै । मेरो हातमा समातेको डायरी नभन्दै कथाले भरिसकेको थियो । ‘अब त जानु पर्छ होला है ?’ म उठें । ऊ पनि मसँगै उठ्यो । तर मैले सहानुभूति जनाउन केही पनि भन्न सकिन । किनभने म पनि उसको कुराप्रति निकै भावबिहोल भएको थिएँ । उसले पाकेटबाट हाते रुमाल निकालेर आँसु पुछ्दै अङ्कमाल गर्दै मेरो शरीरमा आँशु समेत खसाल्न भ्यायो । अन्तत मेरो मनमा कहाँबाट अन्तिम कुरा यत्ति मात्र आयो, ‘साथी म नेपाल गएर हजुरको आमालाई भेटेर यो कथा सुनाउँछु र अनि म आमाको लागि सक्दो सहयोग गर्नेछु ।’ ऊ झन भक्कानिदै आँसु पुछ्न थाल्यो । छुट्टिदा हामीले एक अर्कामा भिजिटर कार्ड साटासाट गरेर बिदा भयौं ।
आज यो कथा उसैको आमालाई आफैले पढेर सुनाउँदा, उफ कम त रोएकी होइनन् । धन्न समाल्न
भ्याएँ । उसको आमा आज साँच्चिकै खुशी भएकी छन् ।
साझा बिसौनी संवाददाता ।